एसिड प्रकरण : एक घण्टामा पहिचान, तीन घण्टामा पक्राउ, यसरी भएको थियो घटना

काठमाडौं । काठमाडौंको सीतापाइलामा एक युवतीमाथि भएको एसिड प्रकरणका आरोपीलाई प्रहरीले छोटो समयमै पक्राउ गर्न सफल भएको छ । बिहीवार साँझ ७ः५५ को घटनाका आरोपीलाई प्रहरीले ९ बजे नै पहिचान गरेको थियो । राति १०ः४५ बजे उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भयो । मुख्यगरी कल डिटेल र सिसी क्यामराको सहायताले अभियुक्त पहिचान गर्न सफल भएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

पहिचान हुनेबित्तिकै खोजीमा निस्किएको प्रहरी टोलीले रौतहट लक्ष्मीपुर–४ घर भई काठमाडौंको डल्लु बस्ने मोमहम्मद आलम र उनका सहयोगी भारत विहार घर भई डल्लु बस्ने फैयाज आलमलाई पक्राउ गरेको हो ।

आलम काठमाडौंको एक गार्मेन्ट फ्याक्ट्रीका मालिक हुन् । फैयाज सोही गार्मेन्टमा काम गर्ने कर्मचारी हुन् । युवतीलाई एसिड हानेको भन्ने सूचना प्राप्त भएलगत्तै महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा परिसरका प्रहरीसहितको टोली खटाइएको थियो । टोलीले उनीहरुलाई राति १०ः४५ बजे गार्मेन्टबाटै पक्राउ गरेको हो ।

आफूअनुकूलको काम नमानेकाले एसिड हानेको प्रारम्भिकरूपमा बयान दिएको प्रहरीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । एसिड प्रहारबाट गम्भीर युवतीको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहारलगायत शरीरका विभिन्न अङ्गमा असर पुगेको छ । एसिड हान्ने फैयाजसमेत घाइते भएको जनाइएको छ ।

यसरी भएको थियो घटना

प्रहरीले दिएको जानकारीअनुसार युवती विवाहको तयारीमा थिइन् । अर्कैसँग विवाह गर्ने कुरा मोहम्मदलाई मन परेको थिएन । त्यसैले उनले घटना घटाउन पुगेको जनाइएको छ । पहिले पीडित युवतीकी दिदी सोही गार्मेन्टमा काम गर्दा उनीसँग चिनजान भएको थियो । केही वर्षअघि ती युवतीले पनि छोटो समय गार्मेन्टमा काम गरेकी थिइन् । त्यसपछि युवती होटल ह्यातमा काम गर्दै आएकी थिइन् । पूर्वयोजना मुताविक सहयोगी फैयाजलाई बीच बाटोमा एसिड छ्याप्ने तयारी अवस्थामा राखेर बिहीवार मोहम्मदले विभिन्न बहाना बनाई युवतीलाई फोन डायल गरे । निकै कर गरेपछि युवती मोहम्मदले भनेको ठाउँमा आइन् ।

केहीबेर होटलमा बसेर कुराकानी पनि भएको छ । त्यसपछि युवती कोठातर्फ जाँदै गर्दा बीच बाटोमा लुकेर बसेका फैयाजले एसिड हानेका प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका एक प्रहरी अधिकृतले अर्कैसँग विवाह गर्न लागेकाले एसिड हानेको प्रारम्भिक चरणमा खुल्न आएको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यो पनि पढ्नुहोस्

मन नपराउने बित्तिकै एसिड छ्याप्ने ? फितलो कानूनले निम्त्यायो अपराधका श्रृङ्खला !

झुक्याएर बिहे, अलग बस्दा एसिड, पीडित जेनी श्रीमानभन्दा १६ वर्ष कान्छी

एसिड आक्रमण : प्रमुख कारण प्रेम ? पीडित भन्छन्, सजाय पुग्दै पुगेन ! (भिडियोसहित)

फेरि अर्की महिलामाथि एसिड र छुरा प्रहार, नवलपरासीकी बसन्ती परियार गम्भीर घाइते

स्कुल जाँदै गरेकी किशोरीमाथि एसिड प्रहार, को हुन् पक्राउ परेका मियाँ (भिडियोसहित)

एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास !

एसिड बोकेको ट्यांकर कारमाथि पल्टिँदा एकै परिवारका ९ जनाको मृत्यु

एसिड आक्रमणबाट गम्भीर घाइते सम्झना दासको उपचारको क्रममा मृत्यु

एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास

एसिडपीडित यूवतीका बाबुको सनसनीपूर्ण आरोप : कुरुवा नै अपराधी रहेछन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?