काठमाडौं । सरकारवादी भई चल्ने फौजदारी मुद्दामा सरकारको तर्फबाट मुद्दा लडिदिने कानुनी रक्षक हुन् सरकारी वकिल । सरकारी वकिलले नै सरकारको तर्फबाट मुद्दा लडिदिने र प्रतिवादीमाथि लागेको अभियोग पुष्टि गराउन प्रमाण संकलन लगायतका काममा सहयोग गर्छन् । जाहेरवालाको तर्फबाट बहस गर्नुपर्ने भएकाले सरकारी वकिलले प्रतिवादीसँग भेटघाट र कुराकानी गर्नु पनि आचारसंहिता विपरीत हुन्छ ।
तर रसुवाका जिल्ला न्यायाधिवक्ता अर्थात् सरकारी वकिल विमल थापाले भने प्रतिवादीसँग पटकपटक सम्पर्क गरी रकम र मोबाइल मात्रै लिएनन्, महिलासँग यौन सम्पर्कको प्रस्तावसमेत राखेका छन् । महिलाले रकम र मोबाइल दिएर मात्रै पनि सरकारी वकिललाई पुगेन, महिलासँग यौन सम्पर्क राख्न पाए मुद्दा चाँडै जिताइदिने आश्वासनसमेत दिएको पाइएको छ ।
लोकपथलाई प्राप्त प्रतिवादी रहेकी महिला र सरकारी वकिल विमल थापाबिचको संवादमा थापाले पटकपटक महिलासँग आफ्नो माग पूरा गरिदिन आग्रह गरेका छन् । जिल्ला न्यायाधिवक्ता थापाले महिलासँग राखेको माग हो, उनीसँग यौन सम्बन्ध राख्न पाउनुपर्ने । प्रतिवादी महिलासँग यौन सम्बन्ध राख्न पाएमा भने मुद्दा जिताइदिनेसम्मका आश्वासन सरकारी वकिलले दिएको पाइएको छ ।
खासमा के हो मुद्दा ?
रसुवा जिल्ला अदालतमा एउटा बहुविवाहको जाहेरी पर्यो । मेरी श्रीमती छैन भनेर विवाह गरेका एक पुरुषले काठमाडौंमै भेट भएकी एक महिलालाई श्रीमती बनाए । ती महिलाबाट एउटा सन्तान पनि जन्मियो ।
सन्तान जन्मिएको २ महिनापछि एकाएक प्रहरीमा जाहेरी पर्यो, बहुविवाहको । त्यसलगत्तै ती पुरुष र कान्छी श्रीमती बनेकी महिला परिवर्तित नाम सुस्मिता बस्ताकोटी पनि प्रहरी नियन्त्रणमा पुगे ।
प्रहरी नियन्त्रणमै रहेको समयमा प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, रसुवाले दोस्रो विवाह गरेका भनिएका पुरुष र सुस्मिताविरुद्ध बहुविवाहको मुद्दा चलायो । रसुवा जिल्ला अदालतले पुरुषलाई पुर्पक्षका लागि थुनामा पठायो भने महिलालाई धरौटीमा रिहा गर्ने आदेश दियो ।
थुनामुक्त भएपछि सुस्मिता कहिले सरकारी वकिल त कहिले अदालत गएर मुद्दामा छिटो फैसला गरिदिन आग्रह गर्न थालिन् । छिटो काम गराउन सक्ने व्यक्ति सरकारी वकिलका हाकिम नै हुन् भन्ने थाहा भएपछि सुस्मिता जिल्ला सरकारी वकिल कार्यालय, रसुवाका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता विमल थापालाई भेटघाट गर्न पुगिन् । विमलले मुद्दा छिटो टुङ्गाइदिने र जिताइदिनेसमेत बताए । तर त्यसका लागि आफ्ना मागहरू पूरा गरिदिनुपर्ने कुरा राखे ।

लोकपथसँग सम्पर्कमा आएकी सुस्मिताका अनुसार सुरुमा जिल्ला न्यायाधिवक्ता विमल थापाले २४ हजार रुपैयाँ नगद र सुस्मिताले चलाइरहेको ओप्पो कम्पनीको मोबाइल लिए । त्यसपछि बकपत्र छिटो गराइदिने र दुई महिनाभित्र फैसला गरिदिन न्यायाधीशलाई भनिदिने बताए । त्यसबाहेक पनि कुल २ लाख रुपैयाँ दिनुपर्ने कुरा बताए ।
सुस्मिता मुद्दा छिटो सकिन्छ र जितिन्छ भने २ लाख रुपैयाँ दिन पनि तयार भइन् । तर बाँकी रकम भने फैसला भएको दिन नै दिने बताइन् ।
तर सरकारी वकिल अब यतिमै रोकिएनन् । अब उनलाई सुस्मिताको शरीर पनि चाहियो । थापाले सुस्मितालाई पटकपटक भेट्न बोलाउने र शरीर सुमसुम्याउन खोजे । तर सुस्मिता शरीर सुम्पन तयार भइनन् । उनले सोझै हुँदैन भन्दा मुद्दा नै बिगारिदिन सक्छ भनेर गोलमटोल जवाफ दिइरहिन् । तर सरकारी वकिल थापाले भने आफ्नो ‘माग’ पूरा गराउन सुस्मितालाई पटकपटक फोन गरिरहन थाले । सरकारी वकिलको माग अर्थात् सुस्मितासँग यौन सम्पर्क राख्नुपर्ने र २ लाख रकम पनि दिनुपर्ने ।
लोकपथलाई प्राप्त अडियोमा सरकारी वकिल थापाले पटकपटक सुस्मितासँग यौन सम्पर्कको प्रस्ताव गरेको र जति छिटो सम्बन्ध बनाउन तयार हुन्छिन्, मुद्दा त्यति नै छिटो मिल्छ भन्ने कुरा गरेका छन् । सुस्मिताले सरकारी वकिललाई फकाउन मुद्दा सकिएपछि तयार छु पनि भनिदिएकी छिन्, तर सरकारी वकिल भने मुद्दा टुंगिनुभन्दा अगाडि नै माग पूरा हुनुपर्ने भन्दै यौन सम्बन्धको अपिल गरिरहेका छन् ।

प्रतिवादी रहेकी महिला र सरकारी वकिल विमल थापाबिचको संवादमा थापाले आफ्नी श्रीमतीको पाठेघरमा समस्या भएको कारण यौन सम्पर्क राख्न नपाएको गुनासो गरेका छन् । साथै महिलाको यौन अङ्ग सुनको डल्लो हो र भन्ने जस्ता भद्दा र अश्लील शब्दको प्रयोग गर्दै यौन सम्बन्ध बनाउन दबाब दिएका छन् ।
यस्ता छन् सरकारी वकिल थापाले महिलासँग गरेका संवादका केही कुराकानी
– म आन्दोलन गरेको गर्यै छु, खै माग पूरा नै भएन ।
– मलाई माया गरे के नै बिग्रिन्थ्यो र ।
– खै एकपटक ‘टङ’सम्म पनि पाइएन, आफूलाई त्यही मन पर्छ के गर्नु ।
– कहिले दिन्छु भन्ने कहिले हुँदैन भन्ने ?
– माया लागि गो त अब के गर्छौ ?
– तिमी आएपछि के के देखिन्छ, म त भुतुक्कै हुन्छु ।
– यति सानो चिज पनि नदिएर मलाई हैरान बनाइसक्यौ ।
– के बिग्रन्थ्यो र मैले हेल्प गरिहाल्थेँ ।
– आफूलाई लोभ लागेर भुतुक्कै, मुखबाट पानी आएर हैरान ।
– रहर लाग्यो, दिमाग ध्यान त्यहीँ जान्छ । बरु फोन नै ब्ल्याक लिस्टमा राख्न पाए ठेगानमा आइन्थ्यो कि !
– ‘टङ’ सम्म पनि पाइएन । त्यहाँ आयो भने भेट त हुन्छ, तर अरू केही पाइँदैन ।
– दिने भए, माया गर्ने भए आउँछु । आफू तिमीलाई देखेपछि भुतुक्कै हुन्छु, कुरा बुझ्नु छैन ।
– गोप्य हुन्छ भने म आउँछु ।
– बुढी बिरामी परेको पनि २ महिना भइसक्यो, केही गर्न मिल्दैन । बुढीको पाठेघरमा समस्या छ, काम चलाऊ पनि भएन, जिन्दगी बर्बाद छ नि ।
– मन मिल्यो भने त्यो के फरक पर्थ्यो र सुनको डल्लो होइन क्यारे ।
– काली के गर्नु म गर्छु क्या । जति माया गरे पनि केही गर्न पाइएको होइन, एउटा किस पनि दिन्न काली ।
– बिग्रेको … पोख्ने कुरा ठुलो कुरा भएन, ५ सय हजारमा फालाफाल छन् ।
– अब के गर्नु रसुवाका मान्छे हेर्न पाइएन, बाइकमा बसेर अरूको फिगर हेर्दै मुखमा पानी निकालेर भौँतारिँदै छु ।
यो त भत्खरु मात्रै हो, जन्ती त आउन नै बाँकी छ ……..
लोकपथलाई प्राप्त तेस्रो अडियोमा छिटो यौन सम्बन्ध बनाउन दबाब दिनुका साथै धम्की समेत दिइएको छ । उनका केही शब्द यस्ता छन्,
– यो त भत्खरु मात्रै हो, जन्ती त आउन नै बाँकी छ ।
– खान दिने भए आउँछु ।
– त्यसले (पुरुष प्रतिवादी) ठगेछ, अब त्यसलाई पनि ठग्नु पर्ने भयो ।
– मैले पनि चाख्नुपर्यो अब, चाख्नचाहिँ पाउनुपर्यो ।
– मैले गरिदिन्छु भनेको छु त, तर मेरो माग नै पूरा भएन ।
(प्रतिवादी महिलाको जवाफ : म तपाईँको माग पूरा गरिदिन्छु, म हिँड्नुभन्दा अगाडि पूरा गरिदिन्छु । १३ गते नै सक्काइदिनु न केस ।)
– त्यस्तो हुँदैन, त्यो भन्दा पहिले मेरो माग पूरा गरिदिनु अनि म तिम्रो केस सक्काइदिन्छु ।
– इमानदारीपूर्वक मेरो माग पूरा गर्ने हो भने म तिम्रो काम गरिदिन्छु । म १०/११ गतेतिर काठमाडौं आउने काम छ, त्यति बेला मेरो माग पूरा गर ।
यसरी जिल्ला सरकारी वकिल कार्यालय, रसुवाका कार्यालय प्रमुखसमेत रहेका जिल्ला न्यायाधिवक्ता विमल थापाले प्रतिवादी महिलासँग रकम र यौन सम्बन्धका लागि प्रस्ताव गर्दै दबाबसमेत दिएका छन् ।
सरकारी वकिल मात्रै होइन, न्यायाधीशले समेत त्यस्तै हर्कत गरेपछि महिलाले सरकारी वकिल विमल थापा र न्यायाधीशविरुद्ध समेत महान्यायाधिवक्ताको कार्यालय, प्रधानन्यायाधीशको सचिवालय र न्याय परिषदमा समेत प्रमाणसहित उजुरी गरिन् । त्यसलगत्तै महान्यायाधिवक्ता कार्यालयले जिल्ला न्यायाधिवक्ता विमल थापा र रसुवाका न्यायाधीशको हकमा न्याय परिषद्ले छानबिनका लागि काठमाडौं झिकायो ।
महिलालाई दबाब दिएर उजुरी फिर्ता गर्न लगाइयो
जब सुस्मिताले सरकारी वकिल विमल थापाविरुद्ध महान्यायाधिवक्ता कार्यालयमा उजुरी दिइन्, त्यसलगत्तै सरकारी वकिल विमल थापाले महिलालाई दबाब दिनुका साथै आत्महत्या गर्छु, तिम्रो घरमै आएर बस्छु लगायतका धम्की दिई उजुरी फिर्ता गर्न लगाएको पाइएको छ ।
थापाले आफ्नो जागिर नै जान लागेको, आत्महत्या गर्नुपर्ने अवस्था आएको भन्दै महिलालाई होस्टाइल गराएर उजुरी फिर्ता गर्न लगाएका थिए ……….
लोकपथ डटकमको सम्पर्कमा आएकी सुस्मिताले आफूलाई दबाब दिएर महान्यायाधिवक्ता कार्यालयमा दिएको उजुरी फिर्ता गर्न लगाइएको बताइन् । सुस्मिताका अनुसार सरकारी वकिल थापाले आफ्नो जागिर नै जान लागेको, आत्महत्या गर्नुपर्ने अवस्था आएको भन्दै महिलालाई होस्टाइल गराएर उजुरी फिर्ता गर्न लगाएका थिए । सुस्मिताले लोकपथसँग भनिन्, ‘हो, मलाई दबाब दिएपछि मैले दबाब थेग्न नसकेर उजुरी फिर्ता गर्ने निवेदन दिएकी हुँ । मलाई महान्यायाधिवक्ता कार्यालयमा समेत बोलाइएको थियो । त्यहाँ मैले मलाई टेन्सन भयो, दबाब र धम्की आएको कारण उजुरी फिर्ता लिन लागेको हो भन्ने कुरा गरेको हुँ । मैले आफ्नो मर्जीमा नभएर दबाबमा उजुरी फिर्ताको निवेदन दिएकी हुँ ।’
थापाले नै लेखिदिएका थिए निवेदन, जबरजस्ती हस्ताक्षर गर्न लगाइयो

पीडित सुस्मिताका अनुसार उजुरीको निवेदन आफूले नै लेखेर दिएको भएपनि उजुरी फिर्ता गर्ने निवेदन भने सरकारी वकिल विमल थापाले नै लेखेर ल्याएका थिए । उक्त निवेदन ल्याएर थापाले जबरजस्ती हस्ताक्षर गर्न लगाएर महान्यायाधिवक्ता कार्यालयमा बुझाउन लगाएको र त्यसका लागि पहिले लिएको मोबाइल, पैसा फिर्ता गर्ने र जागिर जोगिएमा थप आर्थिक सहयोग गर्ने बताएको सुस्मिताले बताइन् ।
मलाई दबाब दिएपछि उनैले लेखेर ल्याएको निवेदनमा हस्ताक्षर गरिदिएकी हुँ, तर मैले बाध्यतामा उजुरी फिर्ताको निवेदन दिएकी हुँ ……
सुस्मिताले लोकपथसँग भनिन्, ‘मैले महान्यायाधिवक्ता कार्यालयमा होस्टाइल भएर निवेदन दिएको जस्तो देखिएपनि म आज पनि उनीमाथि कारबाही हुनै पर्छ भन्नेमा छु । मलाई दबाब दिएपछि उनैले लेखेर ल्याएको निवेदनमा हस्ताक्षर गरिदिएकी हुँ, तर मैले बाध्यतामा उजुरी फिर्ताको निवेदन दिएकी हुँ ।’
२४ हजार पैसा र ओप्पोको मोबाइलसमेत लिए थापाले
सुस्मिताका अनुसार मुद्दा जिताइदिने भन्दै सरकारी वकिल विमल थापाले सुस्मितासँग २४ हजार रुपैयाँ नगद र ओप्पो कम्पनीको मोबाइल फोनसमेत लिएका छन् । पछि समयमै काम नगरिदिएपछि रकम र मोबाइल फिर्ता माग्दा नदिएको र आलटाल मात्रै गरिरहेको सुस्मिताले लोकपथलाई बताइन् ।
यो विषयमा पछि कुरा गरौँला, त्यस्तो केही भएकै होइन : आरोपित विमल थापा
यस विषयमा जिल्ला सरकारी वकिल कार्यालय, रसुवाका कार्यालय प्रमुख (हाल काठमाडौं तानिएका) जिल्ला न्यायाधिवक्ता विमल थापासँग कुरा गर्दा सामान्य कुराकानी भएको तर त्यस्तो कुनै बार्गेनिङ नभएको बताए । उनले यस विषयमा समाचार नबनाइदिन आग्रह गर्दै भेटेरै कुरा गर्ने भन्दै कुरा टारे ।
थापामाथि विभागीय कारबाही जारी : सहन्यायाधिवक्ता दाहाल
रसुवाका सरकारी वकिल विमल थापाको सम्बन्धमा उजुरी परेपछि थापालाई काठमाडौं तानेर विभागीय कारबाहीको काम भइरहेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता सूर्यराज दाहालले बताए । दाहालले भने, ‘जिल्ला न्यायाधिवक्ता थापामाथि विभागीय कारबाही जारी नै छ । महिला आफै आएर उजुरी फिर्ता लिएपछि त्यस सम्बन्धमा केही गर्ने कुरा भएन । अब महिलाले आफू पीडित भएँ भन्ने लाग्छ भने प्रहरीमा उजुरी दिन पनि सक्नुहुन्छ ।’

यतिबेला जिल्ला सरकारी वकिल कार्यालय, रसुवाका जिल्ला न्यायाधिवक्ता विमल थापालाई काठमाडौंमा तानेर जिम्मेवारीविहीन बनाइएको छ । उनीमाथि विभागीय कारबाहीको काम भइरहेको छ । यद्यपि असार ११ गते अपराह्नसम्म जिल्ला सरकारी वकिल कार्यालय रसुवाको वेभसाइटमा भने विमल थापा नै कार्यालय प्रमुखका रूपमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया