एसिड आक्रमण : प्रमुख कारण प्रेम ? पीडित भन्छन्, सजाय पुग्दै पुगेन ! (भिडियोसहित)

''मेरो हुदिनौ भने अर्काको पनि हुन दिन्न ।'' 

यहि मानसिकताका उपज हुन् पछिल्ला ४ एसिड आक्रमणका घटना ।

पक्राउ पछि अपराधीले त्यहि कुरा भनेका छन्, जो  पवित्र प्रेम गर्दा भन्ने गर्छन् । 

''म उनलाई माया गर्छु ।''  एसिड पीडित किशोरी संगिता सिमा घटना होस् वा सम्झना दास घटना या होस् नवलपरासीकी वसन्तीले झेल्नुपरेको दर्दनाक घटना । बुधवार भएको घटनासम्मका चार एसिड आक्रमणमा अभियुक्तको एकै प्रकृतिको जवाफ छ, “जसरी पनि कुरुप पारिदिन्छु भनेर एसिड हाने ।’

 प्रेम अस्वीकारपछि अपराध 
सुन्दरता बिगार्न एसिड प्रहार ! 

२०७१ साल फागुन ११ गतेको त्यो घटना आजपनि धेरैको मुटु कमाईदिन्छ ।   

एसएलसीको तयारीको लागि ट्युसन पढ्न गएका दुई किशोरीमाथि काठमाडौंको वसन्तपुरमा एसिड प्रहार भयो ।

आक्रमणमा परेकी किशोरी संगिताको अनुहार छियाछिया भयो ।

शरिरका अन्य भागमा पनि गहिरो चोट पुग्यो ।

उनकी साथी सिमा पनि आक्रमणमा परिन् ।

उनको अनुहारका केहि भागमा चोट पुग्यो ।

संगितासँगको आन्तरिक रिसिबीका कारण जीवनले प्रहार गरेको एसिडसँगै रहेकी सीमालाई समेत लागेको थियो ।

अस्पतालको शैयाबाट उनीहरु परिक्षामा सामेल भए ।  

पीडक जीवन विकलाई अदालतले १० वर्ष जेल सजाय सुनायो । उनले प्रहरीसामू संगिताको सुन्दरता बिगार्न एसिड प्रहार गरेको स्वीकारेका थिए ।

 

त्यसको केहि समयपछि अर्को घटना सुनियो । 

 

चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि २०७५ साल भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको प्रहरी अनुसन्धानबाट देखियो ।

 तेजाबले सम्झनाको अनुहारसहित शरिरको अधिकांश भाग जलेको थियो ।

गम्भीर घाइते दासको उपचारको क्रममा काठमाडौंको किर्तिपुर अस्पतालमा मृत्यु भयो ।

५० वर्षे रामबाबु पासवानले आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेको रिसमा एसिड आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुल्यो ।

 

एसिड प्रहारबाट युवतीको ज्यान गएको घटना नसेलाउँदै नवलपरासीको कावासोतीमा फेरि २७ वर्षीया युवतीमाथि एसिड र छुरा प्रहार भयो । 

आफ्नै छिमेकी विमल श्रीपालीको एसिड र छुरा आक्रमणमा परेकी कावासोती नगरपालिका वडा नं. ९ डण्डा बजारकी  वसन्तीको शरीरको २५ प्रतिशत भाग जलेको थियो ।

फरक पारिवारिक पृष्ठभुमिका उनीहरु दुवै विवाहित थिए । उनीहरुबिचको पछिल्लो समय उत्पन्न मनमुटावले यो घटना निम्त्याएको प्रहरीको भनाइ छ । 

 

जेठ १ गतेको यो घटना ….! 

जेठ १ गते साँझ काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड आक्रमण भयो । 

यो घटनाले अझ संशय पैदा गर्यो । आक्रमणमा परेकी युवति जेनी खड्कालाई आफ्नै श्रीमान् विष्णु भुजेलले एसिड खन्याएका थिए । 

घाइते जेनी खड्काको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

श्रीमान् श्रीमतीबीचको आपसी विवादका कारण एसिड प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

काभ्रेमा एक मोटर ग्यारेजमा काम गर्दै भुजेल र जेनीबीच पाँच वर्षअघि विवाह भएको थियो। केही समयदेखि वैवाहिक सम्बन्ध राम्रो नभएपछि उनीहरु अलग बस्दै आएका थिए।

भुजेलले दोस्रो विवाह गरेकाले उनकी श्रीमती जेनी खड्का कालोपुलमा बुबाआमासँग बस्दै आएकी थिइन्।

दोस्रो विवाह गरेका उनले जेनीलाई पटक–पटक घर बोलाएका थिए ।

उनी नआएपछि बुधवार कालोपुलमा भेटेर एसिड हान्ने योजना बनाएका उनी सफल भए ।

श्रीमतीलाई कुरुप बनाउन एसिड खन्याएको उनले प्रहरीसँग बताएका छन् । 

राति करिब ८ बजे भेट्ने बहानामा श्रीमतीलाई बोलाएर काठमाडौंको कालोपुलमा आफूले नै श्रीमतीमाथि एसिड प्रहार गरेको उनले स्वीकार गरेका छन् ।  

एसिड सहजै किन्न पाइने भएकाले पनि आपराधिक मनस्थिति भएकालाई थप सहयोग पुगेको छ । 

 

एकतर्फी प्रेम अस्वीकारपछि एसिड ? कुरुप अनुहार लिएर पीडित कहाँ जाने ? केहि महिनापछि अपराधी जेल बाहिर आउँछ । जानाजान अरुको जिन्दगी बर्बाद पार्नेलाई यत्ति सजायले पुग्छ ? पीडितले प्रश्न गरिरहेका छन् । 

के भन्छ, कानून ? 

२०७१ साल फागुन ११ गते काठमाडौंको वसन्तपुरमा दुई युवती संगीता पुलामी मगर र सीमा बस्नेतमाथि भएको एसिड आक्रमणपछि एसिड आक्रमणको विषय बहसमा आयो । 

पीडितले जिन्दगीभर डढेको अनुहार लिएर बाँच्नुपर्ने र पिडक केहि समयपछि उस्तै जीवन बाँच्न पाउने अवस्था हुनु हुँदैन भन्ने आवाजहरु सुनियो । 

त्यसपछि संसदले लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७२ पारित गर्यो ।  

जसमा एसिड आक्रमण गर्नेलाई पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको थियो।

यसैबिच २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता जारी भयो ।

संहिताको दफा  मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्यावएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ। जरिवानाको रकम पीडितलाई दिइने ऐनमा उल्लेख छ।

एसिड प्रहारबाट मृत्यु भएमा ज्यानसम्बन्धी मुद्दा लगाउने गरिएको छ। मृत्यु नभई अङ्गभङ्ग भएमा वा अरु केही भएमा घटना प्रकृति हेरेर यही ऐन अनुसार कानूनी प्रक्रिया अघि बढाउन सकिन्छ भनिएको छ । 

तर, स्वयम् पीडितहरुले भने पीडकका लागि दिने सजाय कम भएका कारण उनीहरुको मनोबल उच्च भएको तथा घटनाहरु बढीरहेको बताउछन् । उनीहरुको माग छ एसिड आक्रमण गर्नेलाई फाँसी हुनुपर्छ । 

WWW.LOKPATH.COM को अनलाई च्यानल LOKPATH TV सब्स्क्राईब गर्नुभयो ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?