आरोपित भन्छन्, ‘सरकारी वकिलले ६० लाख मागेका छन् भनेकै हो’

सरकारी वकिल भन्छन्, ‘म केही बोल्दिन’

काठमाडौं । काठमाडौंमा ठुलो परिमाणसहित पक्राउ परेका लागूऔषध कारोबारीले पोल बयान गरेका मुख्य कारोबारीलाई सरकारी वकिलले उन्मुक्ति दिएको सम्बन्धमा लोकपथले यसअघि नै विस्तृत समाचार रिपोर्ट प्रकाशन गरिसकेकै छ । लागूऔषध नियन्त्रण ब्युरोले मुद्दा चलाउन राय दिएका चार प्रतिवादीलाई सरकारी वकिलले उन्मुक्ति दिएपछि उक्त विषय बाहिर आएको थियो ।

दुई प्रतिवादीसँग जनही एक करोड रुपैयाँ लिई सरकारी वकिलले अभियोगबाट उन्मुक्ति दिएको आरोप लागेको छ ………

लागूऔषध कारोबारमा संलग्न रहेका भनिएका आरोपितहरू कृष्णप्रसाद चौलागाईँ, पवन भण्डारी, प्रदीप शर्राफ र पुरुषोत्तम रोक्कालाई अभियोग दाबीबाट उन्मुक्ति दिन सरकारी वकिलले २ करोड रुपैयाँ लिएको आरोप लागेको थियो । ८८ दिन र ५८ दिन थुनामा रहेका दुई प्रतिवादीसँग जनही एक करोड रुपैयाँ लिई सरकारी वकिलले अभियोगबाट उन्मुक्ति दिएको आरोप लागेको छ । उक्त घटनाको सम्बन्धमा लोकपथले यसअघि प्रकाशन गरेको समाचार यस्तो छ ।

लागूऔषध मुद्दाका मुख्य कारोबारीलाई सरकारी वकिलको उन्मुक्ति, पैसा लिएर छाडेको आरोप

छोटकरीमा उक्त घटना के हो र के भएको थियो पहिले त्यो बुझौँ ।

लागूऔषध नियन्त्रण ब्युरोले गत फागुनको पहिलो साता सुजन ताम्राकार भन्ने लागूऔषध प्रयोगकर्तालाई ट्रामाडोलसहित पक्राउ गर्‍यो । प्रहरीले सुजनसँग सोधपुछ गर्दा उक्त लागूऔषध फार्मेसी पसल सञ्चालक सुधिर लामिछानेले बिक्री गरेको खुल्यो । त्यस लगत्तै प्रहरीले सुधीर लामिछानेलाई पनि पक्राउ गर्‍यो ।

प्रतिवादी सुधीर लामिछाने ।

प्रहरीले सुधीरसँग पनि सोधपुछ गर्दा क्षेत्रपाटीमा केटीएम सर्जी हाउस सञ्चालन गर्ने कृष्णप्रसाद चौलागाईं र अर्का कारोबारी साइमन बनवारीसँग आफूले लागूऔषध ट्रामाडोल ल्याई बिक्री वितरण गर्ने गरेको बयान दिए । त्यस लगत्तै प्रहरीले कृष्णप्रसाद चौलागाईं र साइमन बनवारीको खोजी गर्‍यो । खोजीका क्रममा साइमन बनवारी मकवानपुरको हेटौंडामा रहेको खुल्यो भने कृष्णप्रसाद चौलागाईं कहिले क्षेत्रपाटी त कहिले टोखामा रहेको देखियो । त्यसपछि अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्युरोले चौलागाईंलाई २०८१ फागुन ८ गते साँझ टोखाबाट नियन्त्रणमा लियो । यता साइमन बनवारी भन्ने व्यक्ति उपत्यका बाहिर रहेको भन्दै सुधीर लामिछानेमार्फत नै फिसिङ गरी ट्रामाडोल चाहियो भन्दै काठमाडौं बोलाइयो । अनि फागुनको ९ गते साइमनलाई पनि सुधीरलाई दिन भनी ल्याएको अवस्थामा ४१ हजार २ सय थान ट्रामाडोलसहित चन्डोलबाट नियन्त्रणमा लियो ।

प्रतिवादी साइमन बनवारी

तीन वटा बोरामा ल्याएको ४१ हजार २ सय क्याप्सुल ट्रामाडोलसहित पक्राउ परेका बनवारीमाथि थप अनुसन्धान हुँदा बनवारीको टोखामा रहेको डेरा कोठामा समेत प्रहरी पुग्यो । त्यहाँ पुगेर खानतलासी गर्दा निजको कोठामा लुकाएर राखिएको अवस्थामा थप ४ लाख ९२ हजार ९ सय थान क्याप्सुल ट्रामाडोल बरामद भयो । साइमनको साथबाट कुल ५ लाख ३४ हजार १ सय क्याप्सुल लागूऔषध ट्रामाडोल बरामद भयो ।

कृष्णप्रसाद चौलागाईं, पवन भण्डारी, प्रदीप शर्राफ र पुरुषोत्तम रोक्कासँग सस्तोमा किनी फार्मेसीहरूलाई नाफा खाएर बिक्री वितरण गर्ने गरेको ………

त्यसपछि साइमन बनवारीलाई समेत कार्यालयमा ल्याई प्रारम्भिक बयान लिँदा निजले ती लागूऔषधहरु क्षेत्रपाटीमा केटीएम सर्जी स्टोर नामक सर्जिकल सप्लायर्सको काम गर्ने कृष्णप्रसाद चौलागाईं, कुपन्डोलमा प्रसिद्धि ट्रेड कन्सर्न चलाउने पवन भण्डारी तथा लागूऔषध कारोबारीहरू प्रदीप शर्राफ र पुरुषोत्तम रोक्कासँग सस्तोमा किनी फार्मेसीहरूलाई नाफा खाएर बिक्री वितरण गर्ने गरेको खुल्यो ।

साइमनको बयानमा पोल भएका कृष्णप्रसाद चौलागाईं त्यसअघि नै लागूऔषध नियन्त्रण ब्युरोको नियन्त्रणमा आइसकेका थिए भने प्रदीप शर्राफ र पुरुषोत्तम रोक्का लागूऔषध कारोबारको मुद्दामा नै केन्द्रीय कारागारमा थुनामा रहेका थिए । प्रहरी नियन्त्रणमा नरहेका पवन भण्डारीको खोजी गर्दा उनी तत्काल फरार रहेका थिए ।

साइमन बनवारीले सरकारी वकिलसमक्ष बयान गर्दा प्रदीप शरार्फसँग १ लाख ८० हजार क्याप्सुल, कृष्णप्रसाद चौलागाईंसँग ९० हजार क्याप्सुल, पुरुषोत्तम रोक्कासँग १ लाख ८० हजार क्याप्सुल र पवन भण्डारीसँग १ लाख ८० हजार क्याप्सुल गरी आफ्नो डेरा कोठामा भन्डारण गरेको बताए । उक्त लागूऔषधमध्ये आफू पक्राउ पर्नुभन्दा करिब २ महिना पहिले सुधीर लामिछानेलाई २४० बक्सा अर्थात् ७२ हजार क्याप्सुल बिक्री गरेको तथा अर्का व्यक्ति अनिल भट्टलाई २३ हजार ९ सय क्याप्सुल बिक्री गरी बाँकी आफूसँग नै रहेको अवस्थामा पक्राउ परेको बयान दिए । उक्त बयानमा बनवारीले पोल बयान भएका प्रतिवादीहरुसँग रहेको लागूऔषध आफूले किनी विक्री गरेको बयान दिए ।

साइमन बनवारीबाट बरामद भएको ट्रामाडोल

साइमन बनवारीकै मोबाइलको प्रारम्भिक विश्लेषणमा पवन भण्डारी, प्रदीप शर्राफ र पुरुषोत्तम रोक्कासँग कुराकानी भएको प्रमाणसमेत फेला पर्‍यो । केही कारोबार भएकोसमेत फेला परेपछि प्रहरीले साइमनसँग थप बयान लियो ।

मेरो मोबाइलबाट गरिएको स्क्रिन सट म, प्रदीप शर्राफ, पवन भण्डारी र पुरुषोत्तम रोक्काबिच लागूऔषध ट्रामाडोल कारोबारको क्रममा भएको कुराकानी हो …….

साइमनले थप बयानमा भनेका छन्,
‘लागूऔषध ट्रामाडोल कारोबारका क्रममा पवन भण्डारी, प्रदीप शर्राफ, कृष्णप्रसाद चौलागाईं र पुरुषोत्तम रोक्काले मलाई विभिन्न नम्बरहरूबाट फोन गरी कुराकानी गर्ने गरेका थिए, उक्त नम्बरहरू खुलाउन सक्दिन । ट्रामाडोल कारोबार बापतको रकम नगदै प्राप्त गर्ने र कहिलेकाहीँ चेक मार्फत गर्ने गरेको थिएँ । प्रहरी प्रतिवेदन साथ दाखिला भएको मेरो मोबाइलबाट गरिएको स्क्रिन सट म, प्रदीप शर्राफ, पवन भण्डारी र पुरुषोत्तम रोक्काबिच लागूऔषध ट्रामाडोल कारोबारको क्रममा भएको कुराकानी हो ।’

यही बयान, साइमन बनबारीसँगको कुराकानी तथा कारोबारको प्रमाण पाएपछि प्रहरीले साइमन पक्राउ परेको एक महिनापछि २०८१ चैत ८ गते पवन भण्डारीलाई पनि नियन्त्रणमा लियो ।

त्यसपछि सबैको बयान सुरु हुँदा कृष्णप्रसाद चौलागाईंले साइमनसँग कुनै कारोबार नै नभएको, २०७२ सालमा चिनजान भएको र भेटघाट हुने गरेको तर विगत १८ महिना पहिलेदेखि निजसँग भेटघाट र कुराकानी नै नभएको र ट्रामाडोल कहिल्यै नबेचेको बयान दिए ।

पवन भण्डारीले बयान गर्ने क्रममा पनि निजसँग चिनजान रहेको तर ट्रामाडोल बिक्री नगरेको बयान दिए । आफूले साइमनलाई मास्क, स्यानिटाइजर लगायतका सामाग्री मात्रै बिक्री गरेको र त्यही कारोबारको विषयमा कुराकानी भएको र बैंकमा पैसा राखिदिएको भए पनि त्यही बापतको पैसा भएको बयान दिए ।

साइमनको मोबाइलमा पवन भण्डारी, प्रदीप शर्राफ र पुरुषोत्तम रोक्कासँग कुराकानी भएको प्रमाण समेत प्रहरीसँग सुरक्षित थियो ……..

प्रदीप शर्राफ र पुरुषोत्तम रोक्काले त साइमन बनवारीलाई चिनेको समेत छैन भनेर बयान दिए, जबकि साइमनको मोबाइलमा पवन भण्डारी, प्रदीप शर्राफ र पुरुषोत्तम रोक्कासँग कुराकानी भएको प्रमाण समेत प्रहरीसँग सुरक्षित थियो ।

पोल बयान भएका दुई जना ट्रामाडोल कारोबारको कसुरमै थुनामा थिए भने बाहिर रहेका कृष्ण र पवनको ठेगानामा प्रहरीले छापा मारे पनि ट्रामाडोल वा अन्य लागूऔषध भने बरामद गर्न सकेन ।

यहीबिचमा पोल बयान भएका मुख्य कारोबारी भनिएका कृष्णप्रसाद चौलागाई र पवन भण्डारीले साइमनको बयान परिवर्तन गराउन धेरै कोसिस गरे । साइमनले अदालतमा गएर पनि त्यही कुरा भन्छु भन्दै प्रहरीमै दिएको बयान परिवर्तन गराउन दुई आरोपितले गरेको प्रयास असफल भयो ।

दुई आरोपित जोगाउन सरकारी वकिलको निर्देशन !
प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा पठाई साइमन बनवारी प्रकरणसँग जोडिएका कृष्णप्रसाद चौलागाई, पवन भण्डारी, प्रदीप शर्राफ र पुरुषोत्तम रोक्कालाई पनि मुद्दा चलाउने राय दियो । तर सरकारी वकिलले भने साइमन बनवारीविरुद्ध मात्रै मुद्दा चलाउने गरी पटकपटक यो वा त्यो पुगेन भन्दै निर्देशन दिइरह्यो ।

सरकारी वकिलले कारोबार भएको भए बैंक खातामा हालेको प्रमाण खोज्न निर्देशन दियो, जबकि साइमनको बयानमा पनि नगदमा कारोबार भएको उल्लेख गरिएको छ ……

सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदन दुई पटक फिर्ता पठाउँदै साइमन र कृष्णप्रसाद चौलागाईं तथा पवन भण्डारीसँगको कल डिटेल्स पेस गर्न भन्यो । जबकि साइमनले कृष्ण, पवन, प्रदीप र पुरुषोत्तमसँग फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा मात्रै कुराकानी गरेका थिए तर सरकारी वकिल भने कुराकानी पुष्टि गराउन भन्दै डाइरेक्ट सिमकार्डमा गरिएको नभएको संवादको रेकर्ड खोज्दै थियो । अनि कारोबार भएको भए बैंक खातामा हालेको प्रमाण खोज्न निर्देशन दियो, जबकि साइमनको बयानमा पनि नगदमा कारोबार भएको उल्लेख गरिएको छ । तर अन्य आरोपितलाई क्लिन चिट दिने उद्देश्यले सरकारी वकिलले भने नभएको प्रमाण खोजिरह्यो, मागिरह्यो ।

सरकारी वकिललाई ६० लाख दिन भन्दै आरोपितले सह प्रतिवादीसँग मागे रकम

ठुलो मात्राको लागूऔषध कारोबारमा पोल बयानपछि पक्राउ परेका आरोपित कृष्ण चौलागाईले सरकारी वकिलबाटै केस मिलाउन भन्दै सह प्रतिवादीसँग रकम माग गरेको समेत पाइएको छ । उक्त मुद्दामा हाल पुर्पक्षका लागि थुनामा रहेका प्रतिवादी साइमन बनवारीले सरकारी वकिलबाटै छुटाउने भन्दै आफूसँग समेत रकम माग गरिएको स्वीकार गरे ।

सरकारी वकिलले ६० लाख रुपैयाँ माग्यो भन्दै त्यसको आधा अर्थात् ३० लाख रुपैयाँ मसँग पनि मागिएको थियो ………

लोकपथसँगको कुराकानीमा साइमनले भने, ‘सरकारी वकिलले ६० लाख रुपैयाँ माग्यो भन्दै त्यसको आधा अर्थात् ३० लाख रुपैयाँ मसँग पनि मागिएको थियो । कृष्ण चौलागाईँले जिल्ला सरकारी वकिल कार्यालयमा कुराकानी भइरहेको र सरकारी वकिलले ६० लाख रुपैयाँ माग गरेको भन्दै त्यसको आधार रकम मैले दिनुपर्ने भनेका थिए । तर मेरो २५ लाख रुपैयाँको त औषधी नै समातिएको थियो र मसँग पैसा पनि थिएन । पछि सरकारी वकिल ४५ लाखमा मुद्दा नचलाउन तयार भए हामी १०-१० लाख हाल्छौँ तिमी २५ लाख हाल भन्दै थिए । तर म छुट्ने अवस्था नभएपछि मैले रकम दिइन । पछि उनीहरूले २०-२० लाख रकम दिएर छुटेको भन्दै मलाई पनि छुटाउँछु भनेका थिए । कृष्णले हिरासतबाट निस्कँदा पछि भेट्न आउँछु भनेका थिए, तर अहिलेसम्म आएका छैनन् ।’

२ करोड घुसको चर्चा
यता ठुलो मात्रामा लागूऔषध ट्रामाडोलको किनबेच र कारोबारमा संलग्नहरूलाई सरकारी वकिलले उन्मुक्ति दिएको र उन्मुक्ति दिन २ करोड रुपैयाँको घुस डिल भएको चर्चा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा चलेको थियो । आरोपितले सरकारी वकिललाई मिलाउनु पर्ने भन्दै थुनामा रहेका व्यक्ति अर्थात् साइमन बनवारीसँग ३० लाख रुपैयाँ रकमसमेत माग गरेका थिए, त्यसको प्रमाण लोकपथसँग सुरक्षित छ ।

यो मुद्दामा निर्देशन दिने र अभियोजन गर्ने काम जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता पूर्ण बहादुर केसीले गरेका थिए । उनले अन्य आरोपितलाई मुद्दा नचल्ने निर्णय गरी उन्मुक्ति दिँदा साइमन बनवारीलाई मात्रै मुद्दा चलाउने निर्णय गरेका थिए ।

सहायक जिल्ला न्यायाधिवक्ता पूर्ण बहादुर केसी । तस्वीर : केसीको फेसबुक ।

यस मुद्दाको सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालयका अभियोजक पूर्णबहादुर केसीसँग कुराकानी गर्दा उनले घुसको कारोबार भएको आरोप झुटो भएको भन्दै प्रमाण पेस गर्न चुनौती दिए । उनले वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन नसकेको कारण मुद्दा नचलाइएको जिकिर गर्दै आफू नै अन्तिम निर्णयकर्ता नरहेको र माथिबाट अर्को आदेश आएमा मुद्दा चल्ने बताए ।

ठुलो मात्रामा लागूऔषध ट्रामाडोलको कारोबार तथा भण्डारण गरेको अभियोगमा पक्राउ परेका साइमन बनवारी हाल पुर्पक्षका लागि थुनामा छन् भने अन्य मुद्दाबाट समेत प्रतिवादी रहेका प्रदीप शर्राफ र पुरुषोत्तम रोक्का पनि कारागारमै छन् । फार्मेसी सञ्चालक सुधीर लामिछाने पनि थुनामा रहँदा गम्भीर आरोप लागेका कृष्णप्रसाद चौलागाईं र पवन भण्डारीलाई भने सरकारी वकिलले अभियोगबाट उन्मुक्ति दिएको छ । तर सोही कार्यालयले अन्य कुनै प्रमाण नभएका तर पोल बयानमा परेका अन्य कारोबारीविरुद्ध भने मुद्दा चलाएको छ भने उनीहरू पुर्पक्षका लागि थुनामा गएका छन् ।

म केही बोल्दिन : सहायक जिल्ला न्यायाधिवक्ता केसी

यही मुद्दाको सम्बन्धमा शुक्रबार समेत अभियोजक पूर्ण बहादुर केसीसँग कुराकानी गर्न खोज्दा उनले त्यस सम्बन्धमा आफू केही नबोल्ने बताए । बरु यसअघि कै कुराकानीमा उनले साइमनले अदालतमा गएर के भन्यो त्यो हेरे पनि हुने भन्दै आफूले निर्णय गरिसकेपछिको घटनालाई पनि आफ्नै निर्णय सही भएको देखाउन खोजे ।

बनवारीले अदालतमा दिएको बयानमा भारतीयले आफूलाई राख्न दिएको भनेका छन्, त्यसबाट पनि आरोपितले दिएको होइन भन्ने कुरा त देखिएन र ………

केसीले भने, ‘साइमन बनवारीले अदालतमा दिएको बयानमा भारतीयले आफूलाई राख्न दिएको भन्ने बयान दिएका छन्, त्यसबाट पनि आरोपितले दिएको होइन भन्ने कुरा त देखिएन र ?’

अदालतमा बयान भएपछि तपाईँले अन्य आरोपितलाई मुद्दा नचलाएको कि तपाईँले मुद्दा नै नचलाउने भनी छाडेपछि बनवारीले अदालतमा गरेको बयान हो भन्दा उनले आरोपितलाई छाडेपछि मात्रै बयान भएको बताए ।

पहिले नै उन्मुक्ति दिइएको विषय पछि अदालतमा होस्टाइल भएको विषयसँग जोडेर आरोपित निर्दोष छन् भन्न मिल्छ र भन्ने लोकपथको प्रश्नमा अभियोजक केसीले ‘त्यस्तो त भन्न नमिल्ने’ बताए ।

आरोपित चौलागाईँ भन्छन्, ‘६० लाख मागेको कुरा गरेकै हो’
यता यस मुद्दामा आरोपित रही ८८ दिन थुनामा बसी सरकारी वकिलले उन्मुक्ति दिएका कृष्ण प्रसाद चौलागाईले बनवारीसँग सरकारी वकिललाई मिलाउन ६० लाख दिनुपर्ने विषयमा कुराकानी भएको स्वीकार गरेका छन् ।

लोकपथसँगको अनौपचारिक कुराकानीमा चौलागाईँले सरकारी वकिलले पहिले ६० लाख रुपैयाँ मागेको र पछि ४५ लाखमा झरेको कुरा आफूले बनवारीलाई भनेको स्वीकार गरेका छन् ।

लागूऔषध कारोबारमा आरोपित कृष्णप्रसाद चौलागाईँ ।

तपाइँहरुले सरकारी वकिललाई घुस दिएर अभियोगबाट उम्किएको आरोप लागेको छ, वास्तवमा कति रकम दिनुभएको हो ?’ भन्ने लोकपथको प्रश्नमा चौलागाईँले रकम नदिएको जिकिर गरे । कुराकारीकै क्रममा चौलागाईँले आफूले बनवारीसँग सरकारी वकिलले रकम माग गरेको सम्बन्धमा कुराकानी गरेको भने स्वीकार गरे ।

मैले बनवारीसँग सरकारी वकिलले ६० लाख मागेको छ भन्ने कुरा गरेकै हो । त्यस बेला सरकारी वकिलले ६० लाख माग्यो तिमी ३० लाख हाल, हामी दुई जना १५-१५ लाख हाल्छौँ भनेको हो ………

चौलागाईँले भने, ‘मैले बनवारीसँग सरकारी वकिलले ६० लाख मागेको छ भन्ने कुरा गरेकै हो । त्यस बेला सरकारी वकिलले ६० लाख माग्यो तिमी ३० लाख हाल, हामी दुई जना १५-१५ लाख हाल्छौँ भनेको हो । तर उसले मेरो ३० लाखको सामान नै समात्यो मैले कसरी हाल्ने भन्यो । पछि सरकारी वकिल ४५ लाख रुपैयाँमा झर्‍यो तिमी २५ लाख हाल हामी १०-१० लाख हाल्छौँ भनेकै हो ।


‘त्यसो भए कुन सरकारी वकिलले रकम मागेको हो त ?’ भन्ने प्रश्नमा चौलागाईँले साइमनले छुट्छु भनेपछि बयान फेर्छ कि भनेर बयान फेराउन त्यस्तो जुक्ति निकालेको बताए । चौलागाईँले भने, ‘भन्न त मैले जिल्ला सरकारी वकिलमा पनि मेरो मान्छे छ, उच्च सरकारी वकिलमा पनि मेरो मान्छे छ भनेकै हो । मैले पहिले ६० लाख मागेको छ र पछि ४५ लाखमा कुरा मिलेको छ पनि भनेकै हो । तर मैले सरकारी वकिलसँग सेटिङ गरेको थिइन ।

लोकपथसँगको कुराकानीमा तपाईँको मान्छेले सरकारी वकिलका कार्यालय प्रमुख र अभियोजकलाई भेट गरेका थिए कि थिएनन् भन्ने प्रश्न गर्दा ‘कसैले भेट गरे होलान् तर मलाई थाहा छैन’ भन्ने जवाफ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?