मकवानपुरको सुकौरामा गाडी दुर्घटना, ४ जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । मकवानपुरमा मंगलबार ईभी गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा काठमाडौंबाट वीरगञ्जतर्फ गइरहेको यात्रुवाहक गाडी दुर्घटनामा परेको हो ।

सडकबाट करिब १ मिटर तल खसेको म.प्र.०३–००१ ज ०७२० नम्बरको ईभी गाडीमा सवारमध्ये ४ जनाको मृत्यु भएको ४ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुने सबै पुरुष हुन् ।

घाइतेमध्ये २ पुरुष र १ महिलालाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ भने १ जना महिलालाई उपचारका लागि हेटौंडा पठाइएको छ ।

दुर्घटनालगत्तै प्रहरी चौकी खानीखेत मकवानपुरबाट प्रहरी सहायक निरीक्षक, इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिक प्रहरीसहित २१ जनाको टोली घटनास्थलमा उद्दार कार्यमा खटिएको थियो ।

उक्त यात्रुबाहक ईभी गाडीमा चालकसहित ८ जना सवार रहेको बुझिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?