काठमाडौं । रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको छ ।
नेशनल प्याब्सनका अध्यक्ष सुभाष न्यौपानेको नेतृत्वमा आज अर्थमन्त्री सुशील वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
विपदबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संस्थागत पहलमा रकम जुटाइएको नेशनल प्याब्सनले जनाएको छ ।
अध्यक्ष न्यौपाने नेतृत्वको टोलीले अर्थमन्त्री वाग्लेलाई एक करोड रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको हो । नेशनल प्याब्सनको संस्थागत सहयोगसँगै देशभरका सदस्य विद्यालय तथा विभिन्न संस्थाहरूले समेत आ–आफ्नो तर्फबाट राहतका लागि करोडौँ रुपैयाँ बराबरको सहयोग जुटाएका छन् ।
बाढी तथा विपद्को कठिन परिस्थितिमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको नेशनल प्याब्सनले जनाएको छ ।
रसुवा, नुवाकोट र धादिङमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न संघसंस्था, निजी क्षेत्र तथा सामाजिक संस्थाहरूले राहत, उद्धार र पुनःस्थापनाका लागि सहयोग गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया