प्रभु बैंकले संकलन गर्‍यो ३२१ पिन्ट रगत, विपद् प्रभावितलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता

लोकपथ
0
Shares

काठमाडौं । प्रभु बैंकले प्राकृतिक विपद्का कारण प्रभावित तथा घाइतेहरूको सहयोगार्थ देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बैंकले मंगलबार एकै समयमा केन्द्रीय कार्यालय बबरमहलसहित आठवटा शाखामा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार बागमती प्रदेशमा केन्द्रीय कार्यालय बबरमहल र नारायणगढ शाखा, कोशी प्रदेशमा विराटनगर, मधेस प्रदेशमा सिमरा, गण्डकी प्रदेशमा पोखराको अमरसिंहचोक, लुम्बिनी प्रदेशमा बुटवल, कर्णाली प्रदेशमा सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा धनगढी शाखामा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।

यसअघि पनि प्रभु बैंकले बाढी प्रभावित तथा घरबारविहीन परिवारको राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै, बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ पनि उक्त कोषमा जम्मा गरिएको थियो ।

बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्यागसमेत हस्तान्तरण गरेको जनाएको छ ।

प्रभु बैंकले प्राकृतिक विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।

बैंकले विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनर्स्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?