झुक्याएर बिहे, अलग बस्दा एसिड, पीडित जेनी श्रीमानभन्दा १६ वर्ष कान्छी

काठमाडौं । राजधानीको कालोपुलमा बुधबार राति एसिड आक्रमणमा परेकी जेनी खड्काको अवस्था चिन्ताजनक छ । दोलखा स्थायी घर भएकी २० वर्षीया खड्का शरीरका विभिन्न भाग जलेको अवस्थामा छटपटाइरहेकी छन् । उनको कीर्तिपुरस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार राति कालोपुल सडकमा एसिड आक्रमणमा परेपछि स्थानीयले उनलाई तत्कालै नजिकैको ओम अस्पतालमा पु¥याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कीर्तिपुर लगियो । प्रहरीसमेत उत्ति बेलै आक्रमणकारीको खोजीमा सक्रिय भयो । प्रहरीले एसिड प्रहार गर्ने व्यक्तिलाई राति साढे १० बजे काँडाघारीबाट पक्राउ ग¥यो । पक्राउ पर्ने व्यक्ति थिए, जेनीकै ३६ वर्षीय श्रीमान् विष्णु भुजेल ।

जेनीको परिवारका अनुसार १५ वर्षको उमेरमा भुजेलले जेनीलाई झुक्याएर विवाह गरेका थिए । विवाहपछि समेत उनीहरू राजधानीमै डेरा गरी बस्दै आएका थिए । खड्काले १७ वर्षको उमेरमै पहिलो सन्तान जन्माइन् । त्यसलगत्तै भुजेलले खड्कालाई काभ्रेको दाप्चामा रहेको घरमा पु¥याए । त्यसपछि जेनीले पत्तो पाइन्, श्रीमान्को आफू कान्छी श्रीमती हुँ भन्ने ।
जेनीले आफूलाई झुक्याएर बिहे गरेको र घरमा अर्की श्रीमती रहेको जानकारी पाएपछि उनी श्रीमान् छाडेर अलग्गै बस्ने निष्कर्षमा पुगिन् । त्यसलगत्तै उनी आफ्नो माइती फर्किएर आमाको डेरामा बस्दै आएकी थिइन् ।
एकातिर आफू कम उमेरकी अर्कोतिर घरमा अर्की श्रीमती रहेको थाहा पाएपछि जेनी अलग बस्दै गर्दा समेत भुजेलले फोन गर्ने र धम्क्याउने गरेको जेनीकी आमाले जानकारी दिइन् ।राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?