मन नपराउने बित्तिकै एसिड छ्याप्ने ? फितलो कानूनले निम्त्यायो अपराधका श्रृङ्खला !

काठमाडौं – काठमाडौंको सीतापाइलामा हिजो (साउन ८) गते बिहिबार साँझ एसिड आक्रमण भयो । ओखलढुंगाकी २२ वर्षिय  युवतीलाई एसिड प्रहार भयो । एसिडले उनको अनुहार, छाति, टाउको र दाहिने गालामा क्षति पुगेको छ । उनको किर्तीपुरस्थित अस्पतालमा उपचार भईरहेको छ । एसिड आक्रमणकारीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई पक्राउ गरेको हो । एसिड छ्याप्ने युवक सिसिटीभिमा कैद भएका थिए । त्यहाँ देखिएको हुलियाको आधारमा उनीहरु डल्लुबाट पक्राउ परेका हुन् । राति ११ बजे उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका २ जना रौतहटको लक्ष्मीपुर घर भई काठमाडौं डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा आलमको गोदाममा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् ।

प्रहरीसँगको बयानमा एसिड छ्याप्ने मुन्नाले मालिकको आदेशमा यस्तो कर्तुत गरेको बताएका छन् भने योजनाकार मोहम्मद आलमले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट सफा गर्ने एसिड अनुहारमा छ्याप्ने योजना बनाई मुन्नालाई अर्‍हाएको बताएका छन् ।

मोहम्मदको योजना मुताबिक मुन्नाले युवतीमाथि रक्सीको बोतलमा राखेर एसिड प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।

२२ वर्षिय ति युवती र मोहम्मदबीच काठमाडौंको एक क्यासिनोमा काम गर्ने क्रममा चिनजान भएको थियो । मोहम्मदलाई ती युवतीले चिन्ने भएकाले सोही दिन बाईकमा छोडीदिएका उनले मुन्नालाई एसिड हान्न लगाएका थिए ।

आफू भने अलि परै बसेर मुन्नालाई कुरेका थिए ।

योजनाबमोजिम एसिड फ्याँकेपछि उनीहर बाईकमा भागेका थिए । मुन्नाले प्रहरीसमक्ष दिएको बयानमा उनको भारततिर भाग्ने योजना रहेको बताएका छन् । तर प्रहरीको अप्रेसन ११ बजे नै सफल भयो । प्रहरीले दिएको जानकारी अनुसार एसिड प्रहार भएको घटना सार्वजनिक भएलगत्तै प्रहरीले काठमाडौं उपत्यकाका सबै नाका बन्द गरी एसिड छ्याप्नेको हुलिया परिपत्र गरेको थियो ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका दुई जना व्यक्तिलाई प्रहरीले केहिबेरअघि सार्वजनिक गरेको छ ।

मोहम्मदले अभियोग स्वीकार गर्दै कार्कीले आफूसँग प्रेम नगरेको कारण यो सबै गरेको बताएका छन् । पीडित युवतीले आफ्नो ‘अभिभावक’ जस्तो भएको बयान प्रहरीसमक्ष दिएकी छन् ।

प्रहरीले प्रारम्भमा उनका प्रेमीलाई समेत शंकाको दायरामा राखेर अनुसन्धान गरेका थिए ।

एसिड प्रहार गर्ने मुन्नाको ‘हातमा विभिन्न स्थानमा एसिडले पोलेको खत देखेपछि प्रहरीले उसैले एसिड हानेको एकिन गरेको थियो ।

एसिड हानेका मुन्ना दिएको बयानको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । धेरैले अब त अत्ति भयो कानून संशोधन गरेर एसिड आक्रमणकारीलाई हदैसम्मको सजाय दिऔँ भनेका छन् ।

उनले रक्सी भनेर हानेँको र साहुले हान्न लगाएको बताएका छन् । मुन्नाले भनेका छन् , ”मलाई धेरै कुरा थाहा थिएन । दारुको बोतलमा दियो । देखेपछि मलाई यस्तो रहेछ भन्ने थाहा भयो । साहुजीलाई दिएँ, त्यसपछि गाउँ जान भन्यो ।”

”साहुजीले यसरी फ्याकेर आइज भनेको थियो । मलाई लाग्यो, यो रक्सी हो । म पढे लेखेको थिइन, त्यसैले थाहा हुने कुरै भएन । जब हातमा परेर पोल्यो, त्यसपछि यो के चिज हो भन्ने भयो । साहुजीले भनेपछि नजिकबाट फ्याकेको थिएँ । त्यसपछि साहुजीले मलाई मोटरसाइकलमा चढाएर कारखानासम्म लगे । मलाई त्यसवापत एक रुपैयाँ पनि दिएका छैनन् ।”

एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका दुई जना व्यक्तिलाई प्रहरीले केहिबेरअघि सार्वजनिक गरेको छ ।

यसअघि हिजो घटनालगत्तै लोकपथ डटकमसँग कुरा गर्दै पीडित युवतीकी दिदिले एसिड आक्रमणकारी नचिनेको बताएकी थिईन् ।

के के भएको थियो हिजो ? 
रौतहटका मोहम्मद आलम र ओखलढुंगाकी २२ वर्षीया एसिड आक्रमणमा परेकी युवतीबीच बिहीबार साँझ डल्लुमा भेट भएको थियो । उनीहरु पहिले नै परिचित भएको कारण आलमले युवतीलाई मोटरसाइकलमा बाफल चोकमा लगेर छाडिदिएका थिए । युवति कोठामा गएकी थिईन् । ‘बहिनी’ भन्ने गरेको ति युवतीलाई बाफलमा छाडेपछि आलम मोटरसाइकल लिएर कारखानामा गएर मुन्नालाई एसिड फँयाक्ने उपायसहित मोटरसाईकलमा लिएर बाफल चोक गए । उनले मुन्नालाई सिकाएका थिए – ‘गाडी खुलेपछि भारत जानू ।’
आलमले मोटर साईकलमा छोडिदिएपछि उनी कोठाबाट निस्केर चोकमा दही चिउरा किनेर फर्किँदै गर्दा मकैबारी पर्ने बाटो छेउमा पिसाब गर्न लागेजस्तो देखिने ति युवकले उनीमाथि एसिड फ्याँके । मुख, घाँटी र कपालमा एसिडले पोल्न थाल्यो, उनी चिच्याइन् । लडिबुडी गरिन् । स्थानीय जम्मा भएर । घरमा पुगेर दिदिलाई खबर हुनेबित्तिकै उनीहरु अस्पताल गएका थिए । दिदि सुनिका कार्कीले बताईन् ।

आलमले ती युवतीलाई मन पराउने, तर भन्न नसकेको र आफ्नो एकतर्फी प्रेम नबुझि अर्को युवासँग प्रेममा रहेको थाहा पाएका कारण एसिड हान्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

एसिड आक्रमणपछि आलमले युवतीको मोबाइलमा एनसेल नम्बरबाट दर्जनौँ पटक ‘मिसकल’ गरेको भेटेपछि प्रहरीले उनलाई खोजेको थियो ।

यसअघिका यी घटनाक्रमलाई हेरौँ ।  

प्रेमको विद्रुप पाटो :  मेरी हुँदैनौ भने अरुको पनि हुन दिन्न !

एसिड पीडितको चित्कार, ”हामी जिन्दगीभर पीडा लिएर बाँच्नुपर्ने अपराधी छुटिहाल्ने ?”

‘मेरी हुँदैनौ भने अर्काको पनि हुन दिन्न ।’
यहि मानसिकताका उपज हुन् पछिल्ला ६ एसिड आक्रमणका घटना । किनकी प्रेम जस्तो पवित्र कुरालाई सस्तो बनाउने अहिलेका पुस्ताले साँचो प्रेम बुझ्न त के सम्मान गर्न पनि सक्दैनन् । प्रेमका नाममा भएका यी हिंसात्मक घटनाले पनि त्यो कुरा इंकित गरेको छ ।

पक्राउ परेपछि अभियुक्तहरुले त्यहि भनेका छन् । ती अपराधीहरु केहि कानूनबमोजिम सजाय भोग्दैछन् । तिनै अपराधीले त्यहि कुरा भनेका छन्, जो पवित्र प्रेम गर्दा भनिने गरीन्छ ।

‘म उनलाई माया गर्छु ।’ एसिड पीडित किशोरी संगिता सिमा घटना होस् वा सम्झना सुस्मिता दास घटना होस् वा नवलपरासीकी वसन्तीले झेल्नुपरेको दर्दनाक घटना अथवा काठमाडौको चाबहिलमा आफ्नै श्रीमानबाट एसिड खन्याइएकी जेनी खड्काको कथा । विरगंजमा भएका सम्मका पाँच एसिड आक्रमणमा अभियुक्तको एकै प्रकृतिको जवाफ छ, “जसरी पनि कुरुप पारिदिन्छु भनेर एसिड हाने ।’

प्रेम अस्वीकारपछि अपराध’
सुन्दरता बिगार्न एसिड प्रहार !

२०७१ साल फागुन ११ गतेको त्यो घटना आजपनि धेरैको मुटु कमाईदिन्छ ।

एसएलसीको तयारीको लागि ट्युसन पढ्न गएका दुई किशोरीमाथि काठमाडौंको वसन्तपुरमा एसिड प्रहार भयो ।

आक्रमणमा परेकी किशोरी संगिताको अनुहार छियाछिया भयो ।

शरिरका अन्य भागमा पनि गहिरो चोट पुग्यो ।

उनकी साथी सिमा पनि आक्रमणमा परिन् ।

उनको अनुहारका केहि भागमा चोट पुग्यो ।

संगितासँगको आन्तरिक रिसिबीका कारण जीवनले प्रहार गरेको एसिडसँगै रहेकी सीमालाई समेत लागेको थियो ।

अस्पतालको शैयाबाट उनीहरु परिक्षामा सामेल भए ।

पीडक जीवन विकलाई अदालतले १० वर्ष जेल सजाय सुनायो । उनले प्रहरीसामू संगिताको सुन्दरता बिगार्न एसिड प्रहार गरेको स्वीकारेका थिए ।

त्यसको केहि समयपछि अर्को घटना सुनियो ।

चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि २०७५ साल भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको प्रहरी अनुसन्धानबाट देखियो ।

तेजाबले सम्झनाको अनुहारसहित शरिरको अधिकांश भाग जलेको थियो ।

गम्भीर घाइते दासको उपचारको क्रममा काठमाडौंको किर्तिपुर अस्पतालमा मृत्यु भयो ।

५० वर्षे रामबाबु पासवानले आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेको रिसमा एसिड आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुल्यो ।

एसिड प्रहारबाट युवतीको ज्यान गएको घटना नसेलाउँदै नवलपरासीको कावासोतीमा फेरि २७ वर्षीया युवतीमाथि एसिड र छुरा प्रहार भयो ।

आफ्नै छिमेकी विमल श्रीपालीको एसिड र छुरा आक्रमणमा परेकी कावासोती नगरपालिका वडा नं। ९ डण्डा बजारकी वसन्तीको शरीरको २५ प्रतिशत भाग जलेको थियो ।

फरक पारिवारिक पृष्ठभुमिका उनीहरु दुवै विवाहित थिए । उनीहरुबिचको पछिल्लो समय उत्पन्न मनमुटावले यो घटना निम्त्याएको प्रहरीको भनाइ छ ।

जेठ १ गतेको त्यो घटना !

जेठ १ गते साँझ काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड आक्रमण भयो ।

यो घटनाले अझ संशय पैदा गर्यो । आक्रमणमा परेकी युवति जेनी खड्कालाई आफ्नै श्रीमान् विष्णु भुजेलले एसिड खन्याएका थिए ।

घाइते जेनी खड्काको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

श्रीमान् श्रीमतीबीचको आपसी विवादका कारण एसिड प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

काभ्रेमा एक मोटर ग्यारेजमा काम गर्दै भुजेल र जेनीबीच पाँच वर्षअघि विवाह भएको थियो। केही समयदेखि वैवाहिक सम्बन्ध राम्रो नभएपछि उनीहरु अलग बस्दै आएका थिए।

भुजेलले दोस्रो विवाह गरेकाले उनकी श्रीमती जेनी खड्का कालोपुलमा बुबाआमासँग बस्दै आएकी थिइन्।

दोस्रो विवाह गरेका उनले जेनीलाई पटक–पटक घर बोलाएका थिए ।

उनी नआएपछि बुधवार कालोपुलमा भेटेर एसिड हान्ने योजना बनाएका उनी सफल भए ।

श्रीमतीलाई कुरुप बनाउन एसिड खन्याएको उनले प्रहरीसँग बताएका छन् ।

राति करिब ८ बजे भेट्ने बहानामा श्रीमतीलाई बोलाएर काठमाडौंको कालोपुलमा आफूले नै श्रीमतीमाथि एसिड प्रहार गरेको उनले स्वीकार गरेका छन् ।

एसिड सहजै किन्न पाइने भएकाले पनि आपराधिक मनस्थिति भएकालाई थप सहयोग पुगेको छ ।

२०७६ साल भदौ २० गतेको झिसमिसैको त्यो कहालीलाग्दो घटना! ‘स्कुल हिँडेकी किशोरीमाथी जब एसिड छ्यापियो’
वीरगंज महानगरपालिका २ छपकैया घर भएकी त्रिभुवन हनुमान माध्यमिक विद्यालय रेसम कोठीमा कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि एसिड प्रहार भयो । स्कुल हिँडेकी खातुनमाथि उनैका छिमेकी युवक समसाद मियाँले झिसमिसैमा एसिड प्रहार गरेका हुन्।

घरबाट करिब १ किलोमिटर पूर्व- उत्तरमा रहेको विद्यालयमा जाने क्रममा बिहान करिब सवा छ बजेको समयमा सीता हस्पिटलको गल्लीमा समसाद र उनका साथी मजिद आलमको समूहले खातुनमाथि एसिड प्रहार गरी भागेका थिए।

घटनापछि प्रहरीले एसिड प्रहार गर्ने समसादलाई नियन्त्रणमा लिन सफल भाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ कि यूवाले ती यूवतीलाई एकोहोरो प्रेम गर्थे ।
आफ्नो प्रेम अस्विकार गरेका कारण एसिड प्रहार भाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिन आएको छ ।

एसिड प्रहारबाट किशोरीको गाला र जीउमा घाउ भएको छ । उनको वीरगंजको नारायणी अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको विरगंज प्रहरीले जनाएको छ।

एकतर्फी प्रेम अस्वीकारपछि एसिड ? कुरुप अनुहार लिएर पीडित कहाँ जाने ? केहि महिनापछि अपराधी जेल बाहिर आउँछ । जानाजान अरुको जिन्दगी बर्बाद पार्नेलाई यत्ति सजायले पुग्छ ? पीडितले प्रश्न गरिरहेका छन् । कानून नबन्दासम्म जसरी नि त्यसको अनुहार कुरुप पारिदिन्छु भनेर पीडकहरु हौसिरहेका छन् ।

गत फागुन अन्तिम साता काठमाडौंको तार्केश्वर नगरपालिका ४ पुरानो गुह्येश्वरीमा नुवाकोट स्थायी घर भएका एक पुरुषमाथि तेजाब प्रहार भयो । २४ वर्षीय रामराजा थापामाथि घरमा सुतिरहेको अवस्थामा एसिड प्रहार भएपछि धेरैले रातमा कसैले टार्गेट बनाएर आक्रमण गरेको अनुमान गरे । तर त्यो अनुमान प्रहरीको अनुसन्धानले गलत सावित गरिदियो अर्थात् थापालाई उनकी श्रीमती प्रतिमाले विवाद बढ्दै जाँदा एसिड आक्रमण गरेकी थिईन् । ६ वर्षअघि विवाह भएको थापा दम्पतिबीच पटक पटक विवाद हुने गरेको, श्रीमानभन्दा ३ वर्ष जेठी प्रतिमा र उनको सम्बन्ध राम्रो नभएको घरमा प्रतिमा र ३ महिनाका बच्चा मात्र भएको, झ्याल ढोका बन्द भएको अवस्थामा आक्रमण भएको, सुतेको समयमा भएको आक्रमण कोठामा बियरको बोतलमा तेजाब भेटिएको जस्ता कारणहरुबाट प्रहरीले प्रतिमाले नै श्रीमान् लाई तेताब खन्याएको निष्कर्ष निकालेको थियो ।

के भन्छ, कानून ?

२०७१ साल फागुन ११ गते काठमाडौंको वसन्तपुरमा दुई युवती संगीता पुलामी मगर र सीमा बस्नेतमाथि भएको एसिड आक्रमणपछि एसिड आक्रमणको विषय बहसमा आयो ।

पीडितले जिन्दगीभर डढेको अनुहार लिएर बाँच्नुपर्ने र पिडक केहि समयपछि उस्तै जीवन बाँच्न पाउने अवस्था हुनु हुँदैन भन्ने आवाजहरु सुनियो ।

त्यसपछि संसदले लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७२ पारित गर्यो ।

जसमा एसिड आक्रमण गर्नेलाई पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको थियो।

यसैबिच २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता जारी भयो ।

संहिताको दफा मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्यावएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ। जरिवानाको रकम पीडितलाई दिइने ऐनमा उल्लेख छ।

एसिड प्रहारबाट मृत्यु भएमा ज्यानसम्बन्धी मुद्दा लगाउने गरिएको छ। मृत्यु नभई अङ्गभङ्ग भएमा वा अरु केही भएमा घटना प्रकृति हेरेर यही ऐन अनुसार कानूनी प्रक्रिया अघि बढाउन सकिन्छ भनिएको छ ।

तर, स्वयम् पीडितहरुले भने पीडकका लागि दिने सजाय कम भएका कारण उनीहरुको मनोबल उच्च भएको तथा घटनाहरु बढीरहेको बताउछन् । उनीहरुको माग छ एसिड आक्रमण गर्नेलाई फाँसी हुनुपर्छ । उनीहरुको प्रेम अस्विकार गर्नेबित्तिकै हामी जीवनभर पीडा लिएर बस्नुपर्ने । ऐना हेर्यो कि बाँच्ने सोँच हराउँछ । एक अन्तर्वार्ताको क्रममा एसिड पीडितले लोकपथसँग रुदै सुनाएको व्यथा हो यो ।

 

यस अघि लोकपथ डटकममा प्रकाशन भएका तेजाव आक्रमण सम्बन्धि समाचारहरु पढ्न तलका लिंक क्लिक गर्नुहोस् 

 

झुक्याएर बिहे, अलग बस्दा एसिड, पीडित जेनी श्रीमानभन्दा १६ वर्ष कान्छी

एसिड आक्रमण : प्रमुख कारण प्रेम ? पीडित भन्छन्, सजाय पुग्दै पुगेन ! (भिडियोसहित)

फेरि अर्की महिलामाथि एसिड र छुरा प्रहार, नवलपरासीकी बसन्ती परियार गम्भीर घाइते

स्कुल जाँदै गरेकी किशोरीमाथि एसिड प्रहार, को हुन् पक्राउ परेका मियाँ (भिडियोसहित)

एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास !

एसिड बोकेको ट्यांकर कारमाथि पल्टिँदा एकै परिवारका ९ जनाको मृत्यु

एसिड आक्रमणबाट गम्भीर घाइते सम्झना दासको उपचारको क्रममा मृत्यु

एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास

एसिडपीडित यूवतीका बाबुको सनसनीपूर्ण आरोप : कुरुवा नै अपराधी रहेछन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?