काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न निर्देशन दिएका छन् ।
नेपाल टेलिकमको सेवा गुणस्तर कमजोर भएको भन्दै मन्त्रालयमा गुनासो आउने गरेको उल्लेख गर्दै उनले नेटवर्कमा समस्या आउनुको वास्तविक कारण पहिचान गरी समाधान गर्न निर्देशन दिएका हुन् ।
मन्त्री तिमिल्सिनाले दुर्गम क्षेत्र मात्र नभई सहरी क्षेत्रमा समेत मोबाइल र इन्टरनेट सेवामा समस्या देखिएको बताए । उनले कुन टावरले कति क्षेत्रसम्म प्रभावकारी सेवा दिन सक्छ र सबै टावर पूर्ण क्षमतामा सञ्चालन भएका छन् वा छैनन् भन्ने विषयमा तथ्याङ्कसहित जानकारी दिन टेलिकमलाई निर्देशन दिए ।
टावरको क्षमता विस्तार र सेवा सुधारका लागि पर्याप्त लगानी हुँदा पनि सेवाको गुणस्तर कमजोर रहनु स्वीकार्य नहुने उनको भनाइ थियो । सरकारले सेवा सुधारका लागि आवश्यक सहयोग गर्न तयार रहेको भन्दै उनले सुधारका काम प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले सेवा गुणस्तर राम्रो रहेको दाबी गर्नुभन्दा नेटवर्कमा देखिएका समस्या स्वीकार गरी समाधानका उपाय स्पष्ट पार्नुपर्ने बताए ।
‘सबैतिर गुणस्तर ठीक छ भनिएको छ, तर नेटवर्कमा समस्या छ भन्ने गुनासो मन्त्रालयमा आइरहेको छ । समस्या के हो, सुधारका लागि के गर्नुपर्छ, त्यो स्पष्ट भन्नुपर्छ,’ उनले भने ।
नेपाल टेलिकमले हाल देशभर करिब पाँच हजार टावरमार्फत सेवा दिइरहेको जनाएको छ । चालु आर्थिक वर्षमा थप एक हजार टावर स्थापना गर्ने गरी खरिद प्रक्रिया अघि बढाइएको टेलिकमले जानकारी दिएको छ ।
त्यस्तै, गत वर्ष टावरहरूमा दुई हजार आठ सयभन्दा बढी नयाँ ब्याट्री थप गरिएको टेलिकमले जनाएको छ । विद्युत् आपूर्ति बन्द हुँदा पनि सहरी क्षेत्रमा चारदेखि पाँच घण्टा र दुर्गम क्षेत्रमा आठदेखि १० घण्टासम्म टावर सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको टेलिकमको दाबी छ ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले सेवा गुणस्तर सुधारका लागि टेलिकम प्रतिबद्ध रहेको बताइन् । पुराना टावरको सेवा सुधार गर्ने र नयाँ टावर थप्ने काम भइरहेको भन्दै उनले नेटवर्कको पहुँच तथा गुणस्तर सुधार हुँदै गएको जानकारी दिइन् ।
उनका अनुसार टेलिकमले टावरहरूको सेवा गुणस्तर नियमित परीक्षण गरिरहेको छ । नेटवर्कमा देखिएका समस्या समाधानका लागि पनि काम भइरहेको छ ।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा मोबाइल टावरमा असर पर्ने र त्यसले फोन तथा इन्टरनेट सेवा प्रभावित हुने गरेको टेलिकमले जनाएको छ ।
छलफलमा टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेम सिलवाल, मोबाइल सेवा निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारीलगायत सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया