रुपन्देहीका १५५ परिवारले पाए लालपुर्जा

लोकपथ
0
Shares

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ (साविक मधवलिया गाविस) का १५५ स्ववासी परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

जग्गाको नापजाँच सम्पन्न भएको करिब तीन वर्षपछि स्थानीय बासिन्दाले आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका हुन् । नापी कार्यालय रुपन्देहीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई लालपुर्जा वितरण गरेको हो ।

उक्त क्षेत्रको जग्गा नापजाँच कार्य २०८० सालमै सम्पन्न भएको थियो । तर नापजाँच तथा नक्साङ्कनको काम पूरा भए पनि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरणमा ढिलाइ भएको थियो ।

लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेसँगै अहिले १५५ परिवारले जग्गाको औपचारिक स्वामित्व प्राप्त गरेका छन् ।

लालपुर्जा प्राप्त भएपछि स्थानीय बासिन्दालाई जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुनेछ । त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट हुने भएकाले भूमिसम्बन्धी विवाद समाधान गर्न पनि सहयोग पुग्नेछ ।

स्ववासीका रूपमा लामो समयदेखि बसोबास गर्दै आएका परिवारले लालपुर्जा पाएसँगै जग्गाको कानुनी स्वामित्व स्थापित हुनुका साथै आर्थिक तथा सामाजिक सुरक्षासमेत बलियो हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?