सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि आउँछ : अर्थमन्त्री वाग्ले

लोकपथ
0
Shares

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

विराटनगरमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधारका रूपमा वर्तमान सरकारले ग्रहण गरेको बताए । सुशासन आर्थिक विकासको आधार र सरकारको वैधताको मन्त्र भएको उनको भनाइ थियो ।

मन्त्री वाग्लेले भ्रष्टाचारले व्यवसायको लागत बढाउने, पहुँचका आधारमा अवसर बाँडिने र प्रतिस्पर्धालाई कमजोर बनाउने उल्लेख गर्दै सरकारी निकायमा हुने अनावश्यक आर्थिक माग, बिचौलियाको हस्तक्षेप तथा कानुनसम्मत काममा अवरोध भए सरकारलाई जानकारी गराउन निजी क्षेत्रलाई आग्रह गरे ।

सरकारी कार्यालयमा बिचौलियाको हस्तक्षेप र भ्रष्टाचारविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाएको उल्लेख गर्दै उनले यस्ता गतिविधिमा संलग्न जोसुकैलाई कानुनी कारबाही गरिने बताए ।

उनले कानुनसम्मत निजी सम्पत्ति, उद्योग, व्यवसाय र लगानीको सुरक्षा गर्नु सरकारको आधारभूत जिम्मेवारी भएको बताए । निजी क्षेत्रलाई असुरक्षाको अनुभूति भए सरकारले त्यसको सम्बोधन गर्ने र समान अवसर तथा निष्पक्ष प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता थियो ।

अर्थमन्त्री वाग्लेले आगामी चार महिनालाई सकारात्मक सुधारलाई परिणाममा बदल्ने महत्वपूर्ण अवधिका रूपमा लिइएको बताए । सरकारले सुधारको गति बढाउँदै गर्दा निजी क्षेत्रले पनि नयाँ उद्योग स्थापना, उत्पादन क्षमता विस्तार, आधुनिक प्रविधिको प्रयोग तथा कृषि प्रशोधन, ऊर्जा र पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए ।

उत्पादन लागत घटाउने, रोजगारी सिर्जना गर्ने र राज्य तथा निजी क्षेत्रबीच साझा प्रतिबद्धतामार्फत आर्थिक रूपान्तरणलाई तीव्रता दिने सरकारको प्राथमिकता रहेको उनले बताए । बेरोजगारी र मूल्यवृद्धिलाई सरकारले गम्भीर चुनौतीका रूपमा लिएको पनि उनको भनाइ थियो ।

आर्थिक वृद्धिको प्रतिफल नागरिकको दैनिक जीवनसँग जोडिने गरी काम गर्न निजी क्षेत्रलाई आग्रह गर्दै मन्त्री वाग्लेले हजारौँ उद्यममार्फत रोजगारी सिर्जना गर्ने वातावरण बनाउने सरकारको उद्देश्य रहेको बताए ।

युवालाई कृषि, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र आधुनिक सेवा क्षेत्रमा अवसर उपलब्ध गराउने तथा विप्रेषण, उपभोग, आयात र राजस्वमा निर्भर अर्थतन्त्रलाई उत्पादन र निर्यातमुखी बनाउने सरकारको लक्ष्य रहेको उनले उल्लेख गरे ।

पूर्वी नेपाल तथा विराटनगरको औद्योगिक विरासतलाई नयाँ पुस्ताका अवसरसँग जोड्नुपर्नेमा जोड दिँदै उनले कृषि प्रशोधन, भण्डारण, गुणस्तर प्रमाणीकरण, निर्यात र जलविद्युत्लाई औद्योगिक प्रतिस्पर्धाको आधार बनाउनुपर्ने बताए ।

उनले निजी क्षेत्रलाई नयाँ उद्योग स्थापना गर्न, प्रविधि भित्र्याउन, उत्पादनको गुणस्तर बढाउन, नयाँ निर्यात बजार खोज्न र रोजगारी सिर्जना गर्न आह्वान गरे । राज्यले आफ्नो कार्यशैली र चरित्र परिवर्तन गर्ने प्रयास गरिरहेका बेला निजी क्षेत्रले पनि लगानीको गति बढाउनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?