काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।
शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा आयोगले यस्तो प्रस्ताव अघि सारेको हो ।
आयोगमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू सहभागी भएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छलफलमा पुगेका थिए । तर उनले पार्टीका निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी हुन पठाएर आफू बाहिरिएका थिए ।
छलफलमा नेकपाका संयोजक प्रचण्डले आयोगले प्रस्ताव गरेको निर्वाचन तालिका उपयुक्त रहेको बताएका छन् । उनको सचिवालयका अनुसार स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्तावमा पार्टीभित्र थप छलफल र अध्ययन गरेपछि अन्तिम धारणा सार्वजनिक गरिनेछ ।
यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । त्यस्तै, प्रदेशसभा निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्न भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल २०८४ वैशाख ३० गते समाप्त हुँदैछ ।
कानुनी व्यवस्थाअनुसार गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया