छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी (पत्रसहित)

लोकपथ
35
Shares

काठमाडौं । विद्यार्थीहरुलाई छात्रवृद्धि उपलब्ध नगराउने विद्यालयहरुलाई काठमाडौं महानगरपालिकाले कारबाही गर्ने चेतावनी दिएको छ ।

यसअघि नै सार्वजनिक सूचना जारी गर्दा पनि कतिपय विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई दिनुपर्ने छात्रवृत्ति उपलब्ध नगराएको भन्दै महानगरले त्यस्तो चेतावनी दिएको हो ।

महानगरले संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिका सम्बन्धमा मिति २०८० वैशाख २४ गतेको परिपत्र र मिति २०८० जेठ १० गतेको गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचना बमोजिम मिति २०८० साल जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी मिति २०८० साल जेठ १६ गते कार्यालय समयभित्र काठमाडौं महानगरको शिक्षा विभाग र इमालेमार्फत पठाउन आग्रह गरेको थियो ।
यसअघि नै महानगरले आफ्नो हाताभित्र पर्ने ३४२ विद्यालयलाई छात्रवृत्तिको दायरामा आउन आग्रह गरेको थियो ।

धेरै विद्यालयहरुले महानगरको आग्रह अनुसार छात्रवृत्ति उपलब्ध गराए पनि कतिपय विद्यालयहरुले उपलब्ध नगराएको महानगरले जनाएको छ ।

त्यस्तै महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लङ्घन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने तपसिलका विद्यालयहरुलाई जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न आग्रह गरेको छ ।

यदि नियमअनुसार विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरिने महानगरको चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?