ऊर्जा क्षेत्रमा सहकार्य गर्न भारत तयार छ : विदेश सचिव मिश्री

लोकपथ
0
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

ऊर्जा मन्त्रालयमा बुधबार भएको भेटमा नेपाल–भारतबीच ऊर्जा व्यापार विस्तार, जलविद्युत् आयोजनाको निर्माण, विपद् प्रतिकार्य तथा पूर्वसूचना प्रणालीलगायतका विषयमा छलफल भएको हो ।

भेटका क्रममा मन्त्री श्रेष्ठले नेपालले हालै सामना गरेका श्रृंखलाबद्ध विपद्का घटनामा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले दुई देशबीच विद्युत् व्यापार विस्तार गर्न, नेपालमा सञ्चालित जलविद्युत् आयोजनाहरू समयमै सम्पन्न गर्न तथा ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउन भारत सरकारसँग आग्रह गरे ।

मन्त्री श्रेष्ठको आग्रहप्रति जवाफ दिँदै भारतीय विदेश सचिव मिश्रीले ऊर्जा क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारत सरकार तयार रहेको बताए ।

भेटमा ऊर्जा सचिव डा.जगदीश्वर कर्माचार्यसहित मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता थियो । भारतीय पक्षबाट नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?