मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक, के-के भए निर्णय ?

लोकपथ
0
Shares

काठमाडौं । सरकारले एसियाली विकास बैंक (एडीबी) बाट सडक सुधारका लागि ३०५ मिलियन अमेरिकी डलर बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सडक सुधारका लागि एडीबीबाट प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा थप हकप्रद शेयर लगानी गर्न पनि सहमति प्रदान गरेको छ ।

त्यस्तै, नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरेको छ । बैठकले मल नियन्त्रण आदेश, २०८३ समेत स्वीकृत गरेको छ ।

यसैगरी, तुर्किएको आन्ताल्यामा कात्तिक २३ देखि मंसिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले मोही लागेको जग्गाको जग्गावाला र मोहीबीच जग्गा बाँडफाँटसम्बन्धी प्रक्रिया पूरा गर्ने समयावधि पनि थप गरेको छ । जग्गा बाँडफाँट गरी लिन निवेदन दिने अवधि २०८५ कात्तिक मसान्तसम्म र जग्गा बाँडफाँट गरी कारबाही टुंग्याउने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने निर्णय भएको हो ।

त्यस्तै, सरकारले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?