काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को अन्त्यसम्म इजरायललाई दिँदै आएको अमेरिकी आर्थिक सहयोग बन्द गर्ने बताएका छन् । उनले इजरायललाई वार्षिक ४ अर्ब अमेरिकी डलर बराबरको सहयोग दिँदै आएको र अब त्यसलाई रोक्ने सहमति भएको बताएका हुन् ।
फक्स न्युजको कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स’मा बोल्दै ट्रम्पले इजरायललाई अब अमेरिकी सहयोग आवश्यक नरहेको बताएका छन् । उनका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग केही महिनाअघि नै सहयोग बन्द गर्ने विषयमा सहमति भएको थियो ।
ट्रम्पले यसै वर्षको अन्त्यसम्म सहयोग रोक्ने भए पनि भविष्यमा आवश्यक परे अमेरिकाले फेरि सहयोग गर्न सक्ने बताएका छन् ।
यद्यपि, कुन सहायता कार्यक्रम बन्द गर्न लागिएको हो भन्ने स्पष्ट भइसकेको छैन । इजरायलले अमेरिकाबाट वार्षिक ३ अर्ब ८० करोड डलर सैन्य सहायता पाउँदै आएको छ । यससम्बन्धी दुई देशबीचको सम्झौता सन् २०२८ मा समाप्त हुँदैछ ।
यसअघि नेतान्याहूले पनि आगामी १० वर्षभित्र अमेरिकी सैन्य सहयोगमा निर्भर नरहने अवस्था सिर्जना गर्न चाहेको बताएका थिए ।
गाजामा युद्ध सुरु भएयता अमेरिकामा इजरायललाई दिइने सहयोगप्रति जनसमर्थन घट्दै गएको छ । विशेषगरी डेमोक्रेटिक पार्टीका मतदातामाझ इजरायललाई अमेरिकाले आवश्यकताभन्दा बढी समर्थन गरिरहेको धारणा बढेको छ ।
ट्रम्पको घोषणापछि इजरायलका विपक्षी नेताहरूले प्रधानमन्त्री नेतान्याहूको आलोचना गरेका छन् । उनीहरूले अमेरिकी सहयोग बन्द हुने अवस्थाले इजरायलको सुरक्षा र अर्थतन्त्रमा जोखिम बढाउन सक्ने बताएका छन् ।
इजरायलका पूर्वसैनिक प्रमुख तथा विपक्षी नेता गादी आइजेनकोटले अमेरिकी सहयोगमा हुन लागेको परिवर्तनबारे सरकारी निकायलाई समेत जानकारी नदिएको भन्दै नेतान्याहूको आलोचना गरेका छन् । उनले यस घटनाले अमेरिकासँगको सम्बन्ध व्यवस्थापनमा सरकार कमजोर रहेको देखाएको बताएका छन् ।
त्यस्तै, डेमोक्रेट्स पार्टीका नेता याइर गोलानले पनि अमेरिकी सहयोग बन्द हुने अवस्था आउनु नेतान्याहूको ठूलो असफलता भएको टिप्पणी गरेका छन् । क्षेत्रीय द्वन्द्वका कारण इजरायलको सैन्य खर्च बढिरहेको र हतियारको भण्डार पुनः भर्नुपर्ने अवस्थामा अमेरिकी सहयोग रोकिँदा थप समस्या उत्पन्न हुन सक्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया