काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार र लगाइएका आरोपप्रति गम्भीर आपत्ति जनाउँदै ती समाचार निराधार, कपोलकल्पित र भ्रम फैलाउने उद्देश्यबाट प्रेरित रहेको जनाएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयले जारी गरेको विज्ञप्तिमा सरकारका पछिल्ला स्वतन्त्रताविरोधी गतिविधि र घटनाबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दलमाथि सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको दाबी गरिएको छ ।
विज्ञप्तिमा नेपाली कांग्रेसले पार्टी विधान र प्रचलित कानुनअनुसार विशेष महाधिवेशन सम्पन्न गरेको तथा त्यसबाट नेतृत्व र निर्णयको आधिकारिकतासम्बन्धी विषय निर्वाचन आयोग र अदालतका निर्णयबाट पुष्टि भइसकेको उल्लेख छ । साथै, संविधान, प्रचलित कानुन, पार्टी विधान र सर्वोच्च अदालतको आदेशका आधारमा हालै सम्पन्न १५औँ महाधिवेशनले पार्टीको संस्थागत प्रक्रियालाई थप सुदृढ बनाएको दाबी गरिएको छ ।
कांग्रेसले लोकतन्त्र, नागरिक स्वतन्त्रता, जनअधिकार र विधिको शासनका पक्षमा पार्टीले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै सरकार लोकतान्त्रिक मूल्य र मान्यताविपरीत अघि बढ्दा त्यसको सशक्त प्रतिवाद गर्ने स्पष्ट पारेको छ ।
विज्ञप्तिमा बिचौलियासँग सम्बन्धित विषय तथा त्यसमा जोडिएका सबै प्रकरणको गहिरो, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने कांग्रेसको धारणा पुनः दोहो¥याइएको छ । दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गर्नुपर्ने र यसमा सरकारलाई पार्टीको पूर्ण साथ तथा समर्थन रहने जनाइएको छ ।
तर अनुसन्धानसँग सम्बन्धित नेपाल प्रहरीको छापसहितका कागजात, तथ्य तथा कथित बयानहरू छानिछानी सार्वजनिक भइरहेको विषयले अनुसन्धानको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको सचिवालयको भनाइ छ । यसले प्रमाण लुकाउने वा नष्ट गर्ने तथा समग्र अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने प्रयास भइरहेको हो कि भन्ने आशङ्का उत्पन्न गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, अनुसन्धान चयनात्मक ढंगले अघि बढेको हो कि भन्ने प्रश्न उठाउँदै अनुसन्धानमा संलग्न निकायभित्रकै व्यक्तिहरूको भूमिकासमेत सार्वजनिक भइरहेकाले समग्र अनुसन्धान प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्नेमा जोड दिइएको छ ।
कांग्रेसले कुनै पनि प्रकारको निष्पक्ष अनुसन्धानबाट पछि नहट्ने स्पष्ट पार्दै अपुष्ट आरोप, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा कसैलाई आरोपित गर्ने प्रवृत्ति स्वीकार्य नहुने जनाएको छ । अनुसन्धानलाई निष्पक्ष बनाउन पार्टीको संसदीय दलले समेत निर्णय गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
अन्त्यमा सचिवालयले सम्बन्धित सबै पक्षलाई प्रमाण र तथ्यका आधारमा जिम्मेवार ढंगले विषय प्रस्तुत गर्न तथा आमनागरिकलाई अपुष्ट सूचनाका आधारमा भ्रममा नपर्न आग्रह गरेको छ ।
भ्रामक समाचार तथा तथ्यहीन आरोपप्रति गम्भीर ध्यानाकर्षण
नेपाली कांग्रेसका सन्दर्भमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार र आरोपप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सरकारका पछिल्ला स्वतन्त्रताविरोधी गतिविधि र घटनाबाट विषयान्तर गर्नका लागि प्रतिपक्षी दलमाथि सुनियोजित रूपमा फैलाइएका भ्रम र आरोपहरू निराधार छन्, कपोलकल्पित छन्।
नेपाली कांग्रेसले पार्टीको विधान र प्रचलित कानुनबमोजिम विशेष महाधिवेशन गरी त्यसको नेतृत्व र निर्णयको आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोग तथा सम्मानित अदालतका निर्णयले पुष्टि गरिसकेको छ। त्यसपश्चात् नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान तथा सम्मानित सर्वोच्च अदालतको आदेशसमेतका आधारमा हालै सम्पन्न भएको १५औँ महाधिवेशनले समेत उक्त विषयलाई थप संस्थागत गरेको छ। नेपाली कांग्रेस पार्टीको विधान, विधिसम्मत प्रक्रिया र संवैधानिक निकायका निर्णयको सम्मान गर्दै विधिसम्मत ढङ्गले अगाडि बढेको छ।
जब जब सरकार उल्टो गतिमा हिँड्छ, जब लोकतन्त्र र नागरिक स्वतन्त्रताको खिलाफमा लाग्छ, तब नेपाली कांग्रेस पार्टी र नेतृत्वले लोकतन्त्र, जनअधिकार र विधिको शासनका सन्दर्भमा आफ्नो स्पष्ट धारणा राख्दै सशक्त ढङ्गले अगाडि बढ्छ। त्यतिबेला कांग्रेसका विरुद्ध अनेकन तानाबाना बुनेर भ्रम सिर्जना गर्दै विषयलाई विषयान्तर गर्ने प्रयास हुन्छ। यस्तो प्रवृत्ति विगतमा पनि धेरै पटक भएका छन्। अहिलेको कपोलकल्पित र भ्रामक समाचार त्यस्तै प्रवृत्तिको उपज हो। यस्तो षड्यन्त्रको कुनै पनि तानाबानामा विश्वास नगर्न सबैमा आग्रह गर्दछौँ।
हामी प्रस्ट छौँ– नेपाली कांग्रेस लोकतन्त्र, सुशासन, जनसरोकार र विधिको शासनका पक्षमा हुने सरकारका हरेक गतिविधिमा सदैव साथमा रहन्छ, तर विधिको शासन, नागरिक स्वतन्त्रता, शक्ति पृथकीकरणको सिद्धान्त, प्रेस स्वतन्त्रता र संवैधानिक सर्वोच्चताको विपरीत हुने क्रियाकलापको सशक्त विरुद्धमा उभिन्छ। लोकतन्त्रका सारभूत विषयमा आवाज उठाउँदा आइपर्ने जस्तोसुकै षड्यन्त्रको सामना गर्न नेपाली कांग्रेस तयार छ।
यस सन्दर्भमा नेपाली कांग्रेसका सभापति श्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यालयमा व्यक्त गर्नुभएको धारणा पुनः स्मरण गराउन चाहन्छौँ:
“बिचौलियासँग सम्बन्धित विषय र त्यसमा जोडिएका सबै प्रकरणको गहिरो, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्छ। दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गरिनुपर्छ। यसमा सरकारलाई हाम्रो पूर्ण साथ र समर्थन छ।
तर अनुसन्धान निष्पक्ष हुन्छ कि हुँदैन भन्नेमा हाम्रो गम्भीर प्रश्न र आशङ्का छ। नेपाल प्रहरीको छापसहित अनुसन्धानमा संलग्न रहेको तथ्य र प्रमाणहरू तथा कथित बयानहरू छानिछानी बाहिर ल्याउनुले केही प्रमाण लुकाउने वा नष्ट गर्ने प्रयास भएको र समग्र अनुसन्धान नै प्रभावित गर्ने हो कि भन्ने गम्भीर आशङ्का उत्पन्न भएको छ। सञ्चारमाध्यममा सार्वजनिक भइरहेका विवरणहरू हेर्दा अनुसन्धान चयनात्मक ढङ्गले अघि बढेको हो कि भन्ने आशङ्का पैदा भएको छ। अनुसन्धान गर्ने निकायभित्रैका व्यक्तिहरूको संलग्नताका विषय पनि बाहिर आइरहेका छन्। त्यसैले समग्र अनुसन्धान प्रक्रिया पारदर्शी र निष्पक्ष हुन आवश्यक छ।”
हामी कुनै पनि प्रकारको निष्पक्ष अनुसन्धानबाट पछि हट्दैनौँ। तर अपुष्ट आरोप, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा आरोपित गर्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन। अनुसन्धानका विषयमा पार्टीको संसदीय दलले निष्पक्ष छानबिनका लागि निर्णयसमेत गरिसकेको छ।
अतः सम्बन्धित सबै पक्षलाई प्रमाण र तथ्यका आधारमा जिम्मेवार ढङ्गले विषय प्रस्तुत गर्न तथा आमनागरिकलाई अपुष्ट सूचनाका आधारमा भ्रममा नपर्न आग्रह गर्दछौँ।
गगनकुमार थापाको सचिवालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया