नेप्सेको प्रणालीमा समस्या आएपछि बोर्डले थाल्यो छानबिन

लोकपथ
21
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रणालीमा प्राविधिक समस्या आएर धितोपत्र कारोबार प्रभावित भएपछि नेपाल धितोपत्र बोर्डले घटनाबारे छानबिन थालेको छ ।

बोर्डले समस्याको वास्तविक कारण पत्ता लगाउन अध्ययन तथा निरीक्षण टोली परिचालन गरेको हो ।

बोर्डले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेश गर्न नेप्सेलाई निर्देशन दिएको छ ।

बोर्डका अनुसार असोज ४ गते बिहानदेखि धितोपत्र दलाल व्यवसायीका सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएको थियो । नेप्सेमा कारोबार गर्न अनुमति पाएका ९२ धितोपत्र दलाल व्यवसायीमध्ये ७२ वटाका सर्भर सोही डाटा सेन्टरमा रहेका छन् ।

डाटा सेन्टरमा आएको समस्याका कारण असोज ५ गते धितोपत्र कारोबार नै रोक्नुपर्ने अवस्था आएपछि बोर्डले घटनाबारे अध्ययन थालेको हो ।

बोर्डले कारोबार रोक्नुपर्ने अवस्था कसरी आयो, प्राविधिक समस्या के थियो र भविष्यमा यस्ता समस्या आउन नदिन के–कस्ता सुधार गर्नुपर्छ भन्ने विषय समेटेर प्रतिवेदन तयार गर्न नेप्सेलाई भनेको छ ।

यसका साथै समस्याको प्राविधिक पक्ष र कारोबार अवरुद्ध हुनुका कारणबारे स्थलगत अध्ययन गर्न बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?