यती एअरलाइन्सको २८ वर्ष पूरा, एक वर्षमा ९ लाख यात्रुलाई सेवा

लोकपथ
0
Shares

काठमाडौं । नेपालको आन्तरिक हवाई सेवा प्रदायक यती एअरलाइन्सले व्यावसायिक उडान सुरु गरेको २८ वर्ष पूरा गरेको छ । सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको यतीले पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिएको जनाएको छ ।

२८ वर्षको यात्रामा सेवा विस्तारसँगै यात्रुको विश्वास, उड्डयन सुरक्षा र समग्र यात्रु अनुभवलाई व्यवसायको महत्वपूर्ण आधार बनाउँदै आएको कम्पनीले जनाएको छ । पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिन सक्नुलाई कम्पनीले नेपाली यात्रुमाझ कायम रहेको विश्वासको सूचकका रूपमा लिएको छ ।

नेपालको आन्तरिक हवाई बजार सञ्चालन लागत, विमानस्थल पूर्वाधार, मौसमजन्य अवरोध तथा सडक यातायातसँगको प्रतिस्पर्धालगायत चुनौतीबीच अघि बढिरहेको भन्दै यतीले ठूलो संख्यामा यात्रुलाई सेवा दिनुलाई महत्वपूर्ण उपलब्धि भनेको छ ।

कम्पनीका अनुसार यात्रु संख्या व्यवसायको महत्वपूर्ण सूचक भए पनि उपलब्धिलाई त्यसमा मात्र सीमित गरिएको छैन । यात्रु अनुभव, सेवा विश्वसनीयता, सञ्चालन दक्षता र दीर्घकालीन ग्राहक सम्बन्धलाई पनि प्राथमिकतामा राख्दै आएको यतीको भनाइ छ ।

वायुसेवा क्षेत्रमा प्रतिस्पर्धा बढ्दै जाँदा भाडादरसँगै टिकट बुकिङको सहजता, विमानस्थल सेवा, सूचना प्रवाह, कर्मचारीको व्यवहार, समय व्यवस्थापन तथा समग्र यात्रु अनुभव महत्वपूर्ण बन्दै गएको कम्पनीले जनाएको छ ।

यही विषयलाई ध्यानमा राख्दै यतीले टिकट बुकिङदेखि विमानस्थल सेवा र उडान अनुभवसम्मका प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने प्रयास गरिरहेको जनाएको छ । यात्रुको सुझाव तथा प्रतिक्रियालाई सेवा सुधारको आधार बनाउँदै डिजिटल माध्यम र ग्राहक सम्पर्क प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ पनि कम्पनी केन्द्रित रहेको बताइएको छ ।

यतीले उड्डयन सुरक्षालाई व्यवसायको मुख्य आधारका रूपमा राख्दै आएको जनाएको छ । सञ्चालन प्रक्रिया, नियमित प्राविधिक निगरानी, चालक दल तथा प्राविधिक जनशक्तिको तालिम र सुरक्षा व्यवस्थापन प्रणालीमा निरन्तर सुधार गर्दै आएको कम्पनीको दाबी छ ।

नेपालको भौगोलिक अवस्थाका कारण हवाई यातायात पर्यटन, व्यापार, स्वास्थ्य, शिक्षा तथा आन्तरिक आवागमनको महत्वपूर्ण माध्यम रहँदै आएको यतीले जनाएको छ । विभिन्न प्रमुख सहर तथा पर्यटकीय गन्तव्यलाई हवाई सेवामार्फत जोड्दै आएको कम्पनीको भनाइ छ ।

हवाई सेवाको पहुँचले यात्रुको समय बचत गर्नुका साथै पर्यटन तथा स्थानीय व्यवसायलाई समेत सहयोग पुर्‍याउने भएकाले वायुसेवा व्यवसायलाई समग्र अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने यतीको धारणा छ ।

२८औँ वार्षिकोत्सवलाई विगतका उपलब्धि स्मरण गर्ने अवसरसँगै आगामी यात्राको दिशा तय गर्ने अवसरका रूपमा लिएको कम्पनीले जनाएको छ । यात्रुको मागअनुसार सेवा सुधार, सञ्चालन दक्षता अभिवृद्धि, डिजिटल प्रविधिको प्रयोग तथा ग्राहक अनुभवलाई थप सहज बनाउने विषयलाई आगामी प्राथमिकतामा राखिएको यतीले जनाएको छ ।

२८ वर्षको अनुभव र लाखौँ यात्रुको विश्वासलाई आधार बनाउँदै सुरक्षित, भरपर्दो, सहज तथा यात्रुमैत्री हवाई सेवा प्रदान गर्दै आगामी यात्रा अघि बढाउने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?