भोटेकोशी बाढी प्रभावित बालबालिकालाई शेष घलेको ५७ करोड ८५ लाख सहयोग

लोकपथ
63
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा व्यवसायी डा. शेष घले र उनकी पत्नी जमुना गुरुङले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

घले दम्पतीको एमआईटी ग्रुप फाउन्डेसनले बाढीबाट प्रभावित १८ वर्षमुनिका बालबालिकाको शिक्षा तथा आधारभूत आवश्यकताका लागि उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो ।

यसका लागि एमआईटी ग्रुप फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारीपत्र (एमओयू) गरेको छ । समझदारीअनुसार प्रभावित बालबालिकालाई कक्षा १२ सम्म अध्ययन गर्न आवश्यक सहयोग उपलब्ध गराइनेछ ।

फाउन्डेसनले बालबालिकाको अवस्थाअनुसार शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्य उपचार तथा अन्य आवश्यक सेवामा सहयोग गर्ने जनाएको छ ।

घलेले सामाजिक सञ्जालमार्फत सहयोगले बाढी प्रभावित बालबालिकाको कठिन अवस्थामा आवश्यक सेवा उपलब्ध गराउन मद्दत गर्ने बताएका छन् । उनले अहिलेको कठिन समयमा मात्र नभई आगामी दिनमा पनि बालबालिकालाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

फाउन्डेसनले बालबालिकाको संरक्षण र भविष्य सुनिश्चित गर्न दीर्घकालीन रूपमा सहयोग गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?