काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानीका अवसर खोज्न र लगानी विस्तार गर्न आह्वान गरेका छन् ।
नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) ले आयोजना गरेको व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले नेपालमा लगानीका लागि सम्भावना भएका विभिन्न क्षेत्रबारे जानकारी गराए । डिजिटल प्रविधि, स्वच्छ ऊर्जा, कृषि, पर्यटन, उत्पादन तथा अन्य नयाँ क्षेत्रमा नेपालमा लगानीको राम्रो सम्भावना रहेको उनले बताए ।
वाग्लेले नेपालमा पहिलेदेखि लगानी गरिरहेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न र नयाँ लगानीकर्तालाई नेपाली बजारको खोजी गर्न आग्रह गरे ।
नेपाल सरकारले सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण र आर्थिक सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । लगानीको वातावरण सहज बनाउन नीतिगत सुधार, कर सुधार र लगानीमैत्री व्यवस्था अघि बढाइएको उनको भनाइ थियो ।
उनले नेपाललाई भारतीय व्यवसायीले केवल बजारका रूपमा नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि तथा क्षेत्रीय र विश्वव्यापी आपूर्ति शृंखलासँग जोडिने साझेदारका रूपमा हेर्नुपर्ने बताए ।
अर्थमन्त्री वाग्लेले नेपाल र भारतबीच लगानी, उत्पादन, ऊर्जा, पर्यटन, कृषि, डिजिटल अर्थतन्त्रलगायतका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको बताए । दुई देशबीचको लामो समयदेखिको आर्थिक सम्बन्धले व्यापार तथा लगानी विस्तारका लागि आधार तयार गरेको उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया