काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगरे सार्वजनिक यातायातको भाडा पनि नबढ्ने बताएका छन् ।
यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सिटौलाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि चाडपर्वको समयमा नेपालमा मूल्य वृद्धि गर्न नहुने बताएका हुन् ।
उनले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेसम्म सरकारले तोकेको सार्वजनिक यातायातको भाडादर नै कायम रहने स्पष्ट पारे । राज्यले पेट्रोलियम पदार्थमा थप घाटा व्यहोर्नुपर्ने अवस्था आए पनि कम्तीमा एक महिनासम्म त्यसको भार उपभोक्तामाथि नथोपर्न उनले सरकारसँग आग्रह गरे ।
‘पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारबाट बढेर आए पनि नेपाल सरकारले बढाउन भएन । राज्यलाई जतिसुकै घाटा परे पनि कम्तीमा एक महिना सहनुपर्छ,’ उनले भने, ‘यदि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएन भने तोकिएअनुसारकै भाडा कायम रहन्छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएमा मात्रै बाध्य भएर भाडा बढाउनुपर्ने हुन्छ ।’
सिटौलाले सरकारले तोकेको भाडादरभन्दा बढी रकम असुल्ने अवस्था आउन नदिन आधिकारिक टिकट काउन्टर र सम्बन्धित व्यक्तिको नियमित अनुगमन गर्नुपर्ने बताए । बस, मिनीबस, माइक्रोबसलगायत सवारीसाधनको वर्गअनुसार सरकारले तोकेको भाडा नै लागू हुनुपर्नेमा उनले जोड दिए ।
यात्रुहरूलाई पनि आधिकारिक टिकट काउन्टरबाट मात्रै टिकट लिन उनले आग्रह गरे ।
त्यस्तै, सिटौलाले अनलाइन टिकटिङ तथा प्रविधिमैत्री यातायात प्रणाली कार्यान्वयनमा सरकारी निकायले ढिलाइ गरिरहेको आरोप लगाए । प्रविधिसम्बन्धी कार्यविधि स्वीकृत भएर विभागमा पुगिसकेको भए पनि कार्यान्वयनमा ढिलाइ भएको उनको भनाइ छ ।
उनले तत्काल अनलाइन टिकटिङसम्बन्धी कार्यविधि कार्यान्वयन गर्न सरकारसँग माग गरे । प्रविधिको प्रयोगमार्फत टिकटिङ प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन व्यवसायी तयार रहेको उनले बताए ।
अग्रिम टिकट बुकिङ खोल्ने मिति तोक्न हतार गर्नुपर्ने अवस्था नरहेको पनि सिटौलाले बताए । आवश्यक सबै तयारी पूरा गरेर असोज १५ भित्र अग्रिम टिकट बुकिङको मिति घोषणा गरिने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया