बल्ल एलपी ग्यास अभावको कारण खोज्दै सरकार

लोकपथ
245
Shares
ग्यासको सांकेतिक तस्बिर

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बजारमा देखिएको एलपी ग्यास अभावको समस्या समाधानका लागि सरकारले आपूर्ति प्रणालीसँग जोडिएका विभिन्न कारणको विश्लेषण गरिरहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री साहले ग्यास अभावका कारण आम नागरिकले भोगिरहेको कठिनाइप्रति सरकार गम्भीर रहेको बताए । उनले ग्याससहित आपूर्ति क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले निरन्तर काम गरिरहेको दाबी गरे ।

ग्यास अभावको मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण ‘फिसबोन डायाग्राम’ प्रयोगमा ल्याएको उनले जानकारी दिए । उनका अनुसार उक्त विश्लेषणले ग्यास अभाव कुनै एउटा कारण वा निकायको कमजोरीका कारण मात्र नभई आपूर्ति, पूर्वाधार, आर्थिक तथा नीतिगत पक्ष, कानुन, वितरण प्रणाली तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय कारणको संयुक्त प्रभाव भएको देखाएको छ ।

मन्त्री साहका अनुसार ग्यास आपूर्तिमा नेपालको आयात निर्भरता, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, भण्डारण तथा रिफिलिङ क्षमता, डिलर तथा सेवा केन्द्रको असमान वितरण र खाली सिलिन्डर फिर्तामा हुने ढिलाइ प्रमुख समस्याका रूपमा देखिएका छन् । यी कारणले माग र आपूर्तिबीच असन्तुलन सिर्जना भएको उनको भनाइ छ ।

त्यस्तै, ग्यासको कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव र अन्तरनिकाय समन्वयको कमीले पनि आपूर्ति व्यवस्थापनमा समस्या थपिएको उनले बताए ।

‘आम नागरिकले एलपी ग्यास सिलिन्डरको अभावका कारण भोगिरहेको कठिनाइप्रति सरकार निकै गम्भीर छ,’ उनले भने, ‘समस्याको मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको एक उपकरण फिसबोन डायाग्राम सञ्चालनमा ल्याएको छ ।’

मन्त्री साहले ग्यास आपूर्तिको अवस्था मूल्यांकन गर्दा कति सिलिन्डर आयो भन्ने विषयमा मात्र सीमित नभई लोडिङदेखि उपभोक्ताको भान्सासम्म पुग्ने समय, रिफिलिङ क्षमता, वितरणको भौगोलिक असन्तुलन, मूल्य र सुरक्षालाई समेत सूचकका रूपमा हेरिएको बताए ।

उनले ग्यास आपूर्ति सहज बनाउन सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर आवश्यक सबै शक्ति परिचालन गरिरहेको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?