काठमाडौं । पछिल्लो समय वर्तमान सरकारको नीति निर्देशनअनुरूप मधेश प्रदेशको शान्ति सुरक्षा तथा सुशासन कायम राख्नका लागि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षादेखि अवैध चोरीतस्करी नियन्त्रण तथा अवैध क्रियाकलाप रोकथाममा सशक्त बन्दै आएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टले सशस्त्रको नम्बर २ छिन्नमस्ता बाहिनीको नेतृत्व सम्हालेपछिका दिनमा मधेश प्रदेशमा सुधारका धेरै काम भएको तथ्यले नै पुष्टि हुन्छ ।

साम्प्रदायिक प्रदर्शन, बलात्कार, सीमापार अपराध, विपद् व्यवस्थापन तथा लागूऔषध नियन्त्रणलगायतका कामकारबाहीमा सशस्त्र प्रहरी बल नेपालले अन्य सुरक्षा निकाय तथा स्थानीय सरकारसँग समन्वय गरी परिचालनका क्षेत्रमा थप संयमित भएर काम गर्दै आइरहेको छ । संगठनको नीति निर्देशनलाई अक्षरशः पालन गर्दै मधेश प्रदेशस्थित जिल्लाहरूको सीमा सुरक्षामा थप सक्रिय भई परिचालन भएको आभास आम नेपाली सर्वसाधारणसम्म महसुस हुन थालेको छ ।
सशस्त्रले सीमा चिन्हहरूको डिजिटल रेकर्ड तथा भौतिक अवस्थाको अद्यावधिक गर्नुका साथै समकक्षी भारतीय सुरक्षा निकायसँग समन्वय गरी सीमा पिलरहरूको मर्मत सम्भार गर्दै आएको छ । दशगजा क्षेत्रको सुरक्षा, सीमा अतिक्रमण रोक, अतिक्रमित क्षेत्र खाली गराउने कार्यमा समकक्षीहरूसँग निरन्तर समन्वय गरी सहजता अपनाउँदै आएको छ ।

नेपाल–भारत खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन, सीमा अपराध नियन्त्रणमा मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालका इकाईहरू थप सक्रियताका साथ जुटेको छ ।
पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले झन्डै २७ करोड ८५ लाख रुपैयाँबराबरको अवैध किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेकट्रोनिक्स, हार्डवेयर, मोटरपाट्र्स तथा कस्मेटिकलगायतका सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले ती सामान ओसारपसारमा संलग्न १० करोड २२ लाख रुपैयाँभन्दा बढीको सवारीसाधन समेत नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ ।
त्यस्तै सोही अवधिमा ३० लाख भन्दा बढी रुपैयाँ बराबरको १ हजार १ सय क्यूफिट काठ बरामद गर्नुका साथै १ सय २ ग्राम चाँदी समेत बरामद गरेको छ । साथै उक्त कार्यमा संलग्न ८४ जना नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको जनाइएको छ ।
मधेश प्रदेशस्थित सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार कार्यलाई समेत सशस्त्र प्रहरी बल नेपालले कडाइ गर्दै आइरहेको छ । तीन महिना अवधिमा ब्राउन सुगर १ सय ९३ ग्राम, चरेश ९ किलो ५ सय ग्राम र गाँजा १ हजार ६ सय ६ किलो भन्दा बढी बरामद गरेको छ । त्यस्तै सो अवधिमा ३ वटा कटुवा पेस्तोल, २ थान सिक्सर २ थान भरुवा बन्दुक तथा सोको राउन्ड र बारुद समेत बरामद गरेको छ ।

सशस्त्र प्रहरी सीमा क्षेत्रमा हुने मानव बेचबिखनको आशंकामा २९ जना महिला र ३० जना पुरुषलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाएको छ ।
सशस्त्र प्रहरीले मधेश प्रदेशस्थित विभिन्न नदीजन्य ठाउँहरूमा उत्खनन गर्ने कार्यमा संलग्न २२ वटा ट्याक्टर, २६ वटा टिपर र २ वटा जेसीबी समेत नियन्त्रणमा लिएको छ । मनसुनको समय सुरु भएदेखि सशस्त्र प्रहरीले विपदमा परेका १५ पुरुष र १५ महिला गरी ३० जनालाई सकुशल उद्धार गर्न सफल भएको छ ।

विभिन्न घटनमा परेका २ सय ११ पुरुष र ६३ जना महिला गरी २ सय ७४ जनाको घाइते अवस्थामा उद्धार गरी उपचारको लागि विभिन्न अस्पताल पु¥याएको छ । सूचनाका आधारमा अवैध सामान बरामद गर्नका लागि बाहिनीमा सिनियर अधिकृतको कमान्डमा स्ट्राइकिङ टिम खटाइनुको साथै सीमाका गणहरूमा समेत सीमा इलाका अनुगमनको लागि डेडिकेटेड अधिकृत खटाई कार्य गरिएको छ । सीमा सुरक्षा र सहजीकरणतर्फ सशस्त्र प्रहरी बलले सीमावासीलाई राज्यको उपस्थितिको अनुभूति दिने गरी जनविश्वास बढाउने काममा जोड दिएको जनाइएको छ ।

जनतालाई दुःख नदिने र तस्करलाई सुख नदिने सशस्त्र प्रहरीको रणनीति अन्तर्गत मधेशमा वर्षौंदेखि चल्दै आएको तस्करी सञ्जाल भत्काउनमा मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरूमा कार्यरत कर्मचारीहरू एक ढिक्का भएर काम गरिरहेको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया