एमाले सचिवालय बैठक : पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा लैजाने निर्णय

लोकपथ
0
Shares

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

सोमबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिवेदनमा रहेका विवादास्पद विषयलाई सम्बोधन गर्दै त्यसलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो ।

बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डासमेत तय गरेको छ । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदनलगायत विषय समावेश गरिएका छन् ।

कार्यदलले प्रतिवेदन बुझाएसँगै त्यसको काम सकिएको भट्टले बताए । उनका अनुसार प्रतिवेदनमा रहेका सुझावलाई अनुसूचीका रूपमा केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछ ।

विशेष महाधिवेशन र नेतृत्व परिवर्तनका विषयमा अध्यक्षको विमतिबारे सोधिएको प्रश्नमा भट्टले ती विषयमा यसअघि नै सहमति भइसकेको र अहिले विवाद नरहेको बताए ।

२९ पृष्ठ लामो प्रतिवेदन परिमार्जनसहित पारित भइसकेकाले अब त्यसमा थप बहस आवश्यक नरहेको उनको भनाइ छ ।

केन्द्रीय कमिटीमा पार्टी पुनर्गठनका विषयमा केही नेताले धारणा राख्ने तयारी गरिरहेको भए पनि त्यसपछिको प्रक्रिया र छलफलका आधारमा आगामी रणनीति तय हुने भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?