काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका सदस्य तथा संसदीय दलका नेता उद्धव थापालाई पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाही गरेको छ ।
बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई प्रदेशसभा सदस्य पदबाट समेत मुक्त हुने गरी पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको हो । उनलाई पार्टी सदस्यताबाट समेत हटाइएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
केन्द्रीय अनुशासन समितिको सिफारिसमा राप्रपा विधानको धारा ३० (ड) र ३२ (ङ) बमोजिम थापामाथि कारबाही गरिएको हो ।
बागमती प्रदेश सरकार गठनका क्रममा पार्टीको निर्णय र पटकपटकको निर्देशनविपरीत नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको आरोप थापामाथि छ । सो विषयमा पार्टीले स्पष्टीकरण सोधे पनि उनले स्पष्टीकरण नदिएको राप्रपाले जनाएको छ ।
पार्टीको निर्देशनविपरीत सरकार गठनमा समर्थन गरेको विषयलाई गम्भीर अनुशासन उल्लङ्घनका रूपमा लिँदै थापालाई प्रदेशसभा सदस्यसमेत नरहने गरी कारबाही गरिएको राप्रपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया