यस्तो छ आजको पशुपतिनाथ क्षेत्रको सुरक्षा र ट्राफिक व्यवस्थापन

लोकपथ
133
Shares

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एवं दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरी ट्राफिक प्रहरी कार्यालयले सहज आवतजावतको प्रबन्ध मिलाएको हो ।

सुरक्षा तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन पशुपति क्षेत्रभर ४,२०० प्रहरी परिचालित छन् । त्यस्तै, ट्राफिक व्यवस्थापनलाई सहज बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष योजना लागू गरेको छ। भक्तजनलाई पूजा एवं दर्शन गर्न सहज होस् भन्ने उद्देश्यले ट्राफिक व्यवस्थापन चुस्त राखिएको छ।

पार्किङ व्यवस्थापन

दर्शनार्थीका सवारी साधनका लागि तिलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर, र गुहेश्वरी पारी करिडोर सडकमा पार्किङको व्यवस्था गरिएको छ । वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स, र खानेपानीका ट्याङ्करका लागि पार्किङ स्थान तोकिएको छ। प्रहरी बृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधन पार्किङ गरिनेछ ।

यातायात तथा वैकल्पिक मार्ग

भक्तजनका सवारी साधनलाई विभिन्न नाकाबाट छिर्ने गरी छुट्टाछुट्टै पार्किङ क्षेत्र तोकिएको छ । चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा नियमित सवारी सञ्चालनको व्यवस्था गरिएको छ। आवश्यकता परेको खण्डमा मात्रै डाइभर्सनको नीति अपनाइनेछ।
त्यस्तै तिनकुने-सिनामङ्गल, बौद्ध-गौरीघाट, पुरानोबानेश्वर-गौशाला, मित्रपार्क लगायतका क्षेत्रबाट आउने मालबाहक सवारी साधनलाई प्रतिबन्ध गरिएको छ।

बागमती करिडोर र जोरपाटी-चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ। भिडभाड धेरै भएपछि वैकल्पिक मार्ग प्रयोग गरिनेछ।

सुरक्षा निगरानी

सम्भावित चोरी तथा अन्य अपराध नियन्त्रण गर्न सादा पोसाकका प्रहरी समेत परिचालित छन्। ट्राफिक प्रहरीले सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?