काठमाडौंदेखि बारासम्मका १४ वटा डेरीमा अनुगमन : केहीलाई जरिवाना, केहीलाई निर्देशन

लोकपथ
7
Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगायतका निकायले देशका विभिन्न १४ वटा डेरी तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरुमा अनुगमन र कैफियत भेटिएपछि कारबाही गरेको छ ।

विभाग र सो मातहतका निकायहरुले बाराको निजगढमा रहेको निशा ट्रेडसलाई कारबाही गरेको छ ।

बजार अनुगमनका क्रममा विभिन्न खाद्य वस्तुहरु गुणस्तरहीन रहेको पाइएपछि निशा ट्रेडसलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

‘संयुक्त अनुगमन टोलीले उपभोक्ता हित संरक्षण ऐन, २०७५ बमोजिम रु पचास हजार (५०,०००) जरिवाना गरियो । उपभोग्य मिति समाप्त भएका विवरणमा उल्लेख भएका अन्दाजी मूल्य रु बिस हजार (२०,०००) बराबरको खाद्य पदार्थहरु जफत गरी नष्ट गरियो,’ विभागले भनेको छ ।

यसैगरी विभागले उक्त निकायलाई विभिन्न निर्देशन समेत दिएको छ ।

यस्तै विभागको टोलीले बाराकै तामागढी डेरीमा समेत अनुगमन गरेको छ । दुग्धजन्य खाद्य पदार्थ पनिर लेबल नलगाई उत्पादन गरी बिक्रीवितरण गरिरहेको पाइएपछि उक्त डेरीलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै लेवल नभएका ६ केजी पनिर अन्दाजी मूल्य ४५ सय बराबरको पनिर जफत गरी नष्ट गरिएको छ ।
यता बाराकै राधाकृष्ण डेरी उद्योग समेत कारबाहीमा परेको छ । सरसफाईको अवस्था सन्तोषजनक नभएको साथै दुग्धजन्य पदार्थ मोही लेवल नगलाई उत्पादन गरी बिक्री वितरण गरिरहेको पाइएपछि २० हजार जरिवाना गरिएको विभागले जनाएको छ ।

यता विभागको टोलीले काठमाडौंको नागार्जुन नगरपालिकामा रहेको देउराली स्वीट्सलाई समेत कारबाही गरेको छ । सरसफाइको अवस्था सामान्य रहेको लगायत ६ वटा बट्टा कृतिम खाद्य रंग भण्डारण स्थानमा रहेको पाइएको थियो । विभागको टोलीले देउराली स्वीट्सलाई कृतिम खाद्य रंगको अव्यवस्थित रुपले प्रयोग नगर्न निर्देशन दिएको र ६ बट्टा कृतिम खाद्य रंग र जेरी तयार गर्न राखिएको चास्नी नष्ट गरिएको छ । साथै थप अनुसन्धानका लागि प्रयोगशाला परीक्षण गर्न पसलबाट बिक्री हुने खुल्ला दुधको नमूना संकलन गरिएको विभागले जनाएको छ ।

विभागको अनुगमनमा पर्ने अन्य संस्थाहरुमा काठमाडौंको गोकर्णेश्वरमा रहेको खड्का डेरी एण्ड कफी सप, काठमाडौंको गोकर्णेश्वरमा रहेको श्री गणेश दुग्ध सागर, काठमाडौंकै गोकर्णेश्वरमा रहेको साझ दुध डेरी, ललितपुर महानगरपालिका वडा नं २३ मा रहेको एपि डेरी पसल रहेका छन् ।

यसैगरी ललितपुर महानगरपालिका २३ मा रहेको रोशनी डेरी, ललितपुर महानगरपालिका १५ मा रहेको संयुक्त डेरी एण्ड फुड्स प्रालि, काभ्रेको बेथानचोकमा रहेको मदानी डेरी प्रालि, काभ्रेको बनेपा नगरपालिकामा रहेको सर्वोत्तम डेरी फर्म, धादिङको धुनिबेसी नगरपालिकामा रहेको आरम्भ सप्लायर्स र धार्केको धुनिवेशी नगरपालिका वडा नं ८ मा रहेको आहाना फुड एण्ड बेभरेज प्रालिमा समेत अनुमगन गरेको थियो ।

आहाना फुडमा सरसफाइको अवस्था सामान्य पाइएको, भण्डारण कक्ष व्यवस्थित रहेको पाइएको, कीट नियन्त्रणको अवस्था प्रभावकारी रहेको पाइएको र उद्योगमा प्रशोधित दुध, पनिर र दहीको प्रशोधन भएको पाइएको छ । साथै थप अनुसन्धानका लागि प्रयोगशाला परीक्षण गर्न पसलबाट बिक्री हुने प्रशोधित दुधको नमुना संकलन गरिएको छ ।

विभागका अनुसार यी डेरीहरुको अनुगमन गत असोज २३ गतेदेखि २५ गतेसम्म गरिएको छ । चाडपर्वलाई लक्षित गरेर विभागले बजार अनुगमनलाई तिव्रता दिएको छ ।

यी विज्ञप्ति पढ्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?