बाढी प्रभावितसँग बिताएका ती दिनहरु : रेडक्रसको नेतृत्वले बुझ्नुपर्ने सत्य

मलाई छैन दशैँको उमंग, न शुभकामना दिन मन छ न ग्रहण गर्न नै

लोकपथ
7
Shares

रामजी पौडेल-

गत भदौ १० गतेको विनाशकारी बाढीले हाम्रो भूगोल मात्र तहसनहस पारेन, हजारौँ परिवारको संसार उजाड्यो ।

धेरैले ज्यान गुमाउनुपर्‍यो, दशौँ हजार बेपत्ता भए र अनगिन्ती परिवार आज पनि आफ्ना प्रियजन फर्किने आशामा दिन काटिरहेका छन् । बस्तीहरू उजाड छन्, घरबारविहीन परिवारहरू अस्थायी आश्रयमा छन् र पीडितका घाउहरू अझै आलै छन् । यो विपत्ति केवल भौतिक क्षतिको कथा होइन, मानवीय संवेदना, संस्थागत जिम्मेवारी र नेतृत्वको वास्तविक परीक्षा पनि हो ।

यस्तो पीडादायी परिस्थितिमा एउटा प्रश्न बारम्बार मनमा उठ्छ– विपत्तिका बेला मानवताको पक्षमा उभिनुपर्ने संस्थाहरूले आफ्नो दायित्व कति इमानदारीपूर्वक निर्वाह गरिरहेका छन् ? स्वयंसेवकको त्यागलाई कति सम्मान गरिएको छ ? र संस्थाको नेतृत्वले विपत्तिबाट सिक्नुपर्ने पाठ सिकिरहेको छ कि छैन ?

३५ दिनको सेवायात्रा र मेरो मानवीय दायित्व

विपत्तिको पहिलो दिनदेखि लगातार ३५ दिनसम्म आफ्नो क्षमताले भ्याएसम्म प्रभावित क्षेत्रमा निःस्वार्थ मानवीय सेवामा खटिएँ ।

आफ्नो घरपरिवार, व्यक्तिगत सुखसुविधा र थकानलाई पछाडि राखेर रेडक्रसको संस्थागत जिम्मेवारीलाई आत्मसात् गरेँ ।

जिल्ला रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरू दिनरात नभनी सेवामा खटिरहँदा म उनीहरूको सारथि बनेर उभिएँ ।

यो कुनै पदको प्रदर्शन थिएन, न त व्यक्तिगत प्रशंसा बटुल्ने अभियान । यो पीडित मानवताप्रतिको कर्तव्य थियो । आफ्नो जिल्लामा गर्नुपर्ने जिम्मेवारी पूरा गर्नु मेरो दायित्व थियो र मैले त्यही गरेँ ।

केन्द्रीय तहबाट अपमानजनक तथा प्रतिशोधपूर्ण व्यवहार भएको अनुभूति हुँदाहुँदै पनि मैले सेवाको बाटो छोडिनँ । जिल्ला तहमा क्रियाशील स्वयंसेवक तथा कर्मचारीसँग हातेमालो गर्दै मानवीय प्रतिकार्यको पहिलो र दोस्रो चरणमा सहभागी भएँ । किनकि मेरा लागि पदभन्दा ठूलो मानवीय जिम्मेवारी हो, व्यक्तिगत असन्तुष्टिभन्दा ठूलो पीडितको आवश्यकता हो ।

तर दुःखको कुरा, विपत्तिको घडीमा संस्थाभित्रै स्वयंसेवक र कर्मचारीको आत्मसम्मानमाथि प्रश्न उठ्ने व्यवहार हुनु आफैँमा गम्भीर विषय हो । संकटका बेला एकअर्काको मनोबल बढाउनुपर्ने हो, निराशा र अपमान थप्ने होइन ।

विपत्तिले जिल्ला र उपशाखाको महत्त्व प्रमाणित गर्‍यो

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिले जिल्ला तथा उपशाखाको संरचना र अस्तित्व कमजोर पार्ने वा समाप्त गर्ने आशयका रूपमा बुझिएको विधान संशोधनको प्रयास गरेको विषयले गम्भीर प्रश्न उठाएको थियो । रेडक्रस जस्तो स्वयंसेवामा आधारित संस्थामा स्थानीय संरचनाको भूमिका, अधिकार र संस्थागत अस्तित्वलाई कमजोर बनाउने कुनै पनि प्रयास संस्थाको मूल भावना र दीर्घकालीन हितको दृष्टिले पुनर्विचारयोग्य हुन्छ ।

भोटेकोसीको बाढीले यस विषयमा एउटा स्पष्ट सन्देश दिएको छ– विपत्तिको समयमा जिल्ला शाखा र उपशाखा किन आवश्यक छन् भन्ने कुरा भाषणले होइन, व्यवहारले प्रमाणित हुन्छ ।

विपत्ति भएको स्थानमा तत्काल पुग्ने, स्थानीय समुदायको वास्तविक आवश्यकता बुझ्ने, प्रभावित परिवारको विवरण संकलन गर्ने, उद्धार तथा राहत कार्यमा समन्वय गर्ने र स्वयंसेवक परिचालन गर्ने काम स्थानीय संरचनाकै सक्रियतामा सम्भव हुन्छ । भूगोल, समुदाय, स्थानीय नेतृत्व र जोखिमको अवस्थाबारे जिल्ला तथा उपशाखासँग भएको ज्ञानको विकल्प बाहिरबाट आउने निर्देशनले मात्र पूरा गर्न सक्दैन ।

यदि जिल्ला र उपशाखा संरचना प्रभावकारी नभएको भए, प्रारम्भिक दिनमा मानवीय सहायता कसरी परिचालन हुन्थ्यो ? स्थानीय समुदायसँग सम्बन्ध कसले स्थापित गर्थ्यो ? प्रभावित परिवारको वास्तविक अवस्था कसले बुझ्थ्यो ?

विपत्तिले प्रस्ट पारेको सत्य के हो भने जिल्ला र उपशाखा रेडक्रसका कमजोर कडी होइनन्, संस्थाका आधारस्तम्भ हुन् । तिनलाई कमजोर बनाउने होइन, अधिकार, स्रोतसाधन, क्षमता र उत्तरदायित्वसहित अझ सबल बनाउनु आजको आवश्यकता हो ।

प्रदेश संरचनाको उपेक्षा किन ?

नेपाल रेडक्रस सोसाइटीको प्रदेश संरचनालाई पनि यस प्रतिकार्यका क्रममा पर्याप्त संस्थागत महत्त्व नदिइएको भन्ने गुनासो र अनुभूति छन्। बागमती प्रदेशले आफ्नो क्षमताले भ्याएसम्म मानवीय सेवा, समन्वय र प्रभावित समुदायको सहयोगमा भूमिका निर्वाह गरेको छ। तर प्रदेश संरचनाको संस्थागत सहभागिता, निर्णय प्रक्रियामा प्रतिनिधित्व र जिम्मेवारीको स्पष्टताबारे प्रश्न उठ्नु स्वाभाविक हो ।

देशका विभिन्न भागबाट स्वयंसेवक परिचालन गर्ने, उनीहरूको बसोबास, आवागमन तथा अन्य व्यवस्थापनमा खर्च गर्ने काम भइरहँदा प्रदेश संरचनालाई समन्वय र परिचालनको प्रक्रियामा प्रभावकारी रूपमा किन सहभागी गराइएन ? प्रदेश संरचना नेतृत्वको अनुकूलतामा मात्र उपयोग हुने हो कि संस्थाको विधान र व्यवस्थाअनुसार स्वतन्त्र संस्थागत भूमिका निर्वाह गर्ने निकाय हो ?

प्रदेश संरचनासँग असहमति छ भन्दैमा त्यसको संस्थागत अस्तित्व र क्षमतालाई बेवास्ता गर्नु उचित हुँदैन । स्वयंसेवक परिचालन र खर्च व्यवस्थापनमा प्रदेशलाई सहभागी गराउँदा समन्वय सहज हुन सक्छ, दोहोरोपन घट्न सक्छ र स्थानीय आवश्यकताअनुसार स्रोतसाधन परिचालन गर्न सकिन्छ ।

संस्थागत सहभागिताबिना पारदर्शिता बलियो हुँदैन, पारदर्शिताबिना विश्वास टिक्दैन । त्यसैले प्रदेश, जिल्ला र उपशाखाबीच अधिकार, जिम्मेवारी र समन्वयको स्पष्ट व्यवस्था हुनुपर्छ । नेतृत्वलाई अनुकूल लाग्ने संरचनालाई मात्र सक्रिय राख्ने र अन्य संरचनालाई बेवास्ता गर्ने प्रवृत्तिले संस्थाको एकता बलियो बनाउँदैन ।

प्रतिकार्यको खर्च, नियुक्ति र खरिद प्रक्रियाबारे प्रश्न उठ्नु स्वाभाविक हो

भोटेकोसी बाढी प्रतिकार्यमा देशभित्र तथा विदेशबाट सहयोग आइरहेको छ ।

स्रोतसाधन जुटिरहेका छन् र विभिन्न निकायले मानवीय सेवाका लागि सहयोग गरिरहेका छन् । यस्तो अवस्थामा प्राप्त स्रोतको सदुपयोग, कर्मचारी नियुक्ति, खर्च प्रणाली, खरिद प्रक्रिया र निर्णय प्रक्रियामा पारदर्शिता हुनु झनै आवश्यक छ ।

प्रतिकार्यका क्रममा भएका नियुक्ति, खर्च तथा खरिदसम्बन्धी निर्णयहरू आवश्यकतामा आधारित थिए कि थिएनन् ? तिनको प्रक्रिया प्रचलित नीति, नियम र संस्थागत मापदण्डअनुसार पूरा गरिएको छ कि छैन ? खर्चको औचित्य, अभिलेख र प्रतिवेदन स्पष्ट छन् कि छैनन् ? सहयोगदाताले उपलब्ध गराएको स्रोत प्रभावित समुदायको हितमा प्रभावकारी रूपमा परिचालन भएको छ कि छैन ?

यी प्रश्न उठाउनु कसैप्रति पूर्वाग्रह राख्नु होइन । बरु मानवीय संस्थाको विश्वसनीयता जोगाउनु हो ।

विपत्तिका बेला छिटो काम गर्नुपर्ने बाध्यता हुन्छ । तर शीघ्रताको नाममा आवश्यक प्रक्रिया, अभिलेख, जवाफदेहिता र पारदर्शितालाई कमजोर बनाउन मिल्दैन ।

तत्कालीन निर्णयहरू पनि पछि परीक्षण गर्न सकिने गरी व्यवस्थित हुनुपर्छ । आज उठेका प्रश्नहरूको जवाफ तथ्य, अभिलेख र स्पष्ट प्रतिवेदनबाट दिन सक्ने व्यवस्था हुनु आवश्यक छ ।

सहयोगको प्रत्येक रुपैयाँ र प्रत्येक स्रोत अन्ततः पीडितको जीवन सहज बनाउन खर्च हुनुपर्छ । त्यसैले प्रतिकार्यमा भएका खर्च, नियुक्ति र खरिदसम्बन्धी विषयको निष्पक्ष समीक्षा र आवश्यक विवरण सार्वजनिक गर्ने व्यवस्था गरिनु संस्थाको हितमा हुन्छ । आज पारदर्शिताका प्रश्नलाई बेवास्ता गरियो भने भोलि तिनले संस्थाको साखमाथि थप गम्भीर प्रश्न उठाउन सक्छन् ।

नेतृत्वको व्यवहारले रेडक्रसको प्रतिष्ठा जोगाउनुपर्छ

सरकारबाट नियुक्त केन्द्रीय समितिका पदाधिकारी, सदस्य तथा उच्च तहका कर्मचारीहरू प्रभावित क्षेत्रमा पुग्नु आफैँमा सकारात्मक विषय हो । नेतृत्व प्रभावित समुदायको अवस्था बुझ्न, सहयोग जुटाउन र प्रतिकार्यलाई प्रभावकारी बनाउन पुग्नुपर्छ । तर नेतृत्वको उपस्थितिले स्थानीय तहमा सम्मान र विश्वास बढ्नुपर्नेमा केही भ्रमण तथा व्यवहारका सम्बन्धमा जिल्लामा रेडक्रसले शिर निहुराउनुपर्ने अवस्था सिर्जना भएको भन्ने गुनासाहरू पटकपटक सुनिएका छन् ।

सुविधासम्पन्न बसोबास, व्यवस्थापन र नेतृत्वको व्यवहारको तुलनामा प्रभावित क्षेत्रमा कठिन परिस्थितिमा खटिएका जिल्ला तहका स्वयंसेवक तथा कर्मचारीले न्यून सुविधा र कठिनाइमा काम गर्नुपरेको अनुभूति छ । यदि यस्तो असन्तुलन छ भने त्यसलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ ।

नेतृत्वको मूल्याङ्कन पद, सवारीसाधन, बसोबास वा सुविधाबाट हुँदैन । संकटको घडीमा उसले पीडितसँग कति निकटता राख्यो, स्थानीय स्वयंसेवकलाई कति सम्मान गर्‍यो, स्रोतसाधनको कति न्यायोचित परिचालन गर्‍यो र आफ्नो व्यवहारबाट संस्थाको प्रतिष्ठा कति उँचो बनायो भन्ने कुराले नेतृत्वको वास्तविक चरित्र देखाउँछ ।

केन्द्रीय तहका पदाधिकारी र कर्मचारीले जिल्ला तहमा खटिएका स्वयंसेवकको त्यागलाई बुझ्नुपर्छ । उनीहरूको अनुभव सुन्नुपर्छ । कठिन परिस्थितिमा सेवा गरिरहेका व्यक्तिको मनोबल कमजोर पार्ने होइन, उनीहरूको योगदानको कदर गर्नुपर्छ ।

रेडक्रसको नेतृत्व भनेको अधिकार प्रयोग गर्ने मात्र होइन, जिम्मेवारी वहन गर्ने पनि हो । पदले सम्मान माग्दैन, व्यवहारले सम्मान आर्जन गर्छ ।

रेडक्रस कुनै व्यक्तिको निजी सम्पत्ति होइन

रेडक्रस लाखौँ स्वयंसेवकको पसिना, त्याग र समर्पणबाट बनेको मानवीय अभियान हो । यो करोडौँ नागरिकको विश्वाससँग जोडिएको संस्था हो । यसको संस्थागत शक्ति कुनै एक समिति, पदाधिकारी वा कर्मचारीको इच्छामा सीमित हुँदैन ।

कहिलेकाहीँ पद र अधिकारले मानिसलाई आफूले गरेको निर्णय नै अन्तिम सत्य हो भन्ने भ्रम पैदा गर्न सक्छ। तर संस्थाको इतिहास, विधान, मूलभूत सिद्धान्त र स्वयंसेवकको योगदानभन्दा कुनै व्यक्ति ठूलो हुन सक्दैन ।

असहमति राख्ने स्वयंसेवकलाई विरोधी ठान्ने, प्रश्न उठाउनेलाई अपमान गर्ने वा संस्थागत निर्णयमा असहज आवाजलाई प्रतिशोधबाट जवाफ दिने प्रवृत्ति छ भने त्यसको अन्त्य हुनुपर्छ । आलोचना सधैँ शत्रुता हुँदैन, कहिलेकाहीँ आलोचना संस्थालाई गलत बाटोबाट फर्काउने आवश्यक चेतावनी पनि हुन्छ ।

त्यसैले मेरो आग्रह छ– रेडक्रसलाई व्यक्तिकेन्द्रित सोचबाट मुक्त राखियोस् ।

विधि, पद्धति, विधान र मानवीय मूल्यका आधारमा संस्था सञ्चालन गरियोस् । जिल्ला, उपशाखा र प्रदेश संरचनाको संस्थागत भूमिकालाई सम्मान गरियोस्। स्वयंसेवक तथा कर्मचारीको आत्मसम्मान सुरक्षित गरियोस् । प्रतिकार्यका निर्णय, खर्च र खरिद प्रक्रियामा जवाफदेहिता सुनिश्चित गरियोस् ।

पद अस्थायी हुन्छ, नेतृत्व परिवर्तन हुन्छस तर संस्थामाथि नागरिकले गरेको विश्वास जोगाउनु सबैको साझा दायित्व हो ।

यस वर्ष के दशैँ, के चाडवाड

यो असिम पीडाकाबीच दशैँसँगै चाडपर्वको आगमन भएको छ । पोहोर यतिबेलासम्म मनमा छुट्टै उमंग हुन्थ्यो, दशैँको प्लान हुन्थ्यो, पूराना साथीहरुसँगको भेटघाट र गफगाफ बाक्लिन्थ्यो ।

तर यो वर्ष मेरो मनमा दशैँको उमङ्ग छैन । उत्सव मनाउने, रमाइलो गर्ने र शुभकामना आदानप्रदान गर्ने चाहना पनि छैन । अरूका घरमा खुसी फर्किएको हेर्न चाहन्छु, तर पीडितका घरमा आँसु नसुक्दै आफ्नो खुसीको प्रदर्शन गर्न मेरो विवेकले अनुमति दिँदैन ।

त्यसैले यस वर्ष दशैँ नमनाउने निर्णय गरेको छु । दशैँका शुभकामना आदानप्रदान तथा यससँग सम्बन्धित उत्सवमूलक गतिविधिमा सहभागी हुने छैन । म सामाजिक मान्छे हुँ, राजनीतिक प्राणी पनि हुँ, त्यो भन्दा ठूलो म मानवीय प्राणी हुँ । यसपटकको दशैँमा कृपया मलाई शुभकामनाका शब्दहरु नपठाइदिनुहोला, किनकी मलाई शुभकामना ग्रहण गर्ने मनस्थिति नै छैन । यो कसैप्रतिको असम्मान होइन । यो मेरो व्यक्तिगत संवेदना, विवेक र पीडितप्रतिको ऐक्यबद्धताको निर्णय हो ।

यसपालि मेरो दशैँ टीका र जमरामा होइन, पीडितको पीडामा हुनेछ । मेरो समय, साथ र संवेदना प्रभावित परिवारसँग हुनेछ ।

उनीहरूको दुःख बुझ्न, सक्दो सहयोग गर्न र पुनःस्थापनाको यात्रामा साथ दिनु नै मेरा लागि यस वर्षको अर्थपूर्ण कर्म हुनेछ ।

मानवता रोइरहेको बेला उत्सवको प्रदर्शन गर्न सकिँदैन। पीडितका घाउ आलै हुँदा खुसीको अभिनय गर्न सकिँदैन ।

मलाई पदको मोह छैन, प्रशंसाको भोक छैन र कसैको दबाबमा आफ्नो विवेक बदल्ने इच्छा पनि छैन । मैले आफ्नो जिल्लाप्रतिको जिम्मेवारी निर्वाह गरेको छु। अब पनि जहाँ मानवीय सेवाको आवश्यकता हुन्छ, आफ्नो क्षमताले भ्याएसम्म खटिनेछु ।

रेडक्रसको वास्तविक शक्ति भवन, गाडी वा पदाधिकारीको सुविधामा होइन, संकटमा अरूको पीडा आफ्नो ठानेर दौडिने स्वयंसेवकको मनमा हुन्छ । त्यो मन दुखाउने होइन, सम्मान गर्ने संस्कृति निर्माण गरौँ ।

(भदौ १० पछि निरन्तर रेडक्रस स्वंयसेवकका रुपमा खटिएका रामजी पौडेलको अनुभवनमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?