काठमाडौं । दशैँ नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ । चाडपर्वका लागि लत्ताकपडा, खाद्यान्न र अन्य आवश्यक सामग्री खरिद गर्न बजारमा उपभोक्ताको चहलपहल बाक्लिएको हो ।
काठमाडौंका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धारा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर र पुतलीसडकलगायतका क्षेत्रमा दशैँको किनमेल गर्नेको भीड देखिएको छ ।
तर, बजारमा चहलपहल बढे पनि महँगीका कारण सर्वसाधारणलाई चाडपर्व मनाउन कठिन भइरहेको छ । उपभोक्ताका अनुसार गत वर्षको तुलनामा यस वर्ष लत्ताकपडासहित दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि चीनतर्फका दुई प्रमुख नाका अवरुद्ध हुँदा पनि बजारमा लत्ताकपडाको मूल्य बढेको हुनसक्ने उनीहरूको अनुमान छ ।
खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा न्यून आय भएका परिवारलाई दशैँको खर्च व्यवस्थापन गर्न थप कठिन भएको छ ।
काठमाडौं महानगरपालिका–३२ का शालिकचन्द्र शर्माले महँगी बढ्दै जाँदा चाडपर्व मनाउनसमेत समस्या हुन थालेको बताए ।
‘जिरा मसिनो चामलको भाउ एक बोरामै ३०० रुपैयाँ बढेको छ,’ उनले भने, ‘दशैँमा खानुपर्ने खसीको मासुको मूल्य पनि प्रतिकिलो ३०० देखि ४०० रुपैयाँसम्म बढेको छ । न्यून आय हुनेका लागि त दशैँ मनाउन पनि मुस्किल हुने देखिएको छ ।’
तिनकुनेकी स्मिता खत्री पनि यस वर्ष दशैँमा आफ्ना परिवारका सदस्यलाई नयाँ लुगा किनिदिने सोचमा थिइन् । लत्ताकपडाको मूल्य बढे पनि उनले जसोतसो आफ्ना तीन सन्तानका लागि नयाँ लुगा किनिसकेकी छन् ।
‘दशैँमा एकसरो लुगा त फेरिदिनुपर्यो नि,’ उनले भनिन्, ‘सीमित आयस्रोत हुनेलाई दशैँ त दशाजस्तै हुने रहेछ । नमनाएर पनि नहुने ।’
महँगीका कारण आम्दानी कम भएका परिवारलाई दशैँको खर्च जुटाउन थप कठिन भएको उपभोक्ताको गुनासो छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले यस वर्ष खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक सामग्रीको मूल्य उल्लेख्य रूपमा बढेको बताए ।
‘बजारमा सबैखालका खाद्यान्नको मूल्य बढेको छ,’ उनले भने, ‘अहिले ताजा तरकारी, फलफूलदेखि मासुजन्य पदार्थको मूल्यसमेत आकासिएको छ ।’
तिमल्सिनाले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले नियमित बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनका अनुसार आपूर्ति शृङ्खला नियमित राख्दै बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले सक्रिय भूमिका खेल्न आवश्यक छ ।
‘सरकारले आपूर्ति शृङ्खलालाई नियमित गर्ने र मूल्यवृद्धि नियन्त्रणमा हस्तक्षेप गरेर अघि बढ्नुपर्ने देखिएको छ,’ उनले भने ।
नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले चीनसँग जोडिएका रसुवा र तातोपानी नाका अवरुद्ध हुँदा सामान आयात गर्न असहज भएको बताए ।
‘चीनसँग जोडिएका नाका अवरुद्ध हुँदा व्यापारमा पनि ठूलो असर परेको छ,’ उनले भने, ‘चीनतर्फबाट दशैँलगायतका पर्वलाई लक्षित गरी ल्याउन लागिएका करिब पाँच अर्ब रुपैयाँ मूल्य बराबरका सामान नाकामै रोकिएका छन् ।’
यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।
विभागका महानिर्देशक रितेशकुमार शाक्यले दैनिक २५ देखि ५० वटा फर्म तथा कम्पनीको अनुगमन भइरहेको बताए । अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिने व्यापारी तथा व्यवसायीलाई कानुनी दायरामा ल्याउने काम भइरहेको उनको भनाइ छ ।
महानिर्देशक शाक्यले सबै वस्तु तथा सामग्री तोकिएको मूल्यमा बिक्रीवितरण गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया