२० पुष २०७६, आईतवार १८:०४

बाईक नाचेको नाच्यै, झन्डै मरिएन ! (यात्रा अनुभूति-भिडियोसहित)


प्रकाशित मिति : २० पुष २०७६, आईतवार १८:०४

काठमाडौं । ‘बड्डा नलडी त पुगिन्छ नि ? आकाशले पश्चिमेली लवजमा डराउँदै सोध्यो । आकाशसँग मेरो मित्रता मास्टर्स पढ्दै गर्दा भएको हो । उसले मलाई मेरो नामबाट भन्दा पनि बड्डा भनेर सम्बोधन गर्छ । बड्डा अर्थात् साथी रे ! उसको डर मत्थर पार्ने मसँग कुनै उपाय थिएन । ह्यान्डल कन्ट्रोल र भगवानसँग मनमनै गर्ने प्रार्थनाबाहेक ।

पुष १८ गते शुक्रवार काठमाडौं लगायत देशभरको मौसम खराब भएकाले चिसोले मुटु कामिरहेको थियो । मौसम यसै चिसो त्यसमा सिमसिमे पानीले वातावरणलाई झनै ओसिलो बनाइदिएको थियो । हामी रुझ्दै थियौं ।  म र साथी आकाश पर्यटन वर्षको पहिलो शनिवार आन्तरिक पर्यटक बनीटोपल्न युनिर्कन बाइकमा हुईंकिएका थियौं साँखु ।

बालाजु, सुकेधारा, चाबहिल, बौद्ध, जोरपाटी थली हुँदै हाम्रो रुट साँखुसम्म जाने थियो ।  धेरै दिनको बिजी सेड्युलबाट केही समय निकालेका हाम्रा लागि घुम्नु शब्दले मनमा काउकुती लगाइरहेको थियो ।  चिसो मौसमबाट बच्न न्यानो लुगा निकै भारी भएको थियो शरीरलाई । आकाश र म साँखुको यात्रामा निस्कियौँ ।

साँखु नेपालको पुरानो शहर हो । साँखु राजधानी काठमाडौंबाट ३० किलोमिटर उत्तरमा अवस्थित छ । साँखुमा हरेक वर्षको माघ महिनामा एक महिना लामो श्रीस्वस्थानी व्रत मेला लाग्ने गर्दछ । पौराणिक कालको शाली नदी यसै स्थानबाट बग्ने गरेको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक शाली नदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्ने गर्दछ । हातमा फूलपाती बोकेर ध्यानपूर्वक सुनेको स्वस्थानी कथाको एउटा महत्त्वपूर्ण धार्मिक स्थल थियो साँखुस्थित शालीनदी ।

हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मै हुने साँखु सडकमा शुक्रवारको वर्षाले गजगज हिलो थुपारिदिएको रहेछ । ३-४ कि मि बाटो पिच अनि फेरि ४-५ कि मि बाटो बाउसे गरेर रोप्नका लागि ठिक्क पारेका खेतका गरा जस्ता देखिन्थे । धत्  ! पोहोर साल ठ्याक्कै यही बेलामा एक विषयमा रिपोर्टिङका लागि जरसिंहपौवा जाँदा यही बाटो प्रयोग गरेको थिएँ । त्यो वेला पनि यस सडकको हाल यस्तै थियो । अहिले पनि । एक वर्ष भनेको सानो समय हो र यार ! मैले मुर्मुरिँदै बाईकको स्पीड घटाएँ ।

साथीले गुनासो गरेको भावमा भन्यो, ‘बल्ल घुम्न जान लागेको पनि यस्तो हालत भो यार !  उसको घुँडा भन्दा तलको भागलाई हिलोले ढाकिसकेको थियो । पुषको जाडोमा त्यसमाथि भ्रमण वर्ष सुरु भएको केही सदन भएको छैन राजधानीको हालत यस्तो देखेर हामी लाचार भयौँ । निशब्द भयौँ । ‘के बोल्ने ? कति सराप्ने ? कति लेख्ने ? कोहीसुन्ने होइनन् । यो वा त्यो बहानामा काम सार्नेहरु र जनप्रतिनिधि भन्नेहरुलाई बाइकमा लिफ्ट दिएर त्यही हिलाम्मे सडकमा पछार्नु जस्तो रिस उठ्यो,’ साथीले असल नागरिक हुनुको पीडा पोख्यो ।

म ‘हो’ मा ‘हो’ मिलाउँदै बाटोमा ध्यान केन्द्रित गर्दै थिएँ । मानौ यो यस्तो सडक हो, जहाँ सवारी चलाउनको लागि एकजनाको मात्रै बलबुतामा सम्भव नै छैन । किनकी बारम्बार पछाडि बसेको साथीले त्यो खाल्डामा चिप्लेला यताबाट हाल भनिदिनुपथ्र्यो वा स्लीप खान्छ है भनेर सावधानी अपनाउन भनिदिनुपथ्र्यो ।

दैनिक यो बाटो भएर हिँड्ने कति चालक सर्वसाधारण लडे होलान् ? बाटोकै कारण बिरुप भएका होलान् तर अहँ यहाँ कसैलाई कसैको मतलब छैन । चिप्लेर लडिएला झैँ लाग्ने यो सडकमा लडेर मरिएला कि भन्ने डर । साथीसँग वात मार्दै मैले बाटोको बीचमा भएको एउटा ठुलो खाल्डो छलें । यस्तो अप्ठ्यारो  बाटो कटेपछि बड्डा बोल्यो, ‘भूकम्पमा त जसो तसो बाँचिएको थियो तर यो सडकले स्वर्ग देखाउला जस्तो छ ।’

स्थानीय वाक्कै थिए सडकदेखि । न हिउँदमा सुख न बर्खामा ।  केही अगाडी वि सं २०७६ श्रावन १३ सोमवार जोरपाटी देखि साँखुसम्मको सडक विस्तारको काम अलपत्र पारी स्थानीयको जनजीवन प्रभावित गरेको र स्वास्थ्यमा खेलवाड गरेको भन्दै स्थानीयहरुले सो क्षेत्रबाट निर्वाचित सांसद माधव कुमार नेपाललाई कालो झण्डा देखाएका थिए । भूमिसुधार मन्त्री पद्मा अर्याललाई ‘नालायक मन्त्री राजीनामा दे’ भन्दै कालो झण्डा देखाएका थिए ।

सरकारले सडक पूर्वाधारको लागि वर्षैपिच्छे विनियोजन गरेको बजेट कहाँ जान्छ थाहा छैन । काम हुँदैन । ढिलासुस्ती त्यस्तै,  ठेकदारको लापरवाहीका कारण ५ वर्ष लगाएर बनेको पुल गुणस्तरहीन भएका कारण भत्काइन्छ । काम प्रभावकारी हुँदैन ।

राजधानीको बाटोको यस्तो हालत देख्दा पर्यटकले के सोच्लान् ?  त्यसमाथि अबको ५ दिनपछि श्री स्वस्थानीको व्रतकथा सुरु हुँदैछ । लाखौँ भक्तजन , तिर्थयात्री र पर्यटक पुग्छन् त्यहाँ तर सडकको यो हविगत छ ।

काठमाडौं उपत्यकामा गत आर्थिक वर्षमा २ सय ५४ जनाको सडक दुर्घटनामा परी ज्यान गएको छ । ३ सय १७ जना गम्भीर घाइते भएका छन् भने ५ हजार ८ सय ९० जना सामान्य घाइते भएको तथ्यांक छ ।

यो अवस्था कहिलेसम्म ?  रिसको पारो तातेको बेला बटारेको स्पीड फेरि १० मा झारें ।

१४ कात्तिक बिहीवारर सिन्धुपाल्चोकको गोर्खुभञ्ज्याङबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५०७० नम्बरको बस साँखुको जंगलमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो भने ६५ घाइते भएका थिए ।

रमाइलो हुन्छ भन्ने आशा निराशामा परिणत हुँदै र फ्रेस बन्न गएको मान्छे थकित भएर पुगियो । भोलिपल्ट बिहानै उठेर शालीनदी दर्शन ग-यौं। शालीनदीको तटमा बसेर भलाकुसारी ग-यौं । शनिवार बिहानै थौरै घामको दर्शन पनि पाइएको थियो ।

बदाम खाँदै सुन्तला पनि छोडायौं । शालीनदीको किनारमा बिताएको त्यो छोटो समयले अघिल्लो दिनको थकान र रिस दुवैलाई साम्य पारिदियो । सोचें, यतिको कष्ट झेल्दै आउँदा त यति शान्ति मिल्छ यो ठाउँमा झन् बाटो सहज हुने हो भने त कस्तो रमाइलो हुन्थ्यो होला यो यात्रा !

केहीबेर शालीनदीको तटमा बसेर उही नियति दोहोर्याउँदै हामी फर्कियौँ ।

 

कहिले बन्ला चाबहिल देखि साँखुसम्म जाने बाटो ???

कहिले बन्ला चाबहिल देखि साँखुसम्म जाने बाटो ???Lokpath TVKathmandu

Lokpathさんの投稿 2020年1月5日日曜日

यो पनि पढ्नुहोस् :
मन्त्रमुग्ध पार्ने घान्द्रुक गाउँ : रिफ्रेस हुन जानैपर्ने ठाउँ

जिन्दगीकै अविस्मरणीय त्यो पाँच सेकेन्ड..!

रारा तालको बेहिसाब सौन्दर्य (फोटोफिचर)

Tags:

प्रतिक्रिया दिनुहोस