सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : शंकर पोखरेल

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारका गतिविधिले मुलुकको स्वाधीनता, संसदीय प्रणाली र लोकतान्त्रिक भविष्यमाथि गम्भीर चुनौती खडा गरेको आरोप लगाएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रचार तथा प्रकाशन विभागको विभागीय जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले चुनावपछि राजनीतिक अस्थिरता अन्त्य हुने अपेक्षा गरिए पनि सरकारको कार्यशैलीले जनमानसमा थप सन्देह र आशंका पैदा गरेको बताएका हुन् ।

उनले प्रधानमन्त्रीले राष्ट्रिय हित र स्वाधीनताको पक्षमा दृढतापूर्वक पैरवी गर्न नसकेको टिप्पणी गर्दै सीमा समस्या र स्थानीय जनताको असन्तोषप्रति सरकार संवेदनशील नभएको आरोप लगाए । वर्षौंदेखि नेपालीले भोगचलन गर्दै आएको जमिनसम्बन्धी विवादमा सरकारले छिमेकी मुलुकको पक्षपोषण गरेको जस्तो देखिएको उनको भनाइ थियो ।

महासचिव पोखरेलले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू एकमुष्ट खारेज गर्ने निर्णयले संसदीय प्रणालीको मर्ममाथि प्रहार गरेको दाबी गरे। सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था हो भन्ने लोकतान्त्रिक मान्यतालाई बेवास्ता गरिएको भन्दै उनले संविधान, कानुन र स्थापित परम्पराको पालनामा सरकार चुकेको आरोप लगाए ।

नियुक्ति र छनोट प्रक्रियामा पारदर्शिता तथा निष्पक्षताको सुनिश्चितता नभएको उल्लेख गर्दै उनले सत्ता साझेदार दलहरूभित्रैबाट सरकारको कार्यशैलीप्रति प्रश्न उठिरहेको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन एमाले प्रतिबद्ध रहेको उल्लेख गर्दै पोखरेलले प्रणालीलाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे ।

कार्यक्रममा महासचिव पोखरेलले प्रचार तथा प्रकाशन विभागका नवनियुक्त प्रमुख निरज आचार्य लाई पदभार हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?