काठमाडौं । मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०८३–०८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बारबरको बजेट ल्याएको छ ।
सोमबार बसेको मधेश प्रदेशसभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले चालु आर्थिक वर्षको बजेटभन्दा कम बजेट प्रस्तुत गरेका हुन् ।
मधेश प्रदेशले चालु आर्थिक वर्षको लागी ४६ अर्व ९८ करोड ३३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
मधेश प्रदेशले आगामी वर्षको लागी चालुतर्फ ३५ दशमलव ६४ प्रतिशत र पुँजीगततर्फ ६४ दशमलव ३६ प्रतिशत रकम विनियोजन गरेको छ ।
चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ र पुँजीगत तर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री भट्टराईले बताउनु भयो । प्रदेशले संघिय सरकारको अनुदानमा निर्भर रहेर घाटाको बजेट निर्माण गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि मधेश प्रदेशले आन्तरिक राजस्व ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ । यस्तै १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।
यसबाहेक अधिकांश रकम सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान र राजश्वबाट खर्च गरिनेगरि बजेट बनाइएको छ । सङ्घीय सरकारबाट राजश्व बाँडफाँट बापत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री भट्टराईले बताए । त्यस्तै, सङ्घीय सरकारबाट वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ प्राप्त हुने उहाँले बताए ।
चालु आर्थिक वर्षको ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ बाँकी नगद मौज्दातबाट आगामी आर्थिक वर्षको खर्च बेहोरिने उनको भनाई छ । अर्थमन्त्री भट्टराईले आर्थिक वर्षमा सङ्घीय सरकारबाट अनुदानमार्फत १७ अर्ब ५९ करोड ८७ लाख प्राप्त हुने अनुमान गरेको बताए । समानीकरण अनुदान बापत ७ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ, सशर्त अनुदान बापत ८ अर्ब १० करोड २८ लाख रुपैयाँ, समपूरक अनुदान बापत ९४ करोड ७४ लाख रुपैयाँ र विशेष अनुदान बापत ७० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै मधेश प्रदेशले चालू आर्थिक वर्षमा कुल विनियोजित बजेटको ५९ दशमलब १५ प्रतिशत मात्रै खर्च हुने अनुमान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया