रारा तालको बेहिसाब सौन्दर्य (फोटोफिचर)

बिप्लव /अनिता- 

“सुन्दरताको भण्डार सारा
के खनाया यसै रारामा
स्वर्गकी की अप्सरा”

वि सं २०२० साल चैत महिनामा मुगुको रारा ताल पुगेका तत्कालीन राजा महेन्द्रलाई राराले यतिसम्म लोभ्यायो कि उनले राराको सुन्दरतालाई स्वर्गकी अप्सरा उपनाम दिए । रारामा आगन्तुकलाई स्वागत गर्ने जो कोहीले राराको बारेमा वर्णन गर्दा सबैभन्दा पहिले सुनाउने किस्सा हो यो ।

हुन पनि नीलो मसी पोखिएजसरी विराजमान छ, रारा । सफा, सुन्दर र निर्मल अनुहारमा गाढा नीलो आकृति लिएको रारामा वरिपरिका सल्ला, धुपीका रुखहरूको बिम्ब कुनै ‘प्रोफेसनल आर्टिस्ट’को क्यानभास भन्दा कम्ता छैन । सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर टुक्रुक्क बसेजस्तो दृश्यले हरेकलाई मन्त्रमुग्ध पार्छ ।

कर्णालीको मुगुमा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा टुसुक्क बसेको छ । रारा वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सल्लाघारीको बीचबाट निकै सुन्दर गोरेटो निर्माण गरिएको छ ।

घोडाबाट जानेहरु पनि यही मार्ग प्रयोग गर्छन् । यो मार्ग निकुञ्जको बीचमा अवस्थित कोणधारी जंगलको बीचमा छ । चराको चिरबिर, सुरम्य आवाज, झ्याउँकिरीको आवाजले मदहोस पार्छ जोकोहीलाई । राराको छेवैबाट बनाइएको यो बाटोबाट जंगलमा अनेकन फूलहरु मुस्कुराइरहेको देख्दा कसको मन प्रफुल्लित नहोला ?

दिनभरिमा आफ्नो रुप फेरिरहने रारा ताल हेर्न स्वदेशी तथा विदेशी पर्यटकको ओइरो लाग्छ । राराको छेउमा फैलिएको कोणधारी वन, घाँसेमैदान, फराकिला ठूला चौर, नीलो आकाशमा लुकामारी खेलेका सेता बादलका चोइटा, सिरसिर बतास, हावाको झोक्काले राराको पानी सल्बलाएको दृश्य, उत्तरतर्फ लस्करै देखिने चाँदीझैँ चम्केका हिमशृंखला बादलको घुम्टोमुनि मनोरम दृश्यले यसरी मोहित पार्छ कि घण्टौँ बितिजान्छ तर आँखाहरु अझै तिनैलाई हेर्न लालायित हुन्छन् । यो आनन्द लुट्न एकपटक रारा जाने कि ?

उचाई : २,९७२ मि (समुद्री सतहबाट)
लम्बाई : ५ किलोमिटर
चौडाई : ३ दशमलव २ किलोमिटर
गहिराई : १ सय ६७ मिटर
क्षेत्रफल : १० दशमलव ८ वर्ग किलोमिटर ।

तस्वीर : बिप्लव जमकटेल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?