सशस्त्रका निवर्तमान आईजीपी अर्यालले एसपी प्रसाईंमाथिको कारबाही फिर्ता लिएको खुलासा, पौडेल ‘एक्सन’ मा

राशनमा घोटाला गर्ने दुई जना गुल्मपतिलाई फिर्ता बोलाइयो

लोकपथ
868
Shares

काठमाडौं । सशस्त्र प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) राजु अर्यालले आफू अवकाशमा जानुअघि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम प्रसाईंलाई दिइएको विभागीय कारबाही फुकुवा गरेको पाइएको छ । 

सशस्त्र प्रहरी बल नम्बर ३ बाहिनीले आफूमातहतको नम्बर १५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम प्रसाईंलाई गत असार अन्तिम साता विभागीय कारबाही गरेको थियो । त्यसबेला सो बाहिनीको बाहिनीपतिमा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अन्जनीकुमार पोखरेल थिए । पोखरेल अहिले एआईजीमा बढुवा भइसकेका छन् भने उनले हिजो सोमबारदेखि मानवस्रोत विभागको जिम्मेवारी बहन गरेका छन् । 

सशस्त्र प्रहरी नियमावलीको परिच्छेद १३ को ‘सजाय र पुनरावेदन’ को नियम ११५ मा ‘उचित र पर्याप्त कारण भएमा सशस्त्र प्रहरी कर्मचारीलाई देहायबमोजिमको विभागीय सजाय गर्न सकिन्छ’ भनिएको छ । जसअन्तर्गत सामान्य सजायमा शारीरिक थकाई (फटिक) सजाय गर्ने वा  गारद नजरबन्दमा राख्ने, नसिहत दिने, चालचलनसम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्ने, बढीमा पाँच तलब वृद्धि रोक्का गर्ने, बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने, खाइपाइ आएको बढीमा पाँच तलब वृद्धि घटुवा गर्ने, हालको पदको ज्येष्ठतासहित खाइपाइ आएको सुरु स्केलमा घटुवा गर्ने र तल्लो पदमा घटुवा गर्ने उल्लेख छ । 

परिच्छेद १३ कै नियम ११५ मा ‘विभागीय सजायको आदेश दिने र पुनरावेदन सुन्ने अधिकारीबारे उल्लेख छ । जसमा नियम ११० को खण्ड (क) को उपखण्ड (१), (२) वा (३) को बमोजिमको सजायको पुनरावेदन सुन्ने अधिकारीमा सशस्त्र प्रहरी महानिरीक्षक उल्लेख छ । सोहीबमोजिम तत्कालीन महानिरीक्षक अर्यालले प्रसाईंमाथिको कारबाही फिर्ता लिएका हुन् । 

लोकपथ डटकमसँगको कुराकानीमा तत्कालीन गणपति प्रसाईंले भने आफूमाथि भएको कारबाहीको फुकुवाबारे अनभिज्ञता प्रकट गरे । उनले भने, ‘यस विषयमा मलाई थाहा छैन, हेडक्वाटरमै सोध्नु होला ।’ साथै उनले लोकपथले विगतमा आफूमाथि भएको कारबाहीबारे समाचार लेख्दा नसोधेकोमा गुनासो पनि गरे । ‘पहिला त्यस्तो समाचार लेख्नुभयो, एकपटक पनि सोध्नु भएन, अहिले चाहिँ किन सोध्नुभएको ?’ उनले भने ।

(हेर्नुस् पहिलाको समाचारको लिंक)

गणपतिको कार्यकाल सकिएको अन्तिम दिन सशस्त्रका एसपी प्रसाईंलाई दिइयो नसियत, बिदाबारीसमेत हुन पाएनन्

संयोग यस्तो पर्न गएको छ कि, जुन दिन (सोमबार) पोखरेलले अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवापछि मानवस्रोत विभागको जिम्मेवारी बहन गरे, त्यसको केही घण्टापछि मात्रै सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका नाममा ‘अत्यधिक मात्रामा कर्मचारीहरू बिदामा छाडेर राशनमा बदमासी गरेको पुष्टि भएपछि सल्यान गुल्मका गुल्मपति र जाजरकोट गुल्मका गुल्मपतिलाई कमान्डबाट फिर्ता बोलाइएको’ समाचार सम्प्रेषण गरियो । 

प्रवक्ता भट्टले पठाएको समाचारमा भनिएको छ, ‘केही दिनअगाडि ती दुई गुल्मका गुल्मपति डीएसपीहरुले गुल्ममा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू अत्यधिक मात्रामा बिदा छाडेको भन्ने उजुरी सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा परेपछि प्रधान कार्यालयबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको कमान्डमा छानबिन टोली त्यस ठाउँमा खटिएको थियो । सोही छानबिन टोलीको प्रतिवेदनको आधारमा उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित कानुन निर्देशनालयमा हाजिर गराइएको थियो । उनीहरूलाई कानुन निर्देशनालयले विभागीय कारबाही गरेको छ ।’

यद्यपि, प्रवक्ता भट्टले पठाएको समाचारमा भने दुवै गुल्मको गुल्मपतिको नाम उल्लेख गरिएको छैन । समाचारमा नाम उल्लेख नगरिएको भए पनि फिर्ता बोलाइएका सल्यान गुल्मका गुल्मपति भरतबहादुर कुँवर र जाजरकोट गुल्मका गुल्मपति सुजन थापा हुन् । 

यसले वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेल र मानवस्रोत विभागका एआईजी पोखरेल संगठनको हितविपरीत जाने जोसुकै कर्मचारीमाथि कडा ‘एक्सन’ मा जाने संकेत दिएको छ । निवर्तमान महानिरीक्षक अर्यालले विभागीय कारबाही भोगेका सशस्त्र प्रहरी उपरीक्षक प्रसाईंको कारबाही फिर्ता  लिएको भए पनि वर्तमान नेतृत्व भने सुरुवाती दिनदेखि नै एक्सनमा जान खोजेको देखिन्छ । 

अब जाऊँ सशस्त्र प्रहरी उपरीक्षक प्रसाईंलाई विगतमा के कारणले कारबाही गरियो भन्नेतर्फ । नम्बर ३ बाहिनीका तत्कालीन बाहिनीपति पोखरेलले बाहिनीमा प्राप्त उजुरी र त्यसपछि बाहिनीले गरेको छानबिनमा काभ्रे गणका तत्कालीन गणपति प्रसाईंले सशस्त्र प्रहरी बलको आचरणविपरीत प्रशस्तै त्रुटि गरेको पुष्टि भएपछि उनलाई नसिहत दिएका थिए । तत्कालीन गणपति प्रसाईंका विषयमा उजुरी परेपछि नम्बर ३ बाहिनीका तत्कालीन बाहिनीपति पोखरेलले उनलाई सोधपुछका लागि केही दिनअघि बाहिनी कार्यालयमा तानेका थिए । साथै उनीमाथि परेको उजुरीलाई लिएर छानबिनका लागि बाहिनी कार्यालयबाट टोली नै पठाएको थियो । सो टोलीले गणपति प्रसाईंले रासनका लागि ६० प्रतिशत कर्मचारीलाई ‘आउट’ छाडेको, सशस्त्र प्रहरी कर्मचारीलाई तुच्छ व्यवहार गरेको, इन्द्रावती र रोशीका क्रसर व्यवसायीसँग सम्बन्ध राखेर रकम असुली गरेको बाहिनी कार्यालयलाई रिपोर्ट गरेको थियो । अहिले जाजरकोट र सल्यानका गुल्मपतिमाथि लगाइएको मुख्य आरोप पनि रासन घोटाला नै हो । सोही काण्डमा उनीहरूमाथि अहिले विभागीय कारबाही हुनु र रासन घोटालासहित अनेक काण्डमा मुछिएका प्रसाईंको कारबाही भने तत्कालीन महानिरीक्षकले फिर्ता लिनुमा तादात्म्य नमिलेको पनि जनाइएको छ । 

सशस्त्र प्रहरीमा नसिहत दिइएका कर्मचारीलाई एक वर्ष विदेश तालिममा मौका दिइँदैन । यसैगरी एक वर्ष बढुवा र कमान्डको मौका पनि दिइँदैन । यो भनेको कुनै पनि कर्मचारीलाई ‘ब्ल्याक लिस्ट’ मा राख्नु जस्तै हो । साथै जागिर खाउन्जेल वृत्ति विकासमा यो धब्बा लागिरहन्छ । यो अवस्थामा तत्कालीन महानिरीक्षक अर्यालले प्रसाईंमाथिको कारबाही किन फिर्ता लिए भन्ने प्रश्न पनि अहिले उठेको छ । 

 एक वर्ष काभ्रे गणको नेतृत्व गरेका प्रसाईंको सरुवा झापास्थित पाथीभरा जवान तालिम शिक्षालयमा भएको थियो । सशस्त्र मुख्यालयले गत २०८२ असार ८ गते नै उनीसहित २३ एसपीको सरुवा गरेको थियो । सो मितिमा सरुवा गरिएको भए पनि साउन १ गतेको हाराहारीमा उनीहरू आ–आफ्नो जिम्मेवारी बहन गर्न गएका थिए । तर नम्बर ३ बाहिनीले गरेको कारबाहीका कारण तत्कालीन गणपति प्रसाईं आफू कार्यरत काभ्रे गणमा गएर बिदाबारी पनि हुन पाएका थिएनन् । उनलाई बाहिनीबाटै झापास्थित पाथीभरा जवान तालिम शिक्षालय जान बाहिनीले निर्देशन दिएको थियो । 

सशस्त्र प्रहरी बल सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका एसपी प्रसाईंको अक्षम्य गल्तीकै कारण गत २०८१ साल असोज २८ गते उनीमातहतको विपद् व्यवस्थापन बेस आईटी पार्क पनौतीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षीय दिलबहादुर बडुवालको निधन भएको थियो । 

गत २०८१ असोज १० र ११ गते भारी वर्षा र कटानले काभ्रे जिल्लाका विभिन्न स्थानमा ठूलो क्षति पु¥याएको थियो । सो क्षतिको अवलोकन र बाढी, पहिरो पीडित नागरिकको अवस्था हेर्न तत्कालीन गृहमन्त्री रमेश लेखक जाने भएपछि एसपी प्रसाईंले अस्पतालमा उपचार गराइरहेका बडुवाललाई डिस्चार्ज गर्न लगाएर डिउटीमा पठाएका थिए । त्यसबेला उनी निमोनियाले ग्रस्त थिए । बिरामी हुँदाहुँदै जबरजस्ती डिउटीमा पठाइएका बडुवालको स्वास्थ्य त्यसपछि भने झनै बिग्रियो । उपचारकै क्रममा असोज २८ गते उनले प्राण त्यागेका थिए । 

विवादित र सन्की स्वभावका प्रसाईंलाई कमान्डमा जहाँ गएपनि एउटा न एउटा उपद्रो गरिहाल्ने अधिकृतका रुपमा पनि चिन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?