आजको मौसम : धेरै क्षेत्रमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना

लोकपथ
98
Shares

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा सोमबार अधिकांश क्षेत्रमा बदली भई वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरी नेपालको तराई भू–भाग नजिक पुगेकाले वर्षा हुने प्रणाली थप सक्रिय बनेको हो ।

हाल देशभर अधिकांश क्षेत्रमा बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि पानी परिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा पनि यस्तै मौसमी गतिविधि देखिने महाशाखाले जनाएको छ ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?