२५ करोडको अवैध डलर तस्करीका फरार थुनुवा कुसाङ लामा पुनः पक्राउ

लोकपथ
294
Shares

काठमाडौं । विदेशी मुद्राको अवैध तस्करी र राजश्व छली सम्बन्धी मुद्दाका फरार थुनुवा ‘फुच्चे’ भन्ने कुसाङ लामालाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

२५ करोडभन्दा बढी रकमको अवैध विदेशी विनिमय मुद्रासहित पक्राउ परेका उनी जेलमा रहेकै समयमा जेन जी आन्दोलनका क्रममा फरार भएका थिए ।

बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लामालाई काठमाडौंको नारायणटार क्षेत्रबाट पक्राउ गरिएको हो । लामा यसअघि २५ करोडभन्दा बढी नेपाली रुपैयाँ बराबरको डलर र युरो तस्करी गरी चीन लैजान लाग्दा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले टोखाबाट पक्राउ गरी राजश्व अनुसन्धान विभागमा बुझाएको थियो । त्यसपछि उनीमाथि मुद्दा दायर भएको थियो ।

लामा त्यसभन्दा अगाडि ७ किलो सुन तस्करीमा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन तथा प्रदर्शनको क्रममा केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलबाट भागेका लामा लुकीछिपी बसेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहीबार गोकर्णेश्वर नगरपालिका–५ नारायणटारबाट पक्राउ गरेको हो । पक्राउ परेलगत्तै उनलाई केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरत कुमार थापा क्षेत्रीले लोकपथलाई बताए ।

को हुन् कुसाङ लामा ?

४३ वर्षीय कुसाङ लामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध बस्दै आएका थिए । उनी ‘फुच्चे’ नामले परिचित छन् ।
लामाको आपराधिक इतिहास लामो छ । २०७३ पुस १३ गते उनी ७ किलो सुनसहित कलंकीबाट पक्राउ परेका थिए । सोही मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७४ असार २५ मा उनलाई दोषी ठहर गरी ५ वर्ष कैद सजाय सुनाएको थियो । सो सजाय भुक्तान गरी केही कैद कट्टासहित २०७८ मा कारागारबाट रिहा भएका उनी पुनः अवैध कारोबारमा सक्रिय भएका थिए ।

२५ करोड बराबरको डलर र युरोसहित कसरी पक्राउ परेका थिए लामा ?

चीनको केरुङ नाका हुँदै ठूलो परिमाणमा विदेशी मुद्रा तस्करी गर्न लागिएको सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्याले सक्रिय भएको थियो । २०८१ चैत ४ गते सोमबार राति लामा ना ७ ख १६५२ नम्बरको कन्टेनर ट्रक चलाएर काठमाडौंको टोखा क्षेत्रबाट केरुङतर्फ जाँदै गरेको अवस्थामा डीएसपी अनिल कुमार घिमिरे नेतृत्वको टोलीले पक्राउ गरेको थियो ।

प्रहरीले सुरुमा सामान्य खानतलासी गर्दा केही नभेटिए पनि चालकको व्यवहार शंकास्पद देखिएपछि ट्रकलाई कार्यालयमा ल्याई विस्तृत जाँच गरिएको थियो । जाँचका क्रममा ट्रकको ड्राइभर बस्ने क्याबिनको माथिल्लो भागमा फल्स बटम (नक्कली तल्लो भाग) बनाई लुकाइएको अवस्थामा ठूलो परिमाणको अमेरिकी डलर र युरो फेला परेको थियो ।

कति परिमाणको मुद्रा बरामद भएको थियो ?

त्यतिबेला प्रहरीले कुसाङले चलाएको ट्रकबाट अमेरिकी डलर १०० दरका ३ हजार ११९ थान र ५० दरका १७९ थान गरी कुल ३ लाख २० हजार ८५० डलर तथा ५०० दरका युरो ११ थान, २०० दरका ४८० थान, १०० दरका ४ हजार १४८ थान र ५० दरका १७ हजार १७७ थान गरी कूल १३ लाख ७५ हजार १५० युरो बरामद गरेको थियो ।

उक्त दिनको विदेशी विनिमय दर अनुसार उक्त रकम नेपाली रुपैयाँ २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँ बराबर रहेको थियो ।

यो पनि…

सुन तस्करीमा ५ वर्ष जेल बसेका ड्राइभर : २५ करोडभन्दा बढी अवैध रकमसहित फेरि समातिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?