सशस्त्रका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस !

काठमाडौं । निलम्बनमा परेका सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । गत असोज १९ गते निलम्बनमा परेका एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस भएको हो ।

एआईजी दाहाल निलम्बनमा परेसँगै सरकारले सशस्त्र प्रहरीका अर्का एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समिति गठन गरेको थियो । मानवस्रोत विभागमा कार्यरत एआईजी पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार समितिले बिहीबार नै प्रतिवेदन गृह मन्त्रालय बुझाइसकेको छ । समितिलाई तीन दिनको समय दिइएको थियो ।

एआईजी दाहालले सशस्त्र प्रहरी नियमावली–२०७२ विपरीतको काम गरेको समितिको निष्कर्ष छ । नियमावलीको दफा ११० मा सजायसम्बन्धी व्यवस्था छ । त्यसको (क) मा सामान्यस सजाय राखिएको छ भने (ख) मा विशेष सजायको प्रावधान छ । विशेष सजायमा भविष्यमा सहकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने र भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने भनिएको छ ।

‘यो दफालाई उल्लेख गरेर प्रतिवेदन मन्त्रालयमा पुगेको छ, के कारबाही हुन्छ भन्ने मन्त्रालयबाटै निर्णय हुने कुरा हो,’ सशस्त्र प्रहरी उच्च स्रोतले भन्यो, ‘प्रतिवेदनमा उहाँसँग सम्बन्धित समग्री विषयवस्तु राखिएका छन् ।’

जाँचबुझ समितिले एआईजी दाहालसँग बयान लिएको थियो । बयानमा दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग निकट मानिएका बिचौलिया इनम सापकोटासँग संवाद हुने गरेको स्वीकार गरेको स्रोतको भनाइ छ । दाहाल र इनम दुवैजना झापाका हुन् । यस्तै, पूर्वप्रधानन्यायाधीश जबरा र दाहाल नातामा ससुरा र ज्वाइँ हुन् ।

उता, एआईजी दाहाल र इनमबारे भएको कुराकानीको विवरण प्रहरी प्रधान कार्यालयले सशस्त्रको जाँचबुझ अधिकृतलाई उपलब्ध गराएको थियो ।

एआईजी पोखरेल नेतृत्वको समितिको बयानमा एआईजी दाहालले चिनजान र जिल्लावासी भएको हुनाले ह्वाट्स एप र मोबाइल नम्बरमा कुरा हुने गरेको स्वीकार गरेको जनाइएको छ । ह्वाट्स एपमा एआईजी दाहालले इनमलाई प्रधानमन्त्री बालेन्द्र शाहको ‘लोकेसन’ बारे पनि जानकारी दिएको पुष्टि भएको जनाइएको छ ।

पूर्वप्रधानन्याधीश चोलेन्द्रले इनमलाई प्रयोग गरेर सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका दीपक भट्ट र सुलभ अग्रवालको मुद्दामा चलखेल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली जान लाग्दा असोज १४ गते इनम पक्राउ परेका थिए । इनममाथि जिल्ला प्रहरी परिसर काठमाडौंले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्रीको मुभमेन्टबारे सूचना दिएको पुष्टि भएसँगै दाहाललाई बर्खास्तको तयारी गृह मन्त्रालयले गरिरहेको छ । ‘देशको कार्यकारी प्रमुखको मुभमेन्टबारे अनधिकृत व्यक्तिलाई सूचना दिएको पुष्टि भएकाले बर्खास्तकै तयारी छ,’ स्रोतले भन्यो । 

दाहालको एआईजीको चार बर्से पदावधि असोज २७ गते सकिँदै थियो । सशस्त्र प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुसार उनको एक वर्ष म्याद थपका लागि सशस्त्र मुख्यालयले गृह मन्त्रालयमा पत्राचारसमेत गरिसकेको थियो ।  

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) को सिफारिसमा नेपाल सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) र डीआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका एआईजी÷डीआईजीको पदावधि चार वर्षको रहेको छ । तर, नियमावलीको दफा ६५ कै (ग) को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) को सिफारिसमा नेपाल सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) र डीआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ ।

२०७९ साल असोज २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवासँगै दाहाललाई सशस्त्र प्रहरी सीमा विभागमा पदस्थापना गरिएको थियो । २०७९ साल असोज ६ गते बसेको बढुवा सिफारिस समितिको बैठकले उनलाई एआईजीमा सिफारिस गर्ने निर्णय लिएको थियो ।

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

चोलेन्द्र प्रकरणमा ‘चेन अफ कमान्ड’ तोडेको भन्दै सशस्त्रका एआईजी दाहाललाई स्पष्टीकरण सोधियो, बर्खास्त हुनेसम्मको चर्चा

सशस्त्रमा एआईजी वंशीराज दाहाल निलम्बित

सशस्त्रका एआईजी दाहालको म्याद थपका लागि मुख्यालयद्वारा गृह मन्त्रालयमा पत्राचार

एआईजीको पदावधि तीन वर्ष राखिएकोमा सशस्त्रमा चर्काे असन्तुष्टि, एआईजी दाहालमाथि चलखेल गरेको आरोप








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?