सुन तस्करीमा ५ वर्ष जेल बसेका ड्राइभर : २५ करोडभन्दा बढी अवैध रकमसहित फेरि समातिए

चीनबाट सुन ल्याउन लगिँदै थियो २५ करोडभन्दा बढी रकमको डलर र युरो

गुड्नु छ रोडमा, कमाउनु छ नोटमा
जिन्दगीको भारी बोक्नु छ, चोटै चोटमा ।

यो साहित्य वा सायरी हो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिसरमा राखिएको कन्टेनरको पछिल्लो भागमा लेखिएको । साबिकको अपराध महाशाखा भनिने अपराध अनुसन्धान कार्यालयमा हिजो राति मात्रै यो कन्टेनर ल्याइएको थियो । कन्टेनरसहित यसका चालक कुसाङ लामालाई समेत पक्राउ गरिएको थियो ।

कन्टेनर अर्थात् ट्रकको साहित्यमा लेखिएको जस्तै कुसाङलाई पनि नोटमा कमाउनु परेको थियो, त्यो पनि डलर र युरोमा । धेरै कमाउने लोभमा कुसाङ ट्रक लिएर काठमाडौंबाट डलर र युरोको भारी बोकेर नोट कमाउन रसुवागढीतर्फ जाँदै थिए । तर उनले रोडमा गुड्नसम्म भ्याए पनि नोटमा कमाउन भने भ्याएनन् । बरु अब फेरि एक पटक चोटैचोटको भारी बोक्नुपर्ने अवस्था आइलागेको छ ।

किनभने कुसाङले काठमाडौंबाट तस्करी गरेर चीनतर्फ लैजाँदै गरेको नेपाली रुपैयाँ २५ करोडभन्दा बढी हुने रकम काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरे नेतृत्वको प्रहरी टोलीले गए राति ११ बजे टोखाको झोरबाट नियन्त्रणमा लियो ।

कन्टेनरको ड्राइभर बस्ने सिटको ठिक माथि नोटभित्र फल्स बटन बनाएर नेपालबाट तस्करी गरी लैजाँदै गरेको ठुलो परिमाणको डलर र युरोसहित प्रहरीले कुन्साङलाई नियन्त्रणमा लियो र कन्टेनरसहित कार्यालयमा ल्यायो ।

त्यो सूचना …
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एउटा सूचना आयो, सुन तस्करीका लागि नेपालबाट ठुलो परिमाणमा डलर चीन लैजान लागिएको छ । सूचनासँगै केही सुराक आए पनि कहाँबाट, कसरी र कसले लैजाँदैछ भन्ने थाहा थिएन । यद्यपि प्रहरी टोली सूचना संकलनमा केन्द्रित भयो ।

शङ्कित व्यक्तिको खोजी गर्दै जाँदा सोमबार ना७ख १६५२ नम्बरको कन्टेनर वरपर चिनिया व्यक्तिहरूको चहलपहल देखियो । प्रहरीले शङ्का गरे पनि प्रमाण भने थिएन । यद्यपि प्रहरीले त्यो कन्टेनरलाई निगरानीमा राखिरह्यो ।

सोमबार राति उक्त कन्टेनर टोखा हुँदै झोरतर्फ अगाडि बढ्यो । यता काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरे नेतृत्वमा दुई इन्स्पेक्टरसमेत सोहीतर्फ मोडिए ।

डिएसपी अनिल घिमिरे

कन्टेनर झोरमा पुगेपछि प्रहरीले चालकलाई रोकेर सामान्य खानतलासी गर्दै सोधपुछ गर्‍यो । तत्काल केही भेटिएन । तर सोधपुछकै क्रममा चालक अलि डराएको जस्तो देखिएपछि प्रहरीलाई थप शङ्का लागेर चालकसहित कन्टेनरलाई कार्यालयमै ल्याइयो । त्यसपछि कन्टेनरको थप खानतलासी गर्दा ड्राइभरको ठिक माथि डोनटमा फल्स बटन बनाएर तस्करी गरी लैजाँदै गरेको अवस्थामा अमेरिकी डलर ३ लाख २० हजार ८५० तथा १३ लाख ७५ हजार १५० युरो भेटियो । यी दुवै रकमको सटही दर अनुसार आजको नेपाली रुपैयाँ २५ करोड १९ लाख २४ हजार रुपैयाँ हुन आउँछ ।

कुसाङ यसअघि पनि सुन तस्करीमा संलग्न भरिया

कन्टेनर चालकका रूपमा पक्राउ परेका कुसाङ यसअघि पनि सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेका व्यक्ति रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताए । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामा २०७३ पुसमा अवैध सुन तस्करीमा संलग्न रहँदा पक्राउ परेका थिए । कुसाङले केरुङ नाकाबाट तस्करी गरी काठमाडौं ल्याउँदै गरेको ७ केजी सुन उनले चलाएको कन्टेनरमा फेला परेको थियो । २०७३ साल पुस १३ गते उनलाई ७ केजी सुनसहित पक्राउ गरी राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको थियो । उक्त कसुरमा उनी दोषी ठहर भई ५ वर्ष जेल सजाय काटेर निस्किएका थिए । तर त्यसपछि फेरि उनी कन्टेनर चालकको आवरणमा सुन र डलरको तस्करीमा संलग्न रहेको पाइएको छ ।

प्रहरीले कुसाङलाई पक्राउ गर्दा उनले लुकाई छिपाई चीनतर्फ लैजाँदै गरेको १०० दरका ३ हजार ११९ थान र ५० दरका १७९ थान अमेरिकी डलर बरामद भयो । त्यसै गरी कुसाङले लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा ५०० दरका युरो ११ थान, २०० दरका ४८० थान, १०० दरका ४ हजार १४८ थान र ५० दरका १७ हजार १७७ थान युरो बरामद भएको छ ।

सुन तस्करीसँग सम्बन्धित रकम

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठुलो परिमाणमा बरामद गरेको अवैध डलर र युरो सुन तस्करीसँग जोडिएको हुन सक्ने आशङ्का गरेको छ । चालक कुसाङ लामाले प्रहरीलाई दिएको प्रारम्भिक बयान र प्राप्त सूचना अनुसार यताबाट चिनिया पक्षले डलर र युरो लगेर उताबाट सुन किनेर ल्याई बेच्न खोजेको बुझिएको छ । चिनिया तस्कर समूहले यसभन्दा अगाडि पनि सुन ल्याएको हुनसक्ने भन्दै त्यस विषयमा थप अनुसन्धान हुने र गिरोहसम्म नै पुग्ने लक्ष्य लिइएको प्रहरीको दाबी छ ।

प्रहरीले मङ्गलवार नै बरामद भएको डलर र युरो तथा तस्करीमा प्रयोग भएको कन्टेनर र त्यसका चालकलाई राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोकको जिम्मा लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?