बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजारभन्दा बढीको उद्धार

लोकपथ
0
Shares

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट एक हजारभन्दा बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

उद्धार गरिएकामध्ये ७० जना विदेशी नागरिक रहेका छन् । बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा रहेका नागरिक फसेका थिए । उनीहरूको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको शर्माले बताए ।

उनका अनुसार बाढी आएको पहिलो दिन आइतबार ९६ जनाको उद्धार गरिएको थियो । सोमबार ३२१, मङ्गलबार १८६ र बुधबार ४४१ जनाको उद्धार गरिएको हो ।

उद्धारसँगै प्रभावित क्षेत्रमा राहत वितरणको काम पनि तीव्र पारिएको छ । सरकार तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार र जेनेरेटरलगायत सामग्री वितरण भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

बाढीले सडक सञ्जालसँगै पदमार्गमा समेत क्षति पुर्‍याएकाले उद्धार तथा राहत वितरणका लागि हेलिकोप्टर प्रयोग गर्नुपरेको उनले जानकारी दिए ।

‘राहत वितरण गर्नका लागि पनि हेलिकोप्टरकै प्रयोग भइरहेको छ । यताबाट उद्धार गर्न जाने हेलिकोप्टरले राहतका सामग्री लैजाने र उताबाट आउँदा मानिसलाई उद्धार गरेर ल्याउने गरेका छौँ,’ उनले भने ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढी प्रभावित क्षेत्रमा प्रतिकार्यलाई तीव्रता दिएको छ । रेडक्रसका महामन्त्री ऋषि खनालले बाढीबाट भएको क्षतिको आकलन गर्दै तत्काल प्रतिकार्यका लागि स्वयंसेवक परिचालन गरिएको र गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउने काम भइरहेको जानकारी दिए ।

उनका अनुसार बाढी गएको सूचना प्राप्त हुनासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपुर पूर्व र नवलपुर पश्चिमका स्वयंसेवक परिचालन गरिएको थियो । उनीहरूले प्रभावित क्षेत्रमा पूर्वसूचना प्रवाह गर्नुका साथै प्रतिकार्यका काम गरिरहेका छन् ।

‘बाढी गएको सूचना प्राप्त गर्नासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपुर पूर्व र पश्चिमका स्वयंसेवकलाई परिचालन गर्‍यौँ । उहाँहरूले पूर्वसूचना प्रवाहित गर्नुभयो । प्रतिकार्य जारी छ,’ खनालले भने ।

रेडक्रसले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाली सेनासँगको समन्वयमा प्रभावित क्षेत्रमा त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट र डिग्निटी किटलगायत गैरखाद्य सामग्री पठाइरहेको जनाएको छ । अस्पताल सञ्चालन गर्न सकिने दुईवटा ठूला टेन्टसमेत प्रभावित क्षेत्रमा पुर्‍याइएको खनालले बताए ।

बाढीबाट भएको क्षतिको अध्ययन गर्न विज्ञ जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिएको र आवश्यक थप गैरखाद्य सामग्री सरकारसँगको समन्वयमा पठाउने तयारी भइरहेको उनले जानकारी दिए । प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउन रेडक्रसका स्वयंसेवक खटिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?