जितसँगै एट्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लियो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित हात पारेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले रियल भालाडोलिडलाई १–० गोल अन्तरले हराएको हो ।

जितसँगै एट्लेटिको मड्रिडले महत्वपूर्ण तीन अंक बटुलेको छ । जितसँगै एट्लेटिको तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका भिटोलोले ८१ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण तीन अंक दिलाए ।

डिएगो कोस्टाको उपलब्ध गराएको पासमा सहि पोजिसनमा नरहेका गोलकिपर जोसे एन्टोनियो कारोको फाईदा उठाउँदै भिटोलोले गोल गरेका थिए । एट्लेटिकोले दर्शन बिहिन घरेलु मैदानमा पहिलो पटक खेलेको हो ।

जितसँगै एट्लेटिकोले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई बलियो बनाएको छ । उसले ३० खेलबाट ५२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । भालाडोलिड ३३ अंक सहित तालिकाको १५ औं स्थानमा छ ।

अन्य खेलमा लेभान्तेले स्प्यानियोललाई ३–१ ले हराउँदा एट्लेटिको बिल्बाओले रियल बेटिसलाई १–० ले पाखा लगायो । अर्को खेलमा गेटाफे र ईबरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?