नेप्सेमा ७.३८ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

लोकपथ
0
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा गिरावट आएको छ । बिहीबार सामान्य अंकले बढेको नेप्से परिसूचक शुक्रबार ७.३८ अंकले घटेको हो ।

शुक्रबार १३ वटा उपसमूहमध्ये बैंकिङ र म्युचुअल फण्ड समूहको शेयर मूल्य मात्रै बढेको छ । बाँकी ११ वटा उपसमूहको मूल्य घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह १.३९ प्रतिशतले घटेको छ ।

नेप्से घटे पनि शुक्रबार कारोबार रकम भने सामान्य बढेको छ । बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँको शेयर कारोबार भएकोमा शुक्रबार ३ अर्ब ८८ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज ३५२ वटा कम्पनीका १ करोड ६ लाख २ हजार कित्ता शेयर ३९ हजार ९६६ पटक किनबेच भएका छन् ।

शुक्रबार दोल्ती पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर मूल्य ५.१४ प्रतिशतले बढेको छ। त्यस्तै, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य पनि ४ प्रतिशतभन्दा बढीले बढेको छ ।

यता मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाइ मूल्य सबैभन्दा धेरै ८.५० प्रतिशतले घटेको छ। पाल्पा सिमेन्ट इन्डस्ट्रिजको शेयर मूल्य पनि करिब ६.५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ । बैंकको २० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकको करिब १५ करोड रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको ११ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?