काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी हुनुपर्ने बताएका छन् । उनले सबै मतदाताले कुनै अवरोधबिना मतदान गर्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग गरेको छलफलमा बोल्दै प्रचण्डले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनबारे विभिन्न गुनासा आउने गरेको बताए । आगामी निर्वाचनमा यस्ता समस्या दोहोरिन नदिन आयोगले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
विगतमा कतिपय उम्मेदवारले आफ्नो मत हराएको, अपेक्षा गरेभन्दा फरक मतपरिणाम आएको र मतपेटिका ओसारपसार गर्दा उम्मेदवारका प्रतिनिधिलाई सहभागी नगराइएको जस्ता गुनासा गरेको उनले स्मरण गराए । त्यसैले निर्वाचन प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउनुपर्ने उनले बताए ।
प्रचण्डले विगतको निर्वाचन सामान्य अवस्थामा नभएको उल्लेख गर्दै लोकतन्त्रको निरन्तरता र संविधान कार्यान्वयनका लागि राजनीतिक दल तथा नेताहरूले महत्वपूर्ण भूमिका खेलेको बताए । निर्वाचनमा जित र हारको मात्र नभई लोकतन्त्रको संस्थागत विकासमा दलहरूले गरेको योगदानको पनि मूल्यांकन हुनुपर्ने उनको भनाइ थियो ।
निर्वाचनको समयतालिकाबारे उनले संविधान र कानुनअनुसार निर्वाचन गराउनुपर्ने बताए । निर्वाचन आयोगले प्रस्ताव गरेको स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने समयतालिका उपयुक्त देखिएको उनले बताए । यद्यपि, यस विषयमा पार्टीभित्र थप छलफल गरेर अन्तिम धारणा बनाउने उनको भनाइ थियो ।
उनले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार दिनुपर्ने विषयलाई विशेष प्राथमिकता दिए । शान्ति सम्झौतापछि पहिलो संविधानसभाको निर्वाचनकै समयदेखि आफूले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्ने आवाज उठाउँदै आएको उनले बताए ।
विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन प्राविधिक र कानुनी पक्षमा अध्ययन गर्नुपर्ने प्रचण्डले बताए । यसका लागि धेरै नेपाली रहेका देशका सरकारसँग नेपालले द्विपक्षीय वार्ता गर्नुपर्ने र निर्वाचन आयोगले आवश्यक सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, निर्वाचन दुई चरणमा गर्ने विषयमा पनि आयोगको प्रस्ताव अध्ययन गरेर पार्टीभित्र छलफलपछि निर्णय लिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया