काठमाडौं । इरानले अमेरिकालाई आफ्ना सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ ।
युद्ध र शान्तिबीचको अनिश्चित अवस्था लामो समयसम्म स्वीकार नगर्ने स्पष्ट पार्दै इरानले आफूविरुद्ध कुनै पनि नयाँ आक्रमण भए कडा प्रतिकार गर्ने जनाएको छ ।
इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेबीले बिहीबार इरान सबै प्रकारका सैन्य परिस्थितिको सामना गर्न तयार रहेको बताएका छन् ।
पछिल्लो द्वन्द्वपछि इरानको सैन्य क्षमता थप विस्तार भएको र अमेरिकी सेनाका गतिविधिमाथि निरन्तर निगरानी भइरहेको उनको दाबी छ ।
‘हामी न युद्धको अवस्था स्वीकार गर्छौं, न त युद्ध र शान्तिबीचको अनिश्चित अवस्था । युद्धको विषय एकपटक र सधैँका लागि टुङ्ग्याउनेछौँ। यसको निर्णय युद्धमैदानबाट हुनेछ वा अमेरिकाले इरानका सर्त स्वीकार गर्नुपर्नेछ,’ उनले भने ।
मोहेबीका अनुसार १२ दिने युद्धपछि इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणालीलाई थप बलियो बनाएको छ । यस क्रममा स्वदेशमै कम्तीमा तीनवटा नयाँ प्रतिरक्षा प्रणाली विकास गरिएको उनले जानकारी दिए। ती प्रणाली घरेलु आवश्यकताका लागि पर्याप्त हुनुका साथै निर्यातसमेत भइरहेको उनको दाबी छ ।
इरानले चार हजार ५०० किलोमिटरसम्म मार हान्न सक्ने क्षेप्यास्त्र क्षमता प्रदर्शन गरिसकेको उल्लेख गर्दै उनले आवश्यक परे अमेरिकी सैन्य अखडालाई समेत निशाना बनाउन सक्ने चेतावनी दिए ।
उनले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र पर्सियन खाडीमा अमेरिकी नौसैनिक उपस्थितिमा कमी आएको दाबी पनि गरे। युद्धअघि खाडी क्षेत्रमा करिब ४० अमेरिकी युद्धपोत रहेकामा अहिले कुनै पनि नरहेको उनको भनाइ छ ।
अमेरिकी विमानवाहक जहाज र अन्य युद्धपोतलाई क्षेत्रबाट ५०० देखि ७०० किलोमिटर टाढा राखिएको उनले बताए । त्यस्तै, अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको भण्डारसमेत घटेको उनको दाबी छ ।
अमेरिकाले पुनः आक्रमण गर्न सक्ने सम्भावनालाई इरानले गम्भीर रूपमा लिएको बताउँदै मोहेबीले अमेरिकी सैनिकको तैनाथी, विमानको गतिविधि र सैन्य योजनामाथि निगरानी भइरहेको जानकारी दिए ।
‘हाम्रोविरुद्ध शत्रुले जस्तोसुकै कारबाही गरे पनि त्यसको जवाफ कम्तीमा तीन गुणा बढी हुनेछ,’ उनले चेतावनी दिए ।
इरानविरुद्ध आक्रमण गर्न आफ्नो भूभाग प्रयोग गर्न दिने कुनै पनि देश प्रतिशोधको निशानामा पर्न सक्ने उनले बताए। त्यस्तै, इरानका बाँध तथा नागरिक पूर्वाधारमाथि आक्रमण भए त्यसको पनि कडा जवाफ दिइने उनको भनाइ छ ।
अमेरिकाले स्थलमार्गबाट आक्रमण गर्ने वा हेलिकप्टरमार्फत सैन्य छापा मार्ने सम्भावनालाई समेत उनले अस्वीकार गरे । यसै वर्ष फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानका विभिन्न सहरमा संयुक्त आक्रमण गरेपछि इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडालाई क्षेप्यास्त्र तथा ड्रोनमार्फत निशाना बनाएको थियो ।
अप्रिल ८ मा युद्धविराम लागू भए पनि त्यसपछि जुन १८ मा भएको समझदारीअनुसार आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवासम्बन्धी अन्तिम सम्झौताका लागि तय गरिएको वार्तामा उल्लेखनीय प्रगति हुन सकेको छैन ।
बढ्दो तनावबीच इरानले वर्तमान अवस्थालाई स्थायी शान्तिका रूपमा स्वीकार नगर्ने स्पष्ट पारेको छ । अमेरिकाले आफ्ना सर्त स्वीकार नगरे पुनः सैन्य द्वन्द्व हुन सक्ने इरानको चेतावनीले मध्यपूर्वको तनाव थप चर्किने संकेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया