एम्बुलेन्स चालकको ‘टाउको फुटाउने’ गाउँपालिका अध्यक्ष पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

गाउँपालिकाकै एम्बुलेन्स चालकमाथि कुटपिट गरेको आरोपमा गाउँपालिका अध्यक्ष शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहीबार सामान्य विषयमा विवाद हुँदा शाहीले चंखेली गाउँपालिका–४ का पृथ्वीबहादुर विष्टमाथि हातपात गरेका थिए । दुई पक्षीय विवाद हुँदा गाउँपालिका अध्यक्ष शाही आफैँ हातपातमा उत्रिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी जंगबहादुर सिंहले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार एम्बुलेन्स चालक विष्ट पारिश्रमिक माग्दै मदिरा सेवन गरेर गाउँपालिका पुगेका थिए । सो क्रममा दुई पक्षबिच केहीबेर भनाभन र त्यसपछि हात हालाहाल भयो ।

झडपमा परी चालक विष्टको टाउकोमा गम्भीर चोट लागेको र स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि उनलाई नेपालगञ्ज लगिएको सूचना अधिकारी सिंहले बताए ।

‘हिजो सामान्य कुराबाट सुरु भएको विवादले उग्र रुप लिँदा घटना भयो, घाइतेलाई अहिले नेपालगञ्जमा उपचारका लागि राखिएको र अवस्था सुधार भइरहेको छ,’ सिंहले लोकपथसँग भने ।

त्यसो त घटनापछि स्थानीयहरुले पालिका घेराउ गरेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पालिका अध्यक्ष सिंहलाई हिजो राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

‘हिजो राति नै उहाँलाई नियन्त्रणमा लिएर हामीले राखेका छौँ । पीडित पक्षले गाउँपालिका अध्यक्षले नै ढुंगाले हानेर टाउको फुटाएको भन्ने आरोप छ,’ सिंहले भने, ‘यद्यपि अहिलेसम्म कुनै जाहेरी भने आएको छैन ।’

घटनाबारे दुवै पक्षसँग छलफल गरेर आवश्यक अनुसन्धान भइरहेको सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?