काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन खुलाएको छ ।
विश्वका विभिन्न देशका विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग सम्बन्ध विस्तार गर्न त्रिविले इच्छुक स्थायी प्राध्यापकहरूबाट आवेदन माग गरेको हो ।
विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले हालै स्वीकृत ‘त्रिविको अन्तर्राष्ट्रियकरणसम्बन्धी निर्देशिका, २०२६’ अनुसार आवेदन आह्वान गरेको जनाएको छ ।
उपकुलपतिबाट नियुक्त हुने यो पद स्वयंसेवी तथा मानार्थ हुनेछ। नियुक्त हुने व्यक्तिको कार्यकाल सुरुमा दुई वर्षको हुनेछ ।
कन्ट्री फोकल पर्सनले सम्बन्धित देशका विश्वविद्यालयसँग भएका पुराना समझदारीपत्र (एमओयू) सक्रिय बनाउने, संयुक्त अनुसन्धान तथा विद्यार्थी र प्राध्यापक आदानप्रदान कार्यक्रमलाई प्रवर्द्धन गर्ने जिम्मेवारी पाउनेछन् ।
त्यस्तै, अनुसन्धानका लागि आर्थिक स्रोत खोज्ने र विदेशी विद्यार्थीलाई त्रिविमा अध्ययनका लागि आकर्षित गर्न आवश्यक सहजीकरण गर्ने काम पनि उनीहरूको हुनेछ ।
त्रिविका अनुसार इच्छुक स्थायी प्राध्यापकले आगामी मंसिर १० गते (२५ नोभेम्बर २०२६) भित्र अनलाइन गुगल फारममार्फत आवेदन दिन सक्नेछन् ।
आवेदनसँगै आफ्नो अन्तर्राष्ट्रिय अनुभव, व्यक्तिगत विवरण (सीभी) र आगामी दुई वर्षमा गर्ने कामको स्पष्ट कार्ययोजना पेस गर्नुपर्नेछ ।
प्राप्त आवेदनमध्ये अन्तर्राष्ट्रिय अनुभव, सम्बन्धित देशका संस्थासँगको पूर्वसम्पर्क र शैक्षिक सहकार्य विस्तार गर्न सक्ने क्षमताका आधारमा उम्मेदवार छनोट गरिने त्रिविले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया