त्रिविको शैक्षिक गुणस्तर सुधार गर्न सबैमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

लोकपथ
0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा त्रिविको शैक्षिक अवस्था सुधार, अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन र पठनपाठनलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो ।

छलफलमा त्रिविका उपकुलपति प्राडा भोला थापा, शिक्षाध्यक्ष प्राडा अञ्जना सिंह, रजिष्ट्रार सहप्राडा रविन्द्र शिवाकोटी, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका सहसचिवद्वय जयराम अधिकारी र श्रीप्रसाद भट्टराई तथा विश्वविद्यालयका विभिन्न संकायका डीनहरूको सहभागिता थियो ।

छलफलमा त्रिविको संस्थागत पहिचान र ब्रान्ड स्थापित गर्ने, विद्यार्थीको शैक्षिक क्षमताका आधारमा कोटा निर्धारण गर्ने तथा नयाँ शैक्षिक कार्यक्रम सञ्चालन र सम्बन्धन वितरणलाई व्यवस्थित बनाउने विषय उठाइएको थियो ।

त्यस्तै, सम्बन्धन वितरणमा संख्याभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्ने, उच्च शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्नुपर्नेमा जोड दिइएको थियो ।

शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शैक्षिक गुणस्तर सुधारका लागि विद्युतीय हाजिरी ९ई–एटेन्डेन्स० प्रणाली लागू गर्नुपर्ने बताए । उनले त्रिविसँग सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशाला अनिवार्य हुनुपर्ने धारणा राखे ।

उनले विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, कलेजहरूलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुपर्ने र शैक्षिक सत्रलाई व्यवस्थित बनाउनुपर्ने बताए । साथै, त्रिविको जग्गा फिर्ता ल्याउने विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको र नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको काम अघि बढाइएको जानकारी गराइएको थियो ।

त्रिविका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै त्रिविलाई उत्कृष्टताको केन्द्र ९सेन्टर फर एक्सिलेन्स० का रूपमा विकास गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको बताए ।

उनले नेपालको उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरी विस्तृत कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी समग्र लगत तयार गर्नुपर्ने बताए । यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उनको भनाइ थियो ।

शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?