चार महिनामा सरकारले कति खर्च गर्‍यो, कति उठायो राजस्व ?

लोकपथ
0
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी र खर्च लगभग समान देखिएको छ । कात्तिक मसान्तसम्ममा सरकारले वार्षिक आम्दानी लक्ष्यको २३.३९ प्रतिशत प्राप्त गर्दा कुल बजेटको २३.३७ प्रतिशत खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड ११ लाख रुपैयाँ खर्च गरेको छ ।

खर्चमध्ये चालु शीर्षकमा सबैभन्दा बढी रकम खर्च भएको छ । चालु खर्चका लागि यस वर्ष १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएकोमा कात्तिक मसान्तसम्म ३ खर्ब ४६ अर्ब ७५ करोड २४ लाख रुपैयाँ खर्च भएको छ । यो वार्षिक विनियोजनको २७.२९ प्रतिशत हो ।

त्यस्तै, पुँजीगत खर्च भने निकै कम देखिएको छ । पुँजीगत शीर्षकमा ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म ३२ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो कुल विनियोजनको ७.५३ प्रतिशत हो ।

वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएकोमा कात्तिक मसान्तसम्म १ खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको छ । यो वार्षिक लक्ष्यको २७.७६ प्रतिशत हो ।

सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये कात्तिक मसान्तसम्म ३ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ प्राप्त भएको छ ।

कुल १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको सरकारले पहिलो चौमासिकसम्म ३ खर्ब ७२ अर्ब ७१ करोड ८० लाख रुपैयाँ राजस्व उठाएको छ । यो वार्षिक लक्ष्यको २३.५८ प्रतिशत हो ।

त्यस्तै, वैदेशिक अनुदानतर्फ सरकारले वार्षिक ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्म ८ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ प्राप्त गरेको छ । यो वार्षिक लक्ष्यको १४.५ प्रतिशत हो ।

सरकारको आम्दानी र खर्चको अवस्था लगभग समान रहे पनि विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च भने अपेक्षाकृत रूपमा बढ्न सकेको देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?