काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) पर्याप्त भएपछि केन्द्रीय बैंकले उक्त रकम खिच्न लागेको हो ।
राष्ट्र बैंकले ९२ दिनका लागि निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो । यसका लागि आज (मंसिर १ गते) दिउँसो २ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
यस प्रक्रियामा राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन् ।
निक्षेपको ब्याजदर बोलकबोलबाट तय हुनेछ। बैंक तथा वित्तीय संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र त्यसमा पाउने ब्याजदर उल्लेख गरेर प्रस्ताव पेस गर्नुपर्नेछ । न्यूनतम १० करोड रुपैयाँदेखि १० करोडले भाग जाने रकमका लागि बोल गर्न सकिनेछ ।
प्राप्त प्रस्तावमध्ये सबैभन्दा कम ब्याजदर माग गर्नेलाई पहिलो प्राथमिकता दिइनेछ। त्यसपछि क्रमशः अन्य प्रस्तावलाई रकम बाँडफाँट गरिनेछ । एउटै ब्याजदरमा धेरै रकमको प्रस्ताव आएमा भने समानुपातिक रूपमा रकम बाँडिनेछ ।
राष्ट्र बैंकका अनुसार संकलन गरिएको रकमको साँवा र ब्याज आगामी फागुन ५ गते सम्बन्धित बैंकको खातामा फिर्ता जम्मा गरिनेछ ।
निक्षेपका रूपमा राखिएको रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दात ९सीआरआर० मा गणना गर्न पाउने छैनन् । तर वैधानिक तरलता अनुपात ९एसएलआर० र तरलता अनुपातमा भने समावेश गर्न पाउनेछन् ।
बैंकिङ प्रणालीमा आवश्यकताभन्दा बढी रकम हुँदा राष्ट्र बैंकले यस्तो उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट पैसा खिच्ने गर्छ । यसले बजारमा रहेको अतिरिक्त रकम व्यवस्थापन गर्न र तरलता सन्तुलन कायम गर्न सहयोग गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया